‘क्याम्बोडिया मेरो लागि जागरणको माध्यम बन्यो’
सन् सत्तरीको दशकमा क्याम्बोडियामा खमेर रुज शासनका पालामा गरिएको आमनरसंहारबारे आफुले निर्माण गरेको चलचित्र "फर्स्ट दे किल्ड माइ फादर" बारे एन्जलिना जोलीले बीबीसीसंग विशेष कुराकानी गरिन्।
उक्त चलचित्र एक बालकको आँखाबाट वर्णन गरिएको छ।
उनले भनिन्, उनले त्यो चलचित्रले क्याम्बोडियालीहरुलाई त्यस अवधिको पीडाका बारे खुलेर बोल्न सघाउने छ भन्ने आशा लिएकी छन्।
उनी सन् २००१ मा पहिलो पटक सन् २००१ को चर्चित चलचित्र "लारा क्रफ्ट :टुम रेडर" को छायाँकन गर्न त्यहाँ गएकी थिइन्।
धर्मपुत्र
त्यसपछि उनले एक क्याम्बोडियाली बालक म्याडक्सलाई आफ्नो सबैभन्दा जेठो सन्तानको रुपमा धर्मपुत्र बनाइन्।
बीबीसीकी यल्दा हकिमसंग कुरा गर्दै उनले भनिन्, "म क्याम्बोडिया आउँदा म यहाँका मानिसहरुसंग प्रेममा परें। मैले यहाँको इतिहासबारे थाहा पाएँ र मैले के अनुभव गरें भने म तेइस, चौबीस वर्षकी हुँदा मलाई विश्व र यो मुलुकका बारेमा निकै कम ज्ञान थियो।"

उनले भनिन्, "यो मुलुक मेरो लागि जागरणको माध्यम बन्यो। म यो मुलकप्रति सँधै कृतज्ञ रहने छु।"
चलचित्र
"फर्स्ट दे किल्ड माइ फादर" भन्ने चलचित्र लुङ उङले लेखेको त्यही नामको पुस्तकमा आधारित छ।
उङ पाँच वर्षकी हुँदा खमेर रुज शासकले उनी र उनको परिवारलाई राजधानी नोम पेन्ह स्थित उनीहरुको घर छाडन वाध्य पारेका थिए।
पोल पोटको नेतृत्वमा खमेर रुजले सन् १९७५ देखि १९७९ सम्म शासन चलाएको थियो।
खमेर रुजले हत्या गरेर वा अत्यधिक श्रम तथा भोकमरीका कारण सो अवधिमा झण्डै बीस लाख मानिसहरुको ज्यान गएको अनुमान गरिन्छ।
त्यो संख्या तत्कालिन क्याम्बोडियाको कूल जनसंख्याको एकचौथाइ हो।
उनले भनिन्, "म ठान्दछु कि यहाँ चालिस वर्ष अघि भएको लडाईं र यहाँका जनतामा परेको त्यसको असरबारे मानिसहरुले राम्रोसँग बुझेका छैनन्।"
चलचित्रमा धेरैजसो स्थानीय खमेर भाषाको प्रयोग गरिएको छ।
जोलीले भनिन्, "सो अवधिमा बाँच्न सफल कतिपय मानिसहरुले त्यसबेलाको घटनाबारे आफ्ना छोराछोरीलाई केही बताएका छैनन्। मैले यो चलचित्रले क्याम्बोडियालीहरुलाई अरु खुलेर कुराकानी गर्न मदत गर्ने आशा लिएकी छु।"
'विश्व प्रिमियर'
शनिबार एङकोर वाट मन्दिर परिसरमा आयोजित उक्त चलचित्रको 'विश्व प्रिमियर' मा जोली, उनका ६ जना छोराछोरी र क्याम्बोडियाका नरेश नोरोदम सिहामोनी पनि उपस्थित थिए।
क्याम्बोडियाका नरेशले सन् २००५ मा जोलीलाई एक वातावरणीय संस्था स्थापना गरेर पुराएको योगदानको कदर गर्दै क्याम्बोडियाको नागरिकता प्रदान गरेका थिए।

तस्बिर स्रोत, EPA
गत वर्ष सेप्टेम्बर महिनामा आफ्ना पति चर्चित अभिनेता ब्राड पिटसंग पारपाचुकेका लागि आवेदन दिएपछि सार्वजनिक रुपमा देखिएको यो पहिलो पटक हो।
ती दुबै सन् २००४ देखि सँगै बस्दै आएका थिए, तर उनीहरुले अगष्ट २०१४ मा मात्रै बिहे गरेका थिए।
उनले भनिन्, "त्यो निकै गाह्रो स्थिति थियो। मेरो पुरै परिवारले निकै गाह्रो स्थितिको सामना गर्नुप-यो। अहिले मेरो ध्यान मेरा केटाकेटी, हाम्रा केटाकेटी माथि छ।"
लेख
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सातवटा मुसलमान बहुल मुलुकका नागरिकहरुलाई अमेरिकाको भ्रमण गर्नमा अस्थायी रोक लगाएपछि जोलीले न्यूयोर्क टाइम्स समाचारपत्रमा एउटा लेख लेखेकी थिइन्।
उनले आन्तरिक सुरक्षा मन्त्रालयलाई त्रासको आधारमा नभएर तथ्यको आधारमा निर्णयहरु गर्न आह्वान गरेकी थिइन्।
राष्ट्रपति ट्रम्पका बारेमा उनले खुलेर कुरा गर्न चाहिनन्।

तस्बिर स्रोत, AFP
तर उनले भनिन्, "कुनै राष्ट्रपति भन्दा अमेरिकी जनता ठूला हुन्। मलाई मेरो मुलुक, यसको आधारशिला र हामीलाई प्यारो लाग्ने मूल्यहरुप्रति आस्था छ।"
"फर्स्ट दे किल्ड माइ फादर" यसै वर्षको अन्त्यमा नेटफ्लिक्समा सार्वजनिक गरिनेछ।













