किन आए म्यानमारका सेना प्रमुख नेपाल?

आफ्नै देशका रोहिंज्या अल्पसंख्यकहरुमाथि 'जातीय सफाया' गरिरहेको आरोप खेपिरहेका म्यानमारका सेना प्रमुख यतिबेला चार दिने भ्रमणमा काठमाण्डूमा छन्।

वर्षौंदेखि आन्तरिक द्वन्द्वमा फसेको म्यानमारका सेनाप्रमुखको नेपाल भ्रमण यहाँको शान्ति प्रकृया र त्यसमा पनि खासगरी विद्रोही सैनिक तथा हतियारको व्यवस्थापनबारे बुझ्न केन्द्रित रहेको नेपाली सेनाले जनाएको छ।

तर कतिपय मानव अधिकारकर्मीहरुले राष्ट्रसंघ सहितका अन्तर्राष्ट्रिय निकायबाट गम्भीर प्रकृतिको मानवअधिकार उल्लंघनको आरोप खेपिरहेका विदेशी सेना प्रमुखलाई नेपालले स्वागत गर्नु अहिले उपयुक्त समय नभएको प्रतिक्रिया दिएका छन्।

नेपाली अधिकारीहरुले चाहिं रोहिंज्या संकट म्यानमारको आन्तरिक मामिला भएको र सेना प्रमुख मिन ओङ ह्लाइङको काठमाण्डू भ्रमणसँग त्यसको कुनै सम्बन्ध नरहेको प्रतिक्रिया दिएका छन्।

आलोचना

गएको अगष्ट महिना यता साढे ६ लाख भन्दा बढी रोहिंज्या शरणार्थीहरु म्यानमारको आफ्नो थात थलो छाडेर बाँग्लादेशमा शरण लिइरहेका छन्।

राष्ट्रसंघले त्यसलाई जातीय सफायाको उदाहरण भनेको छ।

कतिपय अन्तर्राष्ट्रिय अधिकारवादी संघसंस्थाहरुले युद्ध अपराध जस्तो देखिने स्तरमा म्यानमारको सेनाले आफ्ना नागरिकमाथि दमन गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले कडा कदम चाल्नुपर्ने माग गरिरहेका छन्।

सोही विषयलाई लिएर नोबेल पुरस्कार प्राप्त म्यानमारकी नेतृ आङ साङ सू ची अन्तर्राष्ट्रिय स्तरमा आलोचित बनेकी छन्।

अन्तर्राष्ट्रिय स्तरबाट आलोचना खेपिरहेका म्यानमारका सेना प्रमुख मिन ओङ ह्लाइङ भने यतिबेला चार दिने भ्रमणमा काठमाण्डूमा छन्।

एक जना अधिकारवादी गोविन्द बन्दीले मानवअधिकारको संगीन आरोप खेपिरहेका विदेशी सेना प्रमुखलाई नेपालले यसबेला स्वागत गर्नु उपयुक्त नहुने बताए।

उनले भने, "गम्भीर आरोप लागेका व्यक्तिहरुलाई नेपालमा स्वागत गर्दा नेपालले अन्तर्राष्ट्रिय कानुन अनुसारको दायित्व निर्वाह नगरेको, त्यो गम्भीर आरोपको पक्षमा उभिएको र मानवअधिकारको आफ्नो प्रतिबद्धता पुरा नगरेको अर्थमा बुझिन्छ।"

बचाउ

राष्ट्रसंघको मानव अधिकार परिषदमा हालै निर्वाचित भएको नेपाल विश्वकै मानवअधिकार अवस्थाबारे संवेदनशील हुनुपर्ने जानकारहरु बताउँछन्।

यतिखेर यो भ्रमणलाई सो सन्दर्भमा पनि उचित मान्न नसकिने अधिकारकर्मीहरुको जिकिर छ।

तर नेपाली अधिकारीहरुले चाँहि रोहिज्या संकट म्यानमारको आन्तरिक मामिला भएको र म्यानमारका सेना प्रमुखको नेपाल भ्रमणसँग त्यसको कुनै सम्बन्ध नरहेको बताएका छन्।

नेपालको शान्ति प्रक्रिया, विपद व्यवस्थापन र राष्ट्रसंघमार्फत विश्व शान्ति स्थापनामा नेपाली फौजका भूमिका जस्ता विषयमा अनुभव आदानप्रदान गर्न उनको भ्रमण केन्द्रित रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नैनराज दाहालले बताए।

उनले भने, "दुईपक्षीय सम्बन्ध विस्तार गर्ने हिसाबमा मात्रै यो भ्रमण भएको हो, अन्तर्राष्ट्रिय जगतमा भएका कुरालाई लिएर नेपाल अथवा नेपाली सेनाको सैनिक तहमा कुनै पनि छलफल हुँदैन।"

शान्ति

म्यानमारको शान्ति प्रकृयामा केही बर्ष यता काम गरिरहेका नेपाली सेनाका पूर्व रथी बलानन्द शर्मा पनि म्यानमारका सेना प्रमुखको भ्रमणलाई त्यहाँको आन्तरिक राजनीतिसँग जोडेर हेरिनु नहुने पक्षमा छन्।

पूर्व माओवादी लडाकूहरुको व्यवस्थापन गर्न गठित सचिवालयका संयोजक समेत रहेका शर्माले बीबीसीसँग भने, "उनीहरुको पनि त ७० वर्षको गृहयुद्धलाई एउटा टुङ्गोमा पुर्याउनुपर्‍यो नि, अन्तर्राष्ट्रिय समुदायले बहिस्कार गरेर यो समस्या समाधान हुन्छ कि उनीहरुलाई शान्ति प्रक्रियामा लिएर आएर समस्या समाधान हुन्छ? नेपालले बोलाएर आफ्नो अनुभव साट्नु एकदमै राम्रो हो।"

म्यानमारले देशभित्र रहेका विभिन्न आठ वटा विद्रोही समूहसँग शान्ति सम्झौता गरेको छ भने १३ वटा समूहलाई शान्ति प्रकृयामा ल्याउने उपायको खोजी गरिरहेको शर्माले बताए।

म्यानमारका कतिपय उच्च अधिकारी तथा राजनीतिक दलका प्रतिनिधि सहितको टोलीले केही समय पहिले नेपालको भ्रमण गरी प्रधानमन्त्री सहित प्रमुख दलका नेताहरुसँग यहाँको शान्ति प्रकृयाबारे छलफल गरेका थियो।

राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय समुदायले जवाफदेही बनाउन खोजिरहेको म्यानमारका सेनाका प्रमुखको भ्रमणका क्रममा युद्ध अपराधका संगीन आरोपहरुमाथि छानबिन गर्न नेपाली पक्षले ध्यानाकर्षण गराउनुपर्ने सुझाव कतिपय अधिकारकर्मीहरुले दिएका छन्।

तर रोहिंज्या संकटलाई देखाएर त्यहाँ चालिएका शान्ति प्रकृयाका कदमलाई आघात पुर्‍याउन नहुने तर्क गर्नेहरु पनि छन्।