बालीमा ज्वालामुखी विस्फोटको खतरा

इन्डोनेसियाका अधिकारीहरुले चर्चित पर्यटकीय टापु बालीमा ज्वालामुखी विस्फोट हुन सक्ने भन्दै उच्च सतर्कतामा राखी त्यहाँको एकमात्र विमानस्थललाई बन्द गराएका छन्।

इन्डोनेसियाको विपद्‌सम्बन्धी राष्ट्रिय संस्थाले माउन्ट आगुङ्ग ज्वालामुखीले एकै सातामा दोस्रोपटक धुवाँ र खरानीहरु छिटो छिटो निकालिरहेको र ठूलो स्तरमा विस्फोट हुने देखिएको बताएको छ।

पछिल्लोपटक सन् १९६३ मा ज्वालामुखी विस्फोट भएको थियो जसका कारण १६ सय मानिसहरुको ज्यान गएको थियो।

अधिकारीहरुले मानिसहरुलाई ज्वालामुखीदेखि १२ किलोमिटर टाढा रहन भनेका छन्।

संकेत

विपद निम्तिन सक्ने खतराका कारण आइतबार स्थानीय समय अनुसार ६ बजेबाट त्यहाँ सतर्कता उच्च स्तरमा बढाइएको थियो।

उक्त निकायले आफ्नो फेसबुक पेजमा राखिएको वक्तव्यमा लेखेको छ, "आगोको ज्वाला राति बढ्दो रुपमा देखिएको थियो, जसले त्यहाँ ठूलो विस्फोट हुने सम्भावनाको संकेत गर्छ।"

त्यहाँ अधिकारीहरुले स्थानीय बासिन्दाहरुलाई ज्वालामुखीबाट १० किलोमिटर वरपरको क्षेत्र खाली गर्न पनि आदेश दिएको छ।

ज्वालामुखीबाट निस्किएको धुँवाको कारण त्यहाँ वरपरका ठाउँहरु र सडक बाक्लो खरानीले ढाकेको छ।

त्रास

उक्त क्षेत्रबाट यो वर्षको शुरुमा १ लाख ४० हजार भन्दा बढी मानिसहरु अन्यत्र सरे पनि त्यहाँ अझै करिब २५ हजार मानिसहरु अस्थायी बासमा बसिरहेका छन्।

विमानस्थलका सबै उडानहरु बन्द गरिएपछि पर्यटकहरु त्यहीँ रोकिएका छन्।

गत साता बाक्लो धुवाँसँगै ज्वालामुखी जान थालेको थियो, जुन ५० वर्ष भन्दा बढी समयमा पहिलोपटक देखापरेको हो।

ज्वालामुखीका बढ्दो गतिविधिका कारण त्यहाँ छिट्टै ठूलो विस्फोटन हुने डर बढाएका थिए।