मुगाबेलाई पदत्याग गर्न थप दबाब

तस्बिर स्रोत, AFP
जिम्बाब्वेको सत्तारुढ जानु-पीएफ पार्टीले आफ्नो दलका संस्थापक नेता एवं राष्ट्रपति रोबर्ट मुगाबेलाई पार्टिको नेतृत्वबाट हटाउने पक्षमा मतदान गरेको छ।
मुगाबेको स्थानमा उनले दुई साता अघि पदमुक्त गरेका उपराष्ट्रपति एमरसन मनाङग्याग्वालाई पार्टीको नयाँ नेता चयन गरिएको छ।
मुगाबेलाई हटाउने पक्षमा मतदान भएपछि दलका प्रतिनिधिहरुले नाचगान गर्दै खुसियाली मनाएका थिए।
मुगाबेले उपराष्ट्रपति एमरसन मनाङग्याग्वालाई पदबाट हटाएलगत्तै जिम्बाब्वेमा वर्तमान राजनीतिक संकट सुरु भएको हो।
सत्तारुढ जानु पीएफ पार्टीले मुगाबेले सत्ताको नेतृत्व सुम्पिन चाहेका उनकी श्रीमती ग्रेस मुगाबे र मुगाबेको गुटमा रहेका अन्य वरिष्ठ नेताहरुलाई पनि पार्टीबाट निकाल्ने निर्णय गरेको छ।
चेतावनी
जानु-पीएफ पार्टीले ९३ वर्षिय मुगाबेलाई सोमबार सम्ममा राष्ट्रपति पदबाट राजीनामा दिन अन्यथा महाअभियोगको सामना गर्न भनेको छ।
जानु पीएफ पार्टीको बैठकमा पुगेका बीबीसीका संवाददाता एन्ड्रु हार्डीङका अनुसार मुगाबेलाई पार्टीको नेताबाट हटाउने निर्णय भएलगत्तै पार्टीका प्रतिनिधिहरुले खुसियाली मनाएका थिए।
सो बैठकमा सहभागी एक वरिष्ठ नेताले उनलाई भने, "अब नयाँ युग सुरु भएको छ। मुगाबे खेतीपाती गर्न जान सक्छ्न्।"
पार्टीको निर्णयलाई औपचारिक बनाइसकिएको छैन।
तर पछिल्लो कदमले विगत केही दिन देखि दबाब खेपिरहेका मुगाबेमाथि थप दबाब बढाउने अपेक्षा गरिएको छ।
गत बुधबार सत्ता हातमा लिएको सेनाले मुगाबेलाई उनकी श्रीमती ग्रेसलाई सत्ता हस्तान्तरण गर्नबाट रोकेको बताइएको छ।
प्रदर्शन
मुगाबेले आइतबार सेनाका उच्च अधिकृतहरुलाई भेट्ने अनुमान गरिएको छ।
शनिबार मुगाबेको विरोध र सेनाको कदमको समर्थनमा दशौं हजार मानिस राजधानी हरारेको सडकमा प्रदर्शन गरेका थिए।
जिम्बाब्वेको प्रभावशाली भूतपूर्व सैनिक संगठनका प्रमुख क्रिस मुचाङगावाले मुगाबेले अब पदत्याग गर्नै पर्ने र त्यसो नगरे उनीविरुद्ध फेरी प्रदर्शन चर्काउने बताएका छन्।
मुगाबे विगत ३७ वर्ष देखि जिम्बाब्वेको राष्ट्रपतिको पदमा आसीन छन्।








