तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
किम जोङ उनलाई भेट्न तयार छु: ट्रम्प
प्योङयाङ विरुद्ध हप्तौँ यता कडा अभिव्यक्ति दिइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनी उत्तर कोरियाली नेता किम जोङ उनलाई भेट्न इच्छुक रहेको बताएका छन्।
ब्लुमबर्गलाई दिएको एउटा अन्तरवार्तामा उनले भने, "धेरै राजनीतिक व्यक्तिले यस्तो भन्दैनन् तर म तपाईंलाई भन्छु कि यदी सही परिस्थिति बने म उनलाई भेट्छु।"
तर पछि ह्वाइट हाउसका एक जना प्रवक्ताले त्यस्तो भेटका लागि उपयुक्त परिस्थिति अझै तयार नभइसकेको प्रतिक्रिया दिए।
उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर तनावहरु चुलिंदै जाँदा ट्रम्पको पछिल्लो भनाइ आएको हो।
प्रशंसा
ट्रम्पको अभिव्यक्ति आएसँगै ह्वाइट हाउसले एउटा विज्ञप्ती जारी गर्दै उत्तर कोरियाले दुई नेताबीचको भेटवार्ता अघि धेरै शर्तहरु पूरा गर्नुपर्ने जानकारी दिएको छ।
प्रवक्ता सन स्पाइसरले भनेका छन् वासिङटन उत्तर कोरियाले उसका उत्तजेनात्मक गतिविधिहरु तत्कालै बन्द गरोस् भन्ने चाहन्छ।
उनले भने, "अहिले त्यस्तो शर्तहरु पूरा भइसकेको छैन।"
यसअघि आइतबार सीबीएसलाई दिएको अन्तरवार्तामा राष्ट्रपति ट्रम्पले केही कडा मानिसहरुसँग जुध्दै किमले युवा उमेरमा नै सत्ता सम्हालिरहेको बताएका थिए।
आफू सत्तामा आएको दुई वर्षपछि उनले आफ्ना काकालाई मृत्युदण्ड दिएका थिए भने हालै आफ्ना सौतेनी दाईको हत्या गराएको आरोप उनीमाथि लाग्ने गरेको छ।
उत्तर कोरियाली नेताबारे उनको दृष्टिकोण के छ भनेर सोधिएको प्रश्नबारे उनले भने, "उनी समझदार छन्? त्यसबारे मलाई थाहा छैन्, तर आफ्ना पिताको निधन हुँदा उनी २६ या २७ वर्षका युवा थिए, उनले सेनाका जर्नेलहरु सहितका एकदमै कडा मानिसहरुसँग व्यवहार गरिरहनु परेको छ, धेरै मानिसहरुले उनीबाट सत्ता पनि खोस्न खोजे होलान् चाहे उनका काका या अरु किन नहुन्। तर उनी अघि बढ्न सफल भए, त्यही भएर उनी बाठै हुनुपर्छ।"
गएको शनिबार उत्तर कोरियाले दुई हप्तामा दोस्रो पटक असफल क्षेप्यास्त्र परीक्षण गरेको थियो।
तनाव
उत्तर र दक्षिण कोरिया दुवैले सैन्य अभ्यासहरु जारी राखेपछि पछिल्ला दिनमा कोरियाली प्रायद्वीपमा तनाव बढेको छ।
अमेरिकाले आफ्नो नौसेनाको पानी जहाज उक्त क्षेत्रमा पठाएको छ र अघिल्लो हप्ताबाट क्षेप्यास्त्र प्रतिरोधी प्रणाली दक्षिण कोरियामा जडान गर्न थालेको छ।
आइतबार प्योङयाङको सरकारी समाचार संस्था केसीएनएले 'मूर्खतापूर्ण सैनिक उत्तेजनात्मक गतिविधिको प्रलयकारी परिणामबारे ख्याल गर्न' अमेरिकालाई चेतावनी दिएको थियो।
उत्तर कोरियाले हालैका महिनाहरुमा बारम्बार क्षेप्यास्त्र परीक्षण गरिरहेको छ र आफ्नो छैठौँ परमाणु परीक्षण चाँडै गर्ने चेतावनी दिएको छ।
राष्ट्रपति ट्रम्पले सीबीएससँगको अन्तरवार्तामा थप परीक्षणहरु गरिए आफू खुसी नहुने बताए।
त्यसको अर्थ उत्तर कोरियाविरुद्ध फौजी कारबाही गरिन्छ भन्ने हो भन्ने प्रश्नको जवाफमा उनले भने, "मलाई थाहा छैन, तर हामी हेरेर निर्णय लिन्छौँ।"