तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सगरमाथामा हिलरी स्टेप ‘यथास्थितिमै’
आरोहण गरेर फर्किएका दुईजना नेपाली आरोही र एकजना पर्वतारोहण अधिकारीले सगरमाथाको चुचुरो नजिकै रहेको हिलरी स्टेप 'यथास्थितिमै' रहेको बताएका छन्।
सगरमाथामा महत्वपूर्ण मानिने हिलरी स्टेप अब नरहेको सामाचार आएको भोलिपल्ट उनीहरुले त्यसको खण्डन गरेका हुन्।
हालै सगरमाथाको आरोहण गरेर फर्किएका उच्च हिमाली क्षेत्रका एकजना पथ प्रदर्शक पासाङ तेन्जिङ शेर्पाले हिलरी स्टेप "जस्ताको त्यस्तै" रहेको बीबीसीलाई बताए।
उनले भने, "यसपटक हामीले हिलरी स्टेपभन्दा छेउतिरको डिलैडिलमा बाटो बनाएका छौँ। त्यसैले हिलरी स्टेप नदेखिएर ती आरोहीलाई भ्रम परेको हुन सक्छ। हिलरी स्टेप जहाँ थियो र जस्तो थियो, त्यस्तै छ।"
हिउँले छोपिएको
सगरमाथा आरोहण गरी फर्किएका अर्का पर्वतारोही लीला बस्नेतले हिलरी स्टेप हिउँले छोपिएको अवस्थामा रहेको बताए।
उनले थपे, "हिलरी स्टेप त्यही छ तर हिउँले छोपिएको छ।"
नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ छिरिङ शेर्पाले पनि हिलरी स्टेप नरहेको खबरमा कुनै सत्यता नरहेको बताए।
उनले भने, "भूकम्पका कारण हिलरी स्टेपमा कुनै असर परेको छैन। कुरा के हो भने हिउँले गर्दा हिलरी स्टेपको सानो भाग मात्रै देखिन्छ, बाँकी भाग हिउँले छोपिएको अवस्थामा छ।"
निरन्तरता
हिमपहिरो र भूकम्पका कारण सन् २०१४ र २०१५ आरोहण हुन नसकेपछि सन् २०१६ मा आरोहण खुलाउन केही रुटहरु परिवर्तन गरिएका थिए।
र, हिलरी स्टेप नाम दिइएको चट्टानबाट नभर्इ त्यही चट्टानको दाहिनेतिरबाट बाटो खुलाइएको थियो।
यस पटक पनि गत वर्षकै बाटोलार्इ निरन्तरता दिइएको छ।
करिब ८,००५ मिटर नजिक साउथ समिट आसपासका क्षेत्रलार्इ हिलरी स्टेपको नामले चिनिन्छ।
पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका दुई आरोहीमध्येका एक सर एडमण्ड हिलरीको नाममा उक्त भागको नाम हिलरी स्टेप राखिएको थियो।