‘चीन विश्वको केन्द्रमा रह्ने बेला आयो’

चिनियाँ राष्ट्रपति सि जिनपिङले विश्व मञ्चको केन्द्रमा रहने गरी चीन नयाँ युगमा प्रवेश गरेको बताएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले मौलिक विशेषता सहितको समाजवादका कारण चीनले हासिल गरिरहेको द्रुत प्रगतिले अरु देशलाई पनि नयाँ विकल्प दिइरहेको बताए।

प्रत्येक पाँच वर्षमा हुने उक्त महाधिवेशनमा करिब २ हजार प्रतिनिधिले भाग लिइरहेका छन्।

बेइजिङस्थित ग्रेट हल अफ द पिपल्समा चलिरहेको महाधिवेशनको बन्द सत्रले आगामी कार्यकालमा चीनमा शासन गर्ने व्यक्तिको चयन गर्नुका साथै अब देशले अख्तियार गर्ने नीति निर्धारण गर्नेछ।

महाधिवेशन

राष्ट्रपति सिले हालैका वर्षमा धेरै शक्ति सञ्चय गरेका छन् र उनी पार्टीका प्रमुखमा कायम रहिरहने अपेक्षा गरिएको छ।

महाधिवेशन अन्त्य भएलगत्तै चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो प्रमुख निर्णायक निकाय पोलिट्ब्युरोको स्थायी समितिका नयाँ सदस्यहरु सार्वजनिक गर्नेछ।

आफ्नो तीन घण्टा लामो सम्बोधनमा राष्ट्रपति सिले चिनियाँ विशेषता सहितको समाजवादले, "अहिलेको नयाँ युगमा चीनलाई महान शक्तिका रुपमा स्थापित गराएको र मानव इतिहासमा महत्तवपूर्ण भूमिका खेलेको" बताए।

कम्युनिष्ट शासन प्रणाली अन्तर्गत चिनियाँ आर्थिक वृद्धिको नमुनाले निरन्तर उपलब्धी दिइरहेको भन्दै उनले अरु विकासोन्मुख देशहरुले पनि त्यसबाट नयाँ विकल्प पाएको बताए।

राष्ट्रपति सिले भने, "अब हामीले विश्वको केन्द्रमा रहने र मानवजातिका लागि अझ बढी योगदान गर्ने समय आएको छ।"

सन् २०१२ मा राष्ट्रपति सि सत्तामा आएयता चीनको अर्थतन्त्रमा तीव्र गतिमा वृद्धि भइरहेको छ।

तर संवाददाताहरु भन्छन् चीन थप अधिनायकवादतर्फ उन्मुख भएको छ।

वकिल र अभियानकर्ताहरु पक्राउ परेका छन् अनि सत्ता विरुद्धका आवाजहरु नियन्त्रण गरिएका छन्।

शक्तीशाली

बीबीसीकी चीन सम्पादक क्यारी ग्रेसी भन्छिन् राष्ट्रपति सि आफ्ना पूर्ववर्तीहरु भन्दा बढी निर्णय क्षमता भएका नेता हुन्।

उनका अनुसार आफ्नो लामो तर आत्मविश्वासले भरिएको सम्बोधनमा सिले चिनियाँ कम्युनिष्ट पार्टीले चमत्कार गरिरहेको र अन्तराष्ट्रिय तहमा चीनको भूमिका बढिरहेको उल्लेख गरेका थिए।

भविष्यतर्फ संकेत गर्दै उनले पार्टी भित्र भ्रष्टाचार विरुद्धका लडाइं जारी राख्ने चेतावनी दिएका थिए र विभाजनलाई प्रवर्द्धन गर्ने जो कोहीको विपक्षमा उभिने पनि बताएका थिए।

ग्रेसीका अनुसार सिको दस्तावेजको मूल अंशमा सैद्धान्तिक स्पष्टता प्रष्ट झल्किएको संकेत पनि मिलेको थियो।

हालैका दिनमा चीनका पार्टीगत सञ्चारमाध्यमहरुले पश्चिमा प्रजातन्त्रमा देखिएका संकट र अराजकताबारे चर्चा गर्दै त्यसको तुलना चीनको शक्ति र एकतासँग गरेका छन्।

कडा सुरक्षाका बीच चलिरहेको महाधिवेशनमा बोल्दै राष्ट्रपति सिले चीनले बाह्य राजनीतिक प्रणालीको नक्कल नगर्ने र चिनियाँ नेतृत्वलाई अवमूल्यन गर्ने जुनसुकै गतिविधिलाई चिनियाँ कम्युनिष्ट पार्टीले अस्वीकार गर्नुपर्ने बताएका थिए।

कतिपयले राष्ट्रपति सि चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता माओ यताकै शक्तिशाली नेता बनेको टिप्पणी गरिरहेका छन्।

उनले पार्टी भित्र र चिनियाँ समाजमा आफ्नो नियन्त्रण बढाएको र धेरै सर्वसाधारणको समर्थन पाइरहेको बताउने गरिएको छ।