तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बयानका लागि डा. केसी अदालतमा उपस्थित
चिकित्सा शिक्षामा सुधारको माग गर्दै आएका डा. गोविन्द केसीलाई अदालतले पक्राउ गर्न आदेश दिएपछि उनलाई अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
'अदालतको हिजोको आदेश अनुसार हामीले उहाँलाई बिहान ९ बजे अदालतमा उपस्थित गराएका छौँ,' नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले भने।
अदालतमा उपस्थित गराइएका डा. केसीको बयान प्रक्रिया केहीबेरमा शुरु हुने सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले बताए।
उनले भने, "उहाँको मुद्दा न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा तोकिएको छ। अहिले अर्को मुद्दामा सुनुवाई भइरहेको छ त्यसपछि उहाँको बयान प्रक्रिया शुरु हुन्छ।"
विरोध र्याली
अदालतको फैसलाविरुद्ध अमर्यादित र अशिष्ट अभिव्यक्ति दिएको भन्दै डा. केसीलाई पक्राउ गरेर अदालतमा हाजिर गराउन सर्वोच्चले आदेश दिएपछि सोमवार साँझ उनलाई अस्पतालबाटै पक्राउ गरिएको थियो।
डा. केसीले अदालतको पछिल्ला फैसलाहरू चिकित्सा शिक्षा क्षेत्रमा असर पर्ने खालको भएको भन्दै प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको बर्खासीको माग गर्दै सोमवारदेखि अनशन शुरु गरेका थिए।
डा. केसीलाई पक्राउ गरिएको विरोधमा मंगलवार बिहान माइतीघर मण्डलामा उनका समर्थकहरूले प्रदर्शन गरेका छन्।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको डीनमा डा. शशि शर्मालाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले आदेश दिएपछि त्यसको विरोधमा डा. केसीले अदालतको आलोचना गरेका थिए।
पक्राउ परे पनि अनशन भने नतोड्ने उनले बताएका छन्।
डा. केसीको पक्राउलाई लिएर सामाजिक सञ्जालहररुमा पनि विरोध गरिएको छ।