नेपाल विमान दुर्घटना: "एक घर फर्किए, २१ को उपचार हुँदै"

यूएस-बांग्ला एअरलाइन्सको विमान सोमवार दुर्घटना हुँदा घाइते भएका एक जना उपचारपछि घर फर्किएका छन् भने अन्य २१ जनाको काठमाण्डूको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले बताएका छन्।

अस्पतालमा भर्ना भएका घाइतेमध्ये १० नेपाली, १० बांग्लादेशी र एक जना माल्दिभ्सका नागरिक भएको जानकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार छेत्रीले दिएका छन्।

नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेका अनुसार दिनेश हुमागाईँ नाम गरेका नेपाली बाँसबारीस्थित न्यूरो अस्पतालबाट उपचारपछि घर फर्किएका छन्।

बांग्लादेशको ढाकाबाट ६७ यात्रु र चार चालकदलका सदस्यसहित उडेको यूबीजी २११ बीएस २११ उडान नम्बरको उक्त विमान सोमवार अपराह्ण २:१८ बजे अवतरणका क्रममा धावनमार्गनजिकै रहेको खुल्ला चौरमा दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो।

उक्त विमानमा ३३ जना नेपाली, चालकदलका सदस्यसहित ३६ जना बांग्लादेशी, एक जना चिनियाँ र एक माल्दिभ्सका नागरिक सवार थिए।

बांग्लादेशी टोली

यसैबीच बांग्लादेशबाट घाइते तथा मृतक आफन्तहरू र एक मन्त्रीसम्मिलित उच्चस्तरीय टोली मङ्गलवार राजधानी आइपुगेका छन्।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार बांग्लादेशी टोलीले नेपाली पक्षसँग साँझ भेट्ने कार्यक्रम रहेको थियो।

शवपरीक्षण

घटनामा परी मृत्यु भएकाहरूको शव परीक्षणका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ।

अस्पतालका डा प्रमोद श्रेष्ठले मङ्गलवार ११ वटा शवहरूको परीक्षण गरिएको तर मृतकको पहिचान गर्न नसकिएको बताए।

शवपरीक्षण र अन्य आवश्यक प्रक्रियाका लागि चार वटा टोली खटिएका छन्।

विधिविज्ञान परीक्षणका लागि मृतकहरूको औँठाछाप र दाँतको ढाँचाको पनि अध्ययन हुँदैछ।

तर परीक्षण गरिएका ११ शवमध्ये नौ वटामा मात्र औँठाछाप सङ्कलन गर्न सकिएको छ।

पूरै जलेका शव हेरेर मात्रै पहिचान गर्न नसकिने हुँदा डीएनए परीक्षण आवश्यक रहेको भन्दै त्यसपछि मात्र मृतकका आफन्तलाई हस्तान्तरण गर्न सकिने डा श्रेष्ठले बताए।

उनका अनुसार सबै शवको परीक्षण र अन्य नमुना सङ्कन गर्न कम्तीमा थप तीन दिन लाग्न सक्छ।