तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विश्वकप क्रिकेट छनोट: नेपालको पपुआ न्यूगिनीमाथि सहज जित
विश्वकप क्रिकेट छनोटको बिहीवार भएको प्लेअफमा पपुआ न्यूगिनीलाई छ विकेटले पराजित गर्दै नेपालले एकदिवसीय क्रिकेटको मान्यता पाउने सम्भावना कायम राखेको छ।
जिम्बाब्वेको हरारेमा सम्पन्न खेलमा प्रतिद्वन्द्वी पपुआ न्यूगिनीलाई ११४ रनमा रोकेपछि नेपालले १६२ बल खेल्नुअगावै २३ औँ ओभरमा सजिलै विजय प्राप्त गरेको हो।
सुपर सिक्सभित्र नपरेका राष्ट्रहरू बीच भइरहेको प्लेअफमा नेदरल्याण्ड्स र हङकङको खेलको नतिजाले नेपालले मान्यता पाउने वा नपाउने तय गर्नेछ।
यदि आज हङकङ नेदरल्याण्ड्ससँग पराजित भएमा उत्कृष्ट आठ स्थानभित्र परेर नेपालले चार वर्षका लागि एकदिवसीय मान्यता प्राप्त गर्नेछ।
त्यो मान्यता सन् २०२२ सम्म कायम रहनेछ।
हङकङले जितेको खण्डमा नेपाल र हङकङबीच शनिवार हुने खेलको विजेताले उक्त मान्यता पाउने छ।
उत्कृष्ट बलिङ
टस जितेर बलिङ रोजेको नेपालले पपुआ न्युगिनीलाई सुरुदेखि नै दबावमा राखेको थियो।
नेपालका तेज गतिका बलरहरू सोमपाल कामी र करण केसीले पपुवा न्यूगिनीका प्रारम्भिक ब्याट्सम्यानहरूलाई प्याभिलिएन फर्काउँदै रनको गति रोकेका थिए।
त्यसपछि सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ४ / ४ विकेट लिएपछि पपुवा न्यूगिनी २७.२ ओभरमा अलआउट हुनपुग्यो।
आफ्नो ब्याटिङको पालोको नेपाली टोली सुरुमा केही धर्मराएको जस्तो देखिएको थियो।
प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल एक रनमा र अनिल शाह नौ रनमा आउट भएका थिए।
कप्तान पारस खड्का पनि २० रन बनाएर प्याभिलिएन फर्किँदा नेपाल ३५/३ को स्थितिमा थियो।
तर त्यसपछि ऐरी र आरिफ शेखले चौथो विकेटको लागि ६७ रनको साझेदारी गर्दै खेललाई जिततिर डोहोर्याए।
ऐरीले अविजित ५० रन बनाए भने शेख २६ रन बनाएर आउट भएका थिए। रोहित पौडेलले अविजित २ रन बनाएका थिए।
उत्कृष्ट प्रदर्शनी गरेका ऐरी म्यान अफ द म्याच घोषित भए।
एकदिवसीय मान्यता कसरी?
आज नेपालसँगै नेदरल्याण्ड्सले जितेमा दुई टोलीबीच शनिवार सातौँ स्थानको लागि खेल हुनेछ।
तर आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको विजेता भएकोले नेदरल्याण्ड्सले एकदिवसीय मान्यता प्राप्त गरिसकेको छ।
त्यसैले शनिवार हुने खेलमा हारे पनि नेपालको एक दिवसीय मान्यताको बाटो छेकिने छैन।
त्यो अवस्थामा एसोसिएट दुई राष्ट्र हङकङ र पपुआ न्यूगिनीले भने नवौँ र दशौँ स्थानको लागि खेल्नेछन्।
यदि आज हङकङले पनि जितेमा नेपाल र हङकङबीच सातौं र आठौँ स्थानका लागि खेल हुनेछ।
त्यस खेलमा एकदिवसीय मान्यता पाउन नेपालले हङकङलाई पराजित गर्नैपर्ने हुन्छ।
जारी प्रतियोगिताबाट दुई एसोसिएट टोली स्कटल्याण्ड र युएईले सुपर सिक्समा पुगेर एकदिवसीय मान्यता प्राप्त गरिसकेका छन्।
बाँकी रहेको नेपाल र हङकङमध्ये त्यो मौका पाउनेछ्न्। पपुआ न्यूगिनी भने त्यो सम्भावनाबाट बाहिरिइसकेको छ।