तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
‘गुप्तचर निकायमाथि दृढ विश्वास’
अमेरिकी राष्ट्रपति-निर्वाचित डोनल्ड ट्रम्पको भावी प्रशासनमा महत्वपूर्ण पद सम्हाल्न लागेका दुई वरिष्ठ व्यक्तिले गुप्तचर निकायहरुको दह्रो समर्थन गरेका छन्।
ट्रम्पले गुप्तचर निकायहरुप्रति अविश्वास प्रकट गर्दै उनीहरुको आलोचना गरिरहेका बेला उनले नै रक्षामन्त्री र गुप्तचर प्रमुखका रुपमा मनोनित गरेका व्यक्तिहरुले भने चाहिँ फरक धारणा राखेका हुन्।
विश्वास
माथिल्लो सदन सिनेटमा भएको सुनुवाइका क्रममा उनीहरुले गुप्तचर निकायहरुप्रति आफूहरुको दृढ विश्वास रहेको बताएका हुन्।
राष्ट्रपति-निर्वाचित ट्रम्पले केही दिनअघि गुप्तचर निकायहरुले आफूसँग सम्बन्धित गलत सूचनाहरु चुहाएको भन्दै आलोचना गरेका थिए।
गुप्तचर निकायप्रतिको अविश्वास यसअघि पनि पटकपटक उनका अभिव्यक्तिहरुमा झल्कने गर्थ्यो।
तर उनले नै मनोनित गरेका वरिष्ठ व्यक्तिहरुले ट्रम्पको भन्दा फरक धारणा राखेको प्रष्ट देखिन्छ।
मूल्याङ्कन
केन्द्रीय अनुसन्धान निकाय सीआइएको नयाँ प्रमुखका रुपमा मनोनित माइक पम्पेयोले गुप्तचरहरुको व्यवसायिकताको आफूले उच्च मूल्याङ्कन गर्ने बताए।
नीति निर्मातासम्म सत्यतथ्य पुर्याउने उनीहरुको कोसिसको आफूले सराहना गर्ने उनको भनाइ थियो।
उनले भने, "मैले सीआइएको महत्वबारे बुझेको छु। आफूलाई चुनौती दिंदा पनि उनीहरुले उच्च नैतिकतासाथ काम गरेको मैले देखेको छु। आफ्नो व्यवसायिकताका लागि उनीहरु आगोमाथि पनि हिंडेका छन्"।
रक्षामन्त्रीका रुपमा मनोनित जेनरल जेम्स म्याटिसले पनि गुप्तचर अधिकारीहरुमाथि आफ्नो ठूलो विश्वास रहेको बताए।
ट्रम्पले मनोनित गरेका दुवै व्यक्तिले रुसबारे ट्रम्पको भन्दा कडा धारणा समेत राखे।
उनीहरुले समग्र युरोपका लागि रुसले खतरा उत्पन्न गराएको भन्दै चिन्ता समेत व्यक्त गरे।