तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'बाध्य पारिए अमेरिकाले उत्तर कोरियालाई नष्ट गर्ने'
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो पहिलो सम्बोधन गर्दै उत्तर कोरिया पूरै विश्वको निम्ति खतरा बनेको बताएका छन्।
उत्तर कोरियालाई परमाणु अस्त्र बनाउन दिनु कसैको स्वार्थमा नरहेको भन्दै प्योंगयांगले परमाणु निश्शस्त्रीकरण गर्नुपर्नेबारे बुझ्ने बेला आएको बताए।
उनले प्योंगयांगले खतरा उब्जाइरहे अमेरिकाका सामु उत्तर कोरियाको पूर्ण विनाश गर्नु बाहेक अन्य विकल्प नहुने भने।
"अमेरिकासँग धेरै बल र संयम छ तर यदी प्रतिरक्षा गर्न बाध्य पारिए हामी सामु उत्तर कोरियाको विनाश गर्न बाहेक विकल्प हुनेछैन," ट्रम्पले भने।
इरानको आलोचना
ट्रम्पले इरानले उब्जाएको खतराबारे पनि बोलेका छन्।
इरानको नेतृत्व मध्ये पूर्वलाई अस्थिर बनाउन उद्धत ज्यानमारा सत्ताको हातमा रहेको उनले बताए।
तेहरानलाई आतंकवादलाई समर्थन गर्न छाड्न उनले आह्वान गरे।
इरानसंगको परमाणु सम्झौतालाई उनले लाजमर्दो भन्दै पुन: आलोचना गरे।
यसअघि अमेरिकी रक्षामन्त्री जिम म्याटिसले उत्तर कोरियालाई तह लगाउन दक्षिण कोरियाको राजधानी सोललाई जोखिममा नपार्ने किसिमको सैन्य विकल्पपनि आफूसंग रहेको बताएका छन्।
तर उनले ती विकल्पहरु के हुन् भनेर खुलाएका छैनन्।
चीनले धम्की र बयानबाजीले कोरियाली प्रायद्वीपमा उत्पन्न तनाव समाधान नगर्ने बताएको छ।
उत्तर कोरियामा दुई कोरियाबीचको सिमानामा रहेको सैन्य सीमांकन रेखाबाट मात्र ५६ किलोमिटर पर रहेको सोलतर्फ फर्काएर तोप राखिएको छ।