तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सदस्यताबारे वार्ता गर्न नेटो तयारः युक्रेन
युक्रेनी राष्ट्रपति पेत्रो पोरोशेन्कोले उत्तर एट्लान्टिक सन्धि संगठन नेटोको सदस्यताका लागि किएभले पूरा गर्नुपर्ने मापदण्डबारे वार्ता थाल्न उक्त संगठन तयार भएको बताएका छन्।
किएभमा नेटोका महासचिव येन्स स्टोल्टनबेर्गसँगै उभिएका पोरोशेन्कोलेले नेटोले युक्रेनमा खोजे अनुसारका सुधार ल्याउनका निम्ति सन् २०२० सम्ममा आफूले योजनाहरु लागू गर्ने बताए।
पोरोशेन्कोले नेटोको सदस्यता लागि कार्ययोजना सम्बन्धमा वार्ता थाल्न आफूले आग्रह गरेको बताएका छन्।
उनले नेटोमा संलग्न हुने युक्रेनी जनताको चाहना भएको बताए।
प्रगति
स्टोल्टनबेर्गले सदस्यता बिना नै नेटोका मापदण्ड पूरा गर्ने दिशामा युक्रेनले गरिरहेको प्रगतिको स्वागत गरे।
उनले सो प्रक्रियालाई रोक्ने अरु कसैको अधिकार नभएको बताए।
यद्यपि युक्रेनको सदस्यताको विषय नेटोका २९ सदस्य मुलुककमा निर्भर गर्ने उनले उल्लेख गरे।
तर क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेन नेटोमा सामेल भएमा त्यसले युरोपमा स्थायीत्व र सुरक्षामा बढावा नदिने प्रतिक्रिया दिएका छन्।
उनले आफ्नो सीमासम्म नेटो पुग्न लागेकोमा रुसले पहिल्यैदेखि चिन्ता जनाइरहेको बताए।
अवरोध
पूर्वी युरोपसम्म विस्तार हुने नेटोको योजना र सो संगठनको सदस्य हुने युक्रेनी चाहनाको रुसले विरोध गर्दै आएको छ।
नेटोमा आबद्ध हुने दिशामा युक्रेनले थुप्रै अवरोधको सामना गर्दै आएको छ।
त्यसमध्ये देशको पूर्वी क्षेत्रमा जारी द्वन्द्व पनि एउटा हो।
राष्ट्रपति पोरोशेन्कोले भने, "युक्रेनले आफ्नो राजनीतिक भविष्य र सुरक्षा क्षेत्रलाई स्पष्ट रुपमा परिभाषित गरेको छ। हामीले सदस्यताका कार्ययोजनाबारे वार्ता थाल्ने कुरा प्रस्ट रुपमा गर्यौँ र त्यस्तो छलफलबारेको हाम्रो प्रस्ताव सहर्ष रुपमा स्वीकार गरिएको छ।"