ईयुले रुसबाट राजदूत फिर्ता बोलायो

तस्बिर स्रोत, Getty Images
ब्रिटेनमा स्नायुप्रणालीमा असर पुर्याउने गरी भएको एउटा आक्रमणपछि युरोपेली संघ (ईयु) ले रुसबाट आफ्ना राजदूत फिर्ता गर्ने दुर्लभ कदम चालेको छ।
ब्रसल्समा युरोपेली संघका शीर्ष नेताहरूको बैठकपछि ब्रिटेनप्रति ऐक्य जनाउन उक्त कदम चालिएको हो।
बैठकमा रुसी पूर्वगुप्तचर सर्गेइ स्क्रिपाल र उनकी छोरी युलियामाथि विषालु पदार्थ प्रयोग गरी भएको आक्रमणमा मस्कोको संलग्नताको सम्भावना अत्यधिक रहेको निष्कर्ष निकालिएको थियो।
सर्गेइ र उनकी छोरी दुवैको अवस्था गम्भीर छ र उनीहरूको उपचार चलिरहेको छ।
युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले सोल्ज्बरीमा भएको आक्रमणको अन्य कुनै चित्तबुझ्दो कारण नभएको बताएका छन्।

तस्बिर स्रोत, AFP
उक्त घटनापछि ब्रिटेनले रुसका २३ जना कूटनीतिज्ञलाई देशनिकाला गर्ने निर्णय गरेको थियो।
अन्य युरोपेली देशहरूले पनि ब्रिटेनको अनुसरण गरेर रुसी कूटनीतिज्ञहरूलाई देशनिकाला गर्ने सम्भावना रहेको बताइन्छ।
ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले उक्त आक्रमण युरोप विरुद्धको रुसी आक्रमणको शृङ्खलाकै अङ्ग भएको बताएकी छन्।
रुसले आफ्नो पूर्वगुप्तचरको हत्या प्रयासमा आफू संलग्न भएको बताउने गरेको छ।









