तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
किन अमेरिकी कूटनीतिज्ञ फिर्ता हुँदैछन्?
अमेरिकाले आफ्ना कूटनीतिज्ञहरू 'रहस्यमय ध्वनि आक्रमण'मा पर्न थालेपछि क्युबाको हवानास्थित दूतावासका आधाभन्दा बढी कर्मचारीलाई स्वदेश फर्काउँदैछ।
होटलहरूमा समेत आक्रमण गरिएको भन्दै वाशिङटनले आफ्ना नागरिकलाई क्युबाको भ्रमण नगर्न सुझाव दिएको छ।
आक्रमणमा परेका कम्तीमा २१ जना अमेरिकी कूटनीतिज्ञहरूमा होस गुम्ने, चक्कर आउने र कम सुन्ने लगायतका समस्या देखिने गरेको अधिकारीहरूले बताएका छन्।
आक्रमणलाई लिएर वाशिङटनले कर्मचारीलाई फिर्ता बोलाउन हतार गरेको क्युबाले प्रतिक्रिया दिएको छ।
अनुसन्धान
अमेरिकी मामिलासम्बन्धी क्युबाली विदेश मन्त्रालयकी प्रमुख जोसेफिना भिडालले उक्त कदमले द्विपक्षीय सम्बन्धमा असर पार्ने बताइन्।
उनले अमेरिकी कूटनीतिज्ञहरूमाथि गरिएका आक्रमणका कारण पत्ता लगाउन क्युबाले अमेरिकासँग सहकार्य गर्ने प्रतिबद्धता जनाइन्।
अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले आक्रमणबारेको अनुसन्धानमा दुई मुलुकले सहकार्य जारी राख्ने र कूटनीतिक सम्बन्धलाई कायम राखिने बताएका छन्।
क्युबाले अमेरिकी कूटनीतिज्ञहरूमाथि गरिएका आक्रमणमा आफ्नो कुनै संलग्नता अस्वीकार गर्दै आएको छ।
क्यानाडाका पनि दुईजना नागरिक त्यस्तो प्रकृतिको आक्रमणमा परेका छन्।
अनिश्चितकाल
अमेरिकाले हवानाबाट अत्यावश्यबाहेकका दूतावास कर्मचारीलाई परिवारसहित स्वदेश फर्किन आदेश दिइसकेको छ।
उसले हवानास्थित आफ्नो दूतावासबाट गरिने भिसासम्बन्धी सबै काम पनि अनिश्चितकालका लागि स्थगित गरेको छ।
विदेश मन्त्रालयका एकजना अधिकारीले भने, "क्युबाली सरकारले हाम्रा नागरिकको सुरक्षाको प्रत्याभूति नगराएसम्म दूतावासमा अत्यावश्यक कर्मचारी मात्रै त्यहाँ रहनेछन्।"
अमेरिकी सङ्घीय अनुसन्धान निकाय एफबीआइ र क्यानाडाको प्रहरीले एउटा अनुसन्धान गरे पनि सन् २०१६ को अन्त्ययता गरिएका आक्रमणहरूको कारणबारे अहिलेसम्म पूर्ण विवरण आउन सकेको छैन।
ती अधिकारीले भने, "हामीलाई थाहा हुन सकेको छैन कि कसरी र केले आक्रमण गरिँदैछ?"