‘ओबामाकेयर' उल्टाउने प्रयासको प्रतिवाद

अमेरिकाका भावी राष्ट्रपति डोनल्ड ट्रम्पको समूहले स्वास्थ्य सेवा सम्बन्धी आफ्नो कानून उल्टाउने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति बराक ओबामाले उक्त कानूनको पक्षमा लड्न डेमोक्र्याटिक नेताहरुलाई आग्रह गरेका छन्।

क्यापिटल हिलमा दुई घण्टा भएको गोप्य बैठकमा ओबामाले आफ्नो दलका सदस्यहरुलाई सो कानूनको पक्षमा उभिन भनेका थिए।

त्यसअघि रिपब्लिकन दलका तर्फबाट उपराष्ट्रपतिमा निर्वाचित माइक पेन्सले ट्रम्पले कार्यकाल शुरु गरेकै दिनबाटै कानून खारेजीको प्रक्रिया अघि बढाइने बताएका थिए।

तर सिनेटमा डेमोक्र्याटतर्फका नेता चक सुमरले जनस्वास्थ्यमा सबैको पहुँच पुग्ने वैकल्पिक कानून प्रस्ताव गरे मात्रै उनको दलले रिपब्लिकनहरुसँग मिलेर काम गर्ने टिप्पणी गरेका छन्।

ओबामाकेयर

कंग्रेसमा उपस्थित रिपब्लिनकनतर्फका उपरराष्ट्रपति निर्वाचित माइक पेन्सले ओबामाकेयर भनिने उक्त स्वास्थ्य सुधार सम्बन्धी कानून खारेज गरिने बताएका थिए।

सो कानूनले करिब २ करोड अमेरिकीहरु सम्म स्वास्थ्य सेवाको पहुँच पुर्याएको बताइन्छ।

सुलभ ढंङ्गले स्वास्थ्य सेवामा पहुँच दिने भनी सन् २०१० मा ल्याइएको उक्त कानूनका कारण स्वस्थ्य बीमा वापत बढी रकम तिर्नुपरेको र कयौँ ठूला बीमा कम्पनीले आफ्ना बीमा योजनाहरु नै फेरबदल गरिरहेको देखिन्छ।

बहिर्गमनअघि क्यापिटल हिल पुगेका ओबामासँग छलफलपछि आफ्नो कार्यकालको महत्वपूर्ण घरेलु उपलब्धिका रुपमा रहेको स्वास्थ्य सुधार सम्बन्धी कानून जोगाउन प्रोत्साहित भएको डेमोक्र्याटिक नेताहरुले बताएका छन्।

दशकौँयता रिपब्लिकनहरुले ह्वाइट हाउस र अमेरिकी संसदका दुवै सदन नियन्त्रण गर्न लागेको सन्दर्भमा दह्रो हुन ओबामाले आफ्ना नेताहरुलाई आग्रह गरेका थिए।

विकल्प

माथिल्लो सदन सिनेटले उक्त कानून खारेज गर्ने प्रकियाको पहिलो कदम चालिरहँदा ओबामाको त्यस्तो भनाइ आएको हो।

उक्त कार्यक्रमको बजेट कटौती गर्न गरिएको प्रस्तावको पक्षमा ५१ र विपक्षमा ४८ मत खसेको थियो।

बीबीसी संवाददादता लाउरा बिकर भन्छिन्, "राष्ट्रपति ओबामाले आफ्नो स्वास्थ्य सुधार सम्बन्धी कार्यक्रमको पक्षमा अन्तिमसम्मै लड्ने दृढता व्यक्त गरेका छन्।"

उनका अनुसार रिपब्लिकनहरु उक्त स्वास्थ्य सुधारको कानूनको विकल्पका के ल्याउने भन्नेबारे प्रष्ट छैनन् र त्यसबाट कसरी बढी भन्दा बढी फाइदा उठाउन सकिन्छ भन्नेमा डेमोक्रयाटिक नेताहरुले ध्यान दिइरहेका छन्।