‘उत्तर कोरिया यात्रामा अमेरिकी प्रतिबन्ध’

तस्बिर स्रोत, Reuters
संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरियाको यात्रा गर्न प्रतिबन्ध लगाउने तयारी गरेको दुईवटा विदेशी ट्राभल एजेन्सीले बताएका छन्।
ती ट्राभल एजेन्सीका अनुसार अर्को महिनाको अन्त्यदेखि त्यस्तो प्रतिबन्ध लागू हुनेछ।
कोर्यो टूर्स र यङ्ग पायोनीयर टूर्सले जुलाइ २७ तारिखमा अमेरिकाले यात्रा प्रतिबन्धको घोषणा गर्ने र त्यसको ३० दिनपछि त्यो कार्यान्वयनमा आउने बताएका हुन्।
सो प्रतिबन्ध लागू भएपछि उत्तर कोरियाको यात्रामा जाने अमेरिकी नागरिकको पासपोर्ट रद्द गरिने बताइएको छ।
बिग्रिदो सम्बन्ध
हुन त प्रतिबन्धको तयारीबारे अमेरिकाले अहिलेसम्म पुष्टि गरिसकेको छैन।
तर दुई मुलुकबीचको बिग्रिदो सम्बन्ध र गत वर्ष उत्तर कोरियामा पक्राउ परेका एक अमेरिकी विद्यार्थीको यातनाका कारण हालै मृत्यु भएपछि त्यस्तो अवस्था आएको बताइएको छ।
उत्तर कोरियाले १५ महिनासम्म थुनामा राखेर गत महिना रिहा गरेका अमेरिकी विद्यार्थी अटो वार्मबिएरको मृत्यु भएको थियो।
घर फर्किएको केही दिनपछि नै उपचारका क्रममा उनको मृत्यु भएको थियो।
समाचार कसरी बाहिर आयो?
कोर्यो टूर्स र यङ्ग पायोनीयर टूर्सले शुक्रबार खुलासा गरेका हुन्।

तस्बिर स्रोत, AFP/getty images
जसमा स्वीडेनको दूतावासमार्फत आफूहरुलाई प्रतिबन्धको तयारीबारे जानकारी गराइएको उल्लेख छ।
वाशिङ्गटन र प्योङयाङबीच कूटनीतिक सम्बन्ध नभएकोले अमेरिकाका लागि स्वीडेनको दूतावासले काम गर्दै आएको छ।
यङ्ग पायोनीयर टूर्सका रोवान बियर्डले स्वीडेनको दूतावासले सबै अमेरिकी नागरिकलाई उत्तर कोरिया छाड्न आग्रह गरिरहेको बीबीसीलाई बताए।
सो दूतावासले अमेरिकी पर्यटकको संख्याबारे यकिन गरिरहेको उनको भनाई छ।
ट्राभल एजेन्सीहरुको प्रतिक्रिया के छ?
कोर्यो टूर्सका सिमोन ककरेलले यात्रा प्रतिबन्ध लागू नहुञ्जेल अमेरिकी नागरिकलाई यात्रामा लगिरहने बीबीसीलाई बताए।
उनले भने, "यदि उनीहरुको देशले जान भन्यो हामी लैजान्छौँ।"
वार्नबिएरको मृत्यु भएपछि यङ्ग पायोनीयरले अमेरिकी पर्यटकहरुलाई उत्तर कोरिया नलैजाने घोषणा गरेको थियो।








