ब्रिटेनमा एसिड आक्रमणको सजायबारे समीक्षा

ब्रिटिश सरकारले देशमा एसिड आक्रमणका घटना निकै बढ्न थालेपछि त्यसका दोषीलाई दिइने सजायबारे समीक्षा गरिने घोषणा गरेको छ।

गत हप्ता एकै रात पाँचवटा एसिड आक्रमणका घटना भएको बताइएको छ।

ती घटनापछि एसिडको विक्री तथा एसिड राख्न पाउने कानूनी व्यवस्थामा कडाइ गर्न माग भइरहेको छ।

प्रहरीको नयाँ तथ्याङ्क अनुसार गत एप्रिलसम्म ६ महिनाभित्र एसिड आक्रमणका ४०० भन्दा बढी घटना भएका छन्।

त्यसमा अधिकांश युवा संलग्न भएको प्रहरीले बताएको छ।

जन्मकैद

गृहमन्त्री एम्बर रडले दोषीलाई आजीवन कारावासको सजायका लागि सिफारिस गर्न सक्ने सम्भावना औंल्याएकी छन्।

उनले एसिड आक्रमणका दोषीलाई 'पूर्णरुपमा कानूनको शक्ति महसुस गराउन चाहेको' बताइन्।

एसिड र त्यस प्रकृतिका पदार्थलाई खतरनाक वस्तुको सूचीमा राख्ने वा नराख्ने र त्यसको विक्रीमा प्रतिबन्ध लगाउने वा नलगाउनेबारे पनि समीक्षा गरिने बताइएको छ।

त्यसबारे योजना सुनाउँदै मन्त्री रडले भनिन्, "एसिड आक्रमण डरलाग्दो अपराध हो जसले पीडितलाई शारीरिक र मानसिक दुवै प्रकारको भयानक असर पार्छ।"

हरसम्भव प्रयास

उनले एसिड आक्रमण रोक्न हरसम्भव प्रयास गर्नु महत्त्वपूर्ण भएको बताइन्।

उनको भनाई छ, "एसिड आक्रमणकारीले केही निश्चित अवस्थामा आजीवन कारावास पाउन सक्ने कडा कानून पहिल्यैदेखि नै छ तर त्यसमा हामीले थप सुधार ल्याउन सक्छौँ।"

फौजदारी न्याय प्रणालीभित्र काम गर्नेहरुसँग एसिड आक्रमणकारीलाई 'कठोर सजाय' दिने अधिकार भएको सुनिश्चित गर्नुपर्नेमा गृहमन्त्रीको जोड छ।

एसिड आक्रमण लगायतसँग जोडिएका विषयमा 'हाउस अफ कमन्स'मा पनि सोमवार छलफल हुँदैछ।