तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सरकारसँगको सहमतिपछि डा. केसीले तोडे अनशन
प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामासहित स्वास्थ्य शिक्षा सुधारसम्बन्धी विभिन्न माग राखेर ६ दिनदेखि अनशन बस्दै आएका डा. गोविन्द केसीले आफ्नो १४ औँ अनशन तोडेका छन्।
शुक्रवार अबेर राति स्वास्थ्यमन्त्री दिपक बोहोरासहित गएको सरकारी टोलीसँग पाँच बुँदे सहमति भएपछि उनले अनशन तोडेको उनका सहयोगी डा. अभिशेकराज सिंहले बीबीसीलाई बताए।
सहमतिमा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन ७ दिनभित्र सिफारिस समिति गठन गर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको खोसिएको अधिकार फर्ता गर्नेबारे नियमावली संशोधन गर्न तत्काल त्रिवि सभाको विशेष बैठक बोलाउने लगायतका छन्।
त्यसबाहेक सर्वोच्चको आदेश अनुसार नै डीनमा डा. जगदीशप्रसाद अग्रवालको नियुक्ति भएको हुँदा उनकै नियुक्तिलाई निरन्तरता दिन कुलपतिमार्फत निर्देशन दिनेलगायतको विषय पनि सहमतिमा उल्लेख छ।
अभिव्यक्ति
शुक्रवार राति अबेरसम्म स्वास्थ्यमन्त्री दिपक बोहोरा सम्मिलित सरकारी पक्षसँग भएको पाँचबुँदे सहमतिबारे डा. केसीका सहयोगी डा. अभिशेकराज सिंहले भने, "स्वास्थ्य मन्त्रीले हिजो भएको पाँच बुँदे सहमतिलाई अब सोमवार मन्त्रिपरिषद् बस्ने भन्दै त्यही बैठकले अनुमोदन गर्ने बताएपछि डा. गोविन्द केसीले अनशन तोड्नुभएको हो।"
डा. केसीले माग गरेको प्रधानन्यायाधीश पराजुलीको राजीनामा र अदालतमा विचाराधीन उनीविरुद्धको मुद्दाबारे भने सहमतिमा केही उल्लेख गरिएको छैन।
त्यसबारे सिंहले भने, "प्रधानन्यायाधीशको नागरिकता प्रमाणपत्र र शैक्षिक योग्यतासम्बन्धी अदालतले कागजात झिकाउने निर्णय गरेकोले अदालतको आदेशलाई सम्मान गर्दै नेपाल सरकारसँग त्यो विषय सम्बन्धित नभएकोले त्यो विषयमा हामी मौन बसेका हौँ।"
गत सोमवार अदालतको अवहेलना गरेको आरोपमा प्रहरीले डा. केसीलाई शिक्षण अस्पतालमा अनसन बसेकै ठाउँबाट पक्राउ गरेको थियो।
तर केसीले अदालतमा बयानका क्रममा आफूले अदालतको अनादर गर्ने अभिव्यक्ति नदिएको बरू स्वच्छ आलोचना मात्रै गरेको बताएपछि बुधवार अदालतले उनलाई रिहा गर्न आदेश दिएको थियो।
तर उनले अनशन भने जारी राख्दै आएका थिए।