तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
‘अचानक तीनवटा झट्कापछि रेल पल्टियो’
भारत उत्तर प्रदेशको मुजफ्फरनगर नजिक भएको रेल दुर्घटनामा मृत्यु हुने मानिसहरुको संख्या २१ पुगेको अधिकारीहरुले जनाएका छन्।
रेल जगन्नाथपुरीबाट हरिद्वारतर्फ जाँदै थियो।
कलिंग-उत्कल एक्सप्रेसको १३ वटा डिब्बा रेलमार्गबाट बाहिर पुगेका थिए।
मुजफ्फरनगर जिल्लाका प्रशासन प्रमुख जीएस प्रियदर्शीले बीबीसीलाई दिएको जानकारी अनुसार ८० जना जति घाइते भएका छन्।
घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ।
त्रासदी
मुजफ्फरनगर जिल्ला अस्पतालका डा. मशगूर आलमले बताए अनुसार उक्त अस्पतालमा उपचाररत् ५३ जना घाइतेहरु खतरामुक्त छन्।
उत्कल एक्सप्रेसको खाद्यान्न राखिने डिब्बामा कार्यरत कार्यरत करणसिंह तोमरले घटनाबारे भने, "म घटना हुँदा काउण्टरमा बसिरहेको थिए। त्यहीबेला अचानक तीन झट्का लाग्यो र रेल पल्टियो। त्यसपछि रेलमा करेन्ट आयो। पूरै गाडीभरि करेन्ट आइरहेको थियो।"
उनका अनुसार अघिल्ला डिब्बाका सहकर्मीले उनलाई त्यहाँबाट बाहिर निस्कन सघाए र स्थानीय मानिसले मोटर साइकलमा राखेर स्वास्थ्य उपचारको निम्ति पुर्याएका थिए।
अर्का प्रत्यक्षदर्शी मोहम्मद इरार भन्छन्, "दुर्घटना भएको पाँच-सात मिनेटभित्रै हामी पुग्यौं। त्यहाँ महिलाहरुले हारगुहार गरिरहेका र केटाकेटी रोइरहेको देखियो। हामीले भर्याङ्ग र ग्यास कटरको प्रबन्ध गरेर करिब अढाइ सयको उद्धार गर्यौं।"
ढिलो
अर्का प्रत्यक्षदर्शी मोहम्मद सलिमका अनुसार प्रहरी दुर्घटना भएको करिब डेढ घण्टापछि मात्र घटनास्थल पुगेको थियो।
उनी भन्छन्, "हामीले मानिसहरुलाई रेलबाट बाहिर निकाल्यौं। घाइतेलाई खाटमा राखेर नजिकको अस्पतालमा भर्ती गर्यौं।"
घाइते भएका आफ्ना छोरालाई लिन पुगेका मोहम्मद जुल्फिकार अलीका अनुसार घटनाबारे स्थानीय मानिसले उनलाई फोनबाट जानकारी गराएपछि उनी घटनास्थल पुगेका हुन्।
घटनालाई लिएर अनेक अनुमान गरिएका छन्।
तर प्राथमिक अनुसन्धानपछि आधिकारिक जानकारी दिन सकिने अधिकारीहरुले जनाएका छन्।