नेतन्याहुद्वारा इरानको कडा आलोचना

नेतन्याहु

तस्बिर स्रोत, AFP/GETTY IMAGES

जर्मनीको म्युनिखमा आयोजित सुरक्षा सम्मेलनमा बोल्दै इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले इरानीहरुले आतंकको माध्यमबाट मध्यपूर्व क्षेत्रमा प्रभाव जमाउन खोजिरहेको आरोप लगाएका छन्।

मन्तव्यका क्रममा नेतन्याहुले इजरेलले गोली हानेर खसालेको भनिएको इरानी ड्रोन आफ्नो हातले उचालेर देखाएका थिए।

"जरिफ तपाईँ यो बस्तुलाई चिन्नु हुन्छ?" नेतन्याहुले इरानी विदेश मन्त्री मोहमद जाबेद जरिफतर्फ संकेत गर्दै सोधे - "तपाईँले यो चिन्नु पर्छ। यो तपाईँकै हो।"

इरानी विदेश मन्त्री जरिफले चाहिँ नेतन्याहुको आरोप "कार्टुन जस्तै" भएको टिप्पणी गरे।

तनाव

नेतन्याहुले इजरेलको सुरक्षालाई चुनौती दिने गरी सिरियामा अखडाहरु बनाउने इरानी योजनालाई विफल तुल्याइदिने प्रतिबद्धता व्यक्त गरे।

इरानी ड्रोनलाई गोली हानी खसालिएको घटनालाई इजरेली र इरानी सेनाबीचको पहिलो भिडन्त मानिएको छ।

नेतन्याहुले सन् २०१५ मा इरानसँग गरिएको परमाणु सम्झौताको समेत आलोचना गरे।

उनको भनाइमा त्यो सम्झौताले "इरान रूपी बाघलाई झनै खतरनाक" बनाइदिएको छ।