तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मिथिला कलाका लागि मिथिलाको 'विद्रोह'
जनकपुरकी ५६ वर्षीया मिथिला देवी यादवले झण्डै ३० वर्षअघि 'मिथिला हस्तकला पेन्टिङ उद्योग' स्थापना गरेर मिथिला चित्रकलाको विस्तार र व्यवसायीकरणमा योगदान पुर्याएकी छन्।
आफ्नो समुदायमा चाडपर्वका बेला बनाइने संस्कृतिका रूपमा रहेको मिथिला चित्रकलालाई उनले क्यानभासमा उतारेकी छन्।
त्यति मात्रै होइन उनी ऐना, प्लेट जस्ता हस्तकलाका सामग्री पनि उत्पादन गर्छिन्।
यो उद्योग शुरू गर्ने बेलामा उनलाई घरपरिवारबाट सहयोग थिएन।
आँट
श्रीमान्ले विरोध गरेपछि उनी दुई वर्ष काठमाण्डूमा सानो छोरा लिएर बसिन्।
आफ्नो 'विद्रोह'ले तत्काल निम्त्याएको अवस्थाबारे उनी भन्छिन्, "दुई वर्ष त हामी श्रीमान्-श्रीमतीबीच बोलचाल नै भएन।"
तर आफूले गरेको आँटले अहिलेको अवस्थामा पुर्याएकोमा उनी खुशी देखिन्छिन्।
अहिले यादव प्रज्ञा परिषद्की सदस्य पनि छिन्।
उनको सातजनाको परिवार यही व्यवसायमा आश्रित छ र नातिहरूको पढाइलेखाइ पनि यसबाटै हुन्छ।
"मैले त्यतिबेला यो आँट नगरेको भए आज नातिलाई पढाउन सक्ने अवस्था हुने थिएन, एकतले भए पनि मैले पक्की घर बनाउने अवस्था हुने हुने थिएन।"
सफलता
घरमा कोही पढेलेखेको नहुँदा नातिहरू भने पढून् भन्ने उनको इच्छा छ।
आफूजस्तै महिलाहरूलाई उनी कलामा लागिरहन प्रेरित गर्छिन्।
उनी भन्छिन्, "म जस्तो घूँघटबाट बाहिर आएँ त्यस्तो घूँघटभित्र अझै धेरै महिला छन्।"
"म उनीहरूलाई के भन्न चाहन्छु भने यदि तपाईँसँग कला छ भने तपाईँ त्यसलाई निरन्तरता दिनुहोस्। संघर्ष गर्नुहोस्, एक न एक दिन सफलता अवश्य मिल्नेछ।"
तराईमा अझै पनि धेरै महिलाहरू घूँघटभित्र देखिन्छन्।
यादवले तराईमा व्याप्त दाइजो प्रथाविरोधी पनि चित्रकला बनाएकी छन्।