उत्तर कोरिया संकट: कूटनीतिक प्रयास जारी रहने

उत्तर कोरिया, अमेरिका, मतभेद

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, दुई साता अघि ट्रम्पले टिलरसनलाई उत्तर कोरियाका नेतासँग वार्ता गर्न खोजेर आफ्नो समय खेर नफाल्न भनेका थिए।

अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसनले राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियासँगको मतभेद कूटनीतिक माध्यमबाट समाधान गर्ने चाहेको आश्वस्त पारे।

अन्तिम अवस्था नआएसम्म उत्तर कोरिया संकट समाधानका लागि कूटनीतिक उपाय नै खोजिरहने उनले सिएनएनसँगको अन्तर्वार्तामा बताए।

उनले प्रतिबन्धहरु र कूटनीतिको बलले उत्तर कोरियाको परमाणु लक्ष्यविरुद्ध यसअघि कहिल्यै नल्याएको अन्तर्राष्ट्रिय एकता ल्याएको बताए।

समाधान

टिलरसनले ट्रम्प र आफू दुवैले उत्तर कोरियाको परमाणु कार्यक्रमबारेको संकटलाई शान्तिपूर्ण ढंगबाट समाधान गर्न चाहेको बताएका हुन्।

दुई साता अघि ट्रम्पले टिलरसनलाई उत्तर कोरियाका नेतासँग वार्ता गर्न खोजेर आफ्नो समय खेर नफाल्न भनेका थिए।

आइतबारको अन्तर्वार्तामा टिलरसनले उत्तर कोरियाबारे राष्ट्रपति ट्रम्पसँग उनको मतभेद रहेको भन्ने कुरा उजागर गरेनन्।

दक्षिण कोरिया, उत्तर अमेरिका, सीमा क्षेत्र, अमेरिका

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, दक्षिण कोरियाका फौजहरु उत्तर कोरियासँगको सीमा क्षेत्रमा आफ्नो अभ्यास बढाउँदै आएका छन्।

चुनौती

हालैका महिनामा उत्तर कोरियाले छैटौं परमाणु परिक्षण गरेर र जापानको आकाशमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेर अन्तर्राष्ट्रय धारणालाई चुनौती दिएको छ।

गत महिनाको अन्त्यमा टिलरसनले अमेरिका उत्तर कोरियासँग प्रत्यक्ष सम्पर्कमा रहेको र वार्ताको सम्भाव्यता हेरिहेको खुलासा गरेका थिए।

यसैबीच उत्तर कोरियविरुद्ध नयाँ प्रतिबन्धहरु लगाउने विषयमा युरोपेली संघका विदेशमन्त्रीहरु आजै बैठक बस्दैछन्।

त्यसतो प्रतिबन्धहरुमा विदेशमा बसेर कमाइ गर्ने उत्तर कोरियाका नागरिकहरुले घरमा पठाउने रकम घटाउने खालका विषयहरु छन्।