रिहा गरिएका अमेरिकी विद्यार्थीको मृत्यु

तस्बिर स्रोत, Reuters
उत्तर कोरियाले १५ महिनासम्म थुनामा राखेर अघिल्लो हप्ता रिहा गरेका अमेरिकी विद्यार्थी अटो वार्मबिएरको मृत्यु भएको छ।
उनी २२ वर्षका थिए।
उत्तर कोरियाली बन्दीगृहमा रहँदा पाएको 'यातनापूर्ण दुर्व्यवहार'का कारण वार्मबिएरले ज्यान गुमाएको उनको परिवारले आरोप लगाएको छ।
उत्तर कोरियालाई क्रुर शासन भन्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वार्मबिएरले त्यहाँ कठिन परिस्थितिको सामना गरेको प्रतिक्रिया दिएका छन्।
गम्भीर
जेलबाट रिहा गरी अमेरिका पठाइने बेलामा वार्मबिएर कोमामा थिए र स्वदेश फर्कने बितित्कै उनलाई सिनसिनाटी नजिकैको अस्पतालमा भर्ना गरिएको थियो।
युनिभर्सिटी अफ सिनसिनाटीको मेडिकल सेन्टरमा उनको उपचारमा संलग्न चिकित्सकहरुले उनलाई स्नायु प्रणालीसम्बन्धी गम्भीर किसिमको चोट लागेको बताएका छन्।
यसअघि वार्मबिएरलाई उत्तर कोरियाले एउटा होटलबाट 'प्रोपोगाण्डा चिन्ह' चोरी गर्न खोजेको आरोपमा १५ वर्ष श्रम शिविरमा पठाउने निर्णय गरेको थियो।
उत्तर कोरियाबाट रिहा हुँदा उनको मस्तिष्कमा गम्भीर चोट लागेको थियो र उनलाई खराब स्वास्थ्यको कारण देखाउँदै देश फर्काइएको बताइएको थियो।
स्वीकार
पर्यटकका रुपमा उत्तर कोरिया गएको बेला सन् २०१६ मा ज्यानुअरीमा उनी पक्राउ परेका थिए।
सुनुवाइका क्रममा खिचिएको भिडिओमा उनले रुदैं आफूले एउटा 'टुर' ग्रुपको साथ यात्रा गर्ने क्रममा एउटा ब्यानर चोरेको स्वीकार गरेको दृश्य देख्न सकिन्छ।
अमेरिकी गिर्जाघरका लागि त्यस्तो चोरी गरेको बताउने क्रममा उनले आफ्नो उद्देश्य उत्तर कोरियालीहरुको उत्प्रेरणा र संस्कारमाथि प्रहार गर्नुभएको बताएका थिए।
उत्तर कोरियामा अरु तीनजना अमेरिकी नागरिक बन्दी अवस्थामा रहेको बताइन्छ।








