तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पहिलो फूल के यस्तै थियो?
सबै जीवित फूलहरु १४ करोड वर्ष पहिलेको एउटा पुर्खा फूलबाट विकसित भएको नयाँ वैज्ञानिक अध्ययनले बताएको छ।
वैज्ञानिकहरुले फूलको विकासक्रमका नमूनाहरु हेरेका थिए।
त्यसक्रममा अहिलेसम्मकै सबभन्दा धेरै जीवित फूलका प्रकारहरु जम्मा पारेर ती फूलको प्रकृति अध्ययन गरिएको थियो।
वैज्ञानिकहरुले विभिन्न विश्लेषण पछि पुर्खा फूलको आकारप्रकार अनुमान लगाएका थिए।
जीवाशेष
सोचेको भन्दा परिणाम निकै कम जटील पाएको उनीहरुले बताएका छन्।
आधुनिक वाटर लिलिसँग मेल खाने पुर्खा फूलमा पुष्पपत्ताहरु तीनवटा समूहमा रहेका, एक केन्द्रिकृत वृत्त वरपर फैलिएका र एकभन्दा बढी भाले र पोथी अंग रहेका वैज्ञानिकहरुले बताएका छन्।
अनुसन्धानकर्ताहरुले आफ्ना खोजलाई जीवाशेषसँग दाँज्न पाए हुन्थ्यो भनेका छन्।
नेचर कम्युनिकेशनमा प्रकाशित लेखका एक लेखक युनिभर्सिटी प्यारीस सड फ्रान्सका हार्भे सौकेटले भने, "पुर्खा फूलसँग ठ्याक्कै मेल खाने फूल अहिले जीवित छैन। तर होस पनि कसरी। त्यो फूल चौध करोड वर्ष अघि फुलेको थियो जुन आज अनेक प्रकारका फूलमा विकसित भएको छ।"
सौकेटले भने, "हामी फूलको सुन्दरतासँग परिचित छौं। त्यसको प्रजनन अंगहरु अहिले जीवित ९० प्रतिशत विरुवाको जस्तै थियो। तर तीनको उत्पत्ति र शुरुको विकास क्रम भने रहस्यकै रुपमा छ। अहिलेको फूलको पुर्खा मानिएको त्यसबेलाको फूलको जीवाशेष फेला परेको छैन।"
अध्ययनमा संलग्न नभएका युनिभर्सिटी अफ बर्मिङघम यूकेका डा. जेसन हिल्टनले भने- "पुर्खा फूलको आकार र त्यसको संरचना अहिलेसम्म रहस्यकै रुपमा छ। उदाहरणका लागि पुराना फूलहरु एकलिङ्गी थिए कि दुई लिङ्गी? तिनको परागसेचन हावाले गर्थ्यो कि किराले भन्ने हामीलाई थाहै छैन।"