तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

लाइभ, इजरेलद्वारा बेरुत र तेहरानमा ताजा हमला, इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन प्रहार

इरानमा अमेरिका र इजरेलले आक्रमण गरेपछि इरानले इजरेल र मध्यपूर्वस्थित अमेरिकी साझेदार राष्ट्रहरूतिर क्षेप्यास्त्र र ड्रोन प्रहार गर्ने क्रम जारी राखेको छ।

सारांश

  • इजरेलले तेहरान र बेइरुतमा ताजा हमला गरेको पुष्टि गरेको छ
  • रियादस्थित अमेरिकी दूतावासमा दुइटा ड्रोन प्रहार हुँदा त्यहाँ आगलागी भएको र सामान्य क्षति पुगेको साउदी रक्षा मन्त्रालयले जनाएको छ
  • कुवेतस्थित अमेरिकी राजदूतावास अनिश्चितकालका लागि बन्द भएको छ
  • मध्यपूर्वमा द्वन्द्व चर्किएपछि एक इरानी अधिकारीले 'स्ट्रेट अफ होर्मुज'मा देखिने जुनसुकै पानीजहाजमा पनि "आगो लगाइदिने" धम्की दिएका छन्। स्ट्रेट अफ होर्मुज पेट्रोलियम पदार्थ ढुवानी प्रयोग गरिने गर्न एउटा महत्त्वपूर्ण मार्ग हो
  • अमेरिकाका विदेशमन्त्री मार्को रुबिओले इरानमा "सबैभन्दा भीषण आक्रमण हुन बाँकी नै भएको" बताएका छन्
  • अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको सत्तालाई रोक्ने यो नै "अन्तिम र सबैभन्दा राम्रो अवसर" भएकाले इरानविरुद्ध युद्ध गर्ने निर्णय गरेको बताएका छन्
  • अमेरिका र इजरेलले शनिवार गरेको आक्रमणमा परेर इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको मृत्यु भएको थियो। इरानले त्यसको प्रतिशोध लिने उद्घोष गरेको छ

लाइभ कभरेज

  1. ओमानको व्यापारिक बन्दरगाहमा ड्रोन आक्रमण - सरकारी सञ्चारमाध्यम

    ओमानस्थित दुकम बन्दरगाहमा रहेको इन्धन ट्याङ्कमाथि ड्रोन आक्रमण भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

    “कुनै पनि किसिमको मानवीय हताहतीबिना उक्त क्षतिलाई नियन्त्रणमा लिइएको छ,” नाम नखुलाइएको सुरक्षा स्रोतलाई उद्धृत गर्दै समाचारसंस्थाले उल्लेख गरेको छ।

    सोही बन्दरगाहलाई सप्ताहान्तमा ड्रोनले निसाना बनाएको थियो। समाचारअनुसार एक जना कामदार घाइते भएका थिए।

    उता कतारमा, इरानले आक्रमण गरेपछि सोमबार तरलीकृत प्राकृतिक ग्यासको उत्पादन रोकिएको छ।

    साउदी अरबले पनि आफ्नो सबैभन्दा ठूलो घरेलु प्रशोधन केन्द्रमा उत्पादन स्थगित गरेको छ।

  2. ट्रम्पद्वारा यूकेका प्रधानमन्त्री स्टार्मरमाथि 'असहयोगी' भएको आरोप

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले इरानमा आक्रमण गर्दा सहयोग नगरेको आरोप यूकेका प्रधानमन्त्री सर किअर स्टार्मरमाथि लगाएका छन्।

    'द सन' पत्रिकासँग बोल्दै ट्रम्पले भने, "त्यस्तो होला भनेर मैले कहिल्यै सोचेको थिइनँ। यूकेले त्यस्तो गर्ला भनेर मैले कहिल्यै सोचेको थिइनँ।"

    फोन अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, "स्वभावतः यो सम्बन्ध पहिलेजस्तो रहेन, यो एकदमै दुःखको कुरा हो।"

    यसअघि सोमवार स्टार्मरले 'द हाउस अफ कमन्स'मा बोल्दै आफ्नो सरकार "आकाशबाट सत्ता बदल्ने कुरा"मा विश्वास नगर्ने बताएका थिए।

    सुरुमा यूकेले इरानमाथि आक्रमण गर्न अमेरिकालाई आफ्नो बेस प्रयोग गर्न दिएको थिएन। तर पछि "प्रतिरक्षात्मक" आक्रमणका लागि भन्दै तिनलाई खुला गरिएको थियो।

  3. लेबननमा स्थलसेनाले रणनीतिक क्षेत्रहरू आफ्नो नियन्त्रणमा लिन्छः इजरेल

    इजरेलका रक्षामन्त्री इजरेल काट्जले इजरेली स्थलसेनाले लेबननमा प्रवेश गरी रणनीतिक महत्त्वका थप क्षेत्रहरू आफ्नो नियन्त्रणमा लिने बताएका छन्।

    उनका अनुसार आफू र प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इजरेलको सीमावर्ती क्षेत्रमा बस्ने मानिसहरूमाथि हमला हुन नदिन "आईडीएफलाई कारबाही गर्ने अनुमति दिएको" बताएका छन्।

    उनले इजरेलतिर गरेको हमलाको "आतङ्ककारी समूह" हिज्बुल्लाहले चर्को मूल्य चुकाउनुपर्ने टिप्पणी गरेका छन्।

  4. तीनवटा इजरेली सैन्यस्थलमा हमला गरेको हिज्बुल्लाहको दाबी

    इरानबाट समर्थनप्राप्त लेबननी लडाकु समूह हिज्बुल्लाहले "लेबननका दर्जनौँ सहरहरूमा इजरेलले गरेका आपराधिक आक्रमणहरूको जबाफ दिन' आफूले इजरेलका तीनवटा सैन्यस्थलमा हमला गरेको दाबी गरेको छ। हिज्बुल्लाहले गोलन हाइट्सस्थित नफाह सैन्य शिविरमा क्षेप्यास्त्रहरू प्रहार गरेको टेलिग्राममा जनाएको छ।

    त्यसबाहेक उत्तरी इजरेलस्थित मेरोन र रामाट डेभिड वायुसेना शिविरहरूमा ड्रोन आक्रमण गरिएको हिज्बुल्लाहको दाबी छ।

    यसबारे इजरेली सेनाले कुनै टिप्पणी गरेको छैन।

  5. बेरुतमा धुवाँको मुस्लो, तेहरानमा विस्फोटनको ठूलो आवाज

    इजरेलले इरानको राजधानी तेहरान र लेबननको राजधानी बेरुतस्थित सैन्यस्थलहरूमा आफ्नो सेनाले आक्रमण गरिरहेको बताएको छ।

    हामीले बेरुतमा धुवाँको मुस्लो उठेको देखिने केही केही ताजा तस्बिर प्राप्त गरेका छौँ।

    समाचारसंस्था एएफपीले तेहरानमा विस्फोटनहरू भएका र त्यसपछि ठूलो आवाज सुनिएको विवरण दिएको छ।

  6. इरानी जनता के भन्छन्

    इरानका बासिन्दाहरूले इजरेल र अमेरिकाले देशैभरि बम आक्रमण गरेपछि आफूले देखेको र भोगेको कुरा बताउन थालेका छन्।

    शनिवार बिहान आक्रमण सुरु भएपछि सैन्य र रणनीतिक महत्त्वका स्थानहरूमा निरन्तर हमला भइरहेको छ।

  7. कुवेतस्थित अमेरिकी दूतावास 'अनिश्चितकालका लागि' बन्द

    मध्यपूर्वमा विद्यमान तनावको कारण देखाउँदै कुवेतस्थित अमेरिकी दूतावास अर्को सूचना प्रकाशित नभएसम्मका बन्द भएको छ।

    दूतावासले भिसाका लागि नियमित र आकस्मिक कन्सूसर सेवा पनि स्थगित भएको सूचना जारी गरेको छ।

    सोमवार अमेरिकाको विदेश मन्त्रालयले कुवेतसहित मध्यपूर्वका देशमा भएका आफ्ना सबै नागरिकहरूलाई अन्यत्र जान आह्वान गरेको थियो।

    सोमवार कुवेतमा अमेरिकाका तीनवटा लडाकु विमानहरू "आफ्नै पक्षले त्रुटिवश गरेको आक्रमण"मा परेका थिए।

    रियादस्थित अमेरिकी दूतावासमा ड्रोन हमला भएपछि कुवेतस्थित कूटनीतिक नियोग पनि बन्द भएको हो।

  8. हिज्बुल्लाहले रकेट प्रहार गरेपछि इजरेली सेनाद्वारा बेरुतमा हमला

    इजरेली सेनाले हिज्बुल्लाहका बेरुतस्थित सैन्यस्थलहरूलाई लक्ष्य गर्दै आक्रमण गरिएको जनाएको छ।

    इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि इरानबाट समर्थन प्राप्त गर्दै आएको हिज्बुल्लाह शिया समूहले इजरेलतिर रकेट प्रहार गरेको थियो।

  9. दुबई र आबुधाबीबाट भए ‘केही हवाई उडान’

    द्वन्द्वका कारण हवाई उडान रोकिएका दुबई र आबुधाबीका मुख्य विमानस्थलबाट केही विमानहरू उडेका छन्।

    इतिहाद एअरवेजका विमानहरू लन्डन, मस्को र प्यारिस लगायतका गन्तव्यतर्फ उडेका छन्।

    मध्यपूर्वमा दशौँ हजार यात्रुहरू अलपत्र परेका छन्। अहिलेको अवस्थालाई कोभिड महामारीपछि विश्वव्यापी हवाई यात्रामा भएको सबैभन्दा खराब अवरोधको रूपमा चित्रित गरिएको छ।

    केही दिनको अवरोधपछि एअरलाइन्स र ट्राभल कम्पनीहरूको शेअरको मूल्य तीव्र रूपमा घटेको छ।

  10. प्राकृतिक ग्यास आपूर्तिमा अवरोध हुँदा विश्व बजारमा धक्का, सुरञ्जना तिवारी

    स्ट्रेट अफ होर्मुज बन्द भएको पुष्टि भयो वा तेल र ग्यासको पूर्वाधारमाथि हमला जारी रह्यो भने एशिया र युरोप सबैभन्दा बढी प्रभावित हुने उद्योग विश्लेषकहरूले बताएका छन्।

    तरल प्राकृतिक ग्यास (एलएनजी) को आपूर्ति मुख्य चिन्ताको विषय हो।

    आफ्नो एउटा प्रशोधन केन्द्रमा इरानी ड्रोन आक्रमण भएको खबरपछि कतारले एलएनजी उत्पादन रोकेको बताएको थियो।

    “कतारी एलएनजीलाई कुनै पनि कुराले प्रतिस्थापन गर्न सक्दैन,” एमएसटी फाइनान्शल लमा वरिष्ठ ऊर्जा विश्लेषकको रूपमा कार्यरत साउल काभोनिकको ठम्याइ छ।

    "यदि अवरोध लामो समयसम्म रह्यो वा एलएनजी पूर्वाधारमा क्षति पुगेको छ भने, यसले सन् २०२२ मा रुसले युरोपमा पाइपलाइन ग्यास बन्द गर्दाको अवस्थाको तुलनामा ग्यास बजारमा ठूलो झट्का पुग्ने सङ्केत गर्छ।”

    विश्वको एलएनजीको पाँच भागको एक भाग स्ट्रेट अफ होर्मुज हुँदै जान्छ र कतारले आफ्नो एलएनजी निर्यातको ९० प्रतिशत ओमान र इरानबीचको साँघुरो भागबाट ओसारपसार गर्दछ।

    विज्ञहरूका अनुसार चीन, भारत, ताइवान र दक्षिण कोरिया एशियामा सबैभन्दा बढी जोखिममा पर्ने देशमध्ये हुन्।

  11. इजरेली सेनाद्वारा तेहरान र बेरुतमा ताजा हमला

    इजरेली डिफेन्स फोर्सेसले इरानको राजधानी तेहरान र लेबननको राजनधानी बेरुतमा हवाई हमला गरेको पुष्टि गरेको छ।

    "आईडीएफले एकै पटक निर्धारित स्थानका सैन्यस्थलहरूमा आक्रमण गरिरहेको छ," इजरेली सेनाले एउटा विज्ञप्तिमा भनेको छ।

    आईडीएफले बेरुतको दक्षिणी भेगका बासिन्दाहरूलाई सुरक्षित स्थानतिर जान सूचना जारी गरेको झन्डै एक घण्टापछि आक्रमण गरेको हो।

  12. 'अमेरिकी हवाई आधार ध्वस्त'

    इरानले गरेको हमलाका कारण बाहरेनस्थित अमेरिकी हवाई शिविर ध्वस्त भएको विवरण आएको छ।

    इरानी रेभलूशनरी गार्ड कोर (आईआरजीसी) सँग सम्बद्ध फार्स समाचारसंस्थाले पोस्ट गरेको फुटेजमा क्षेप्यास्त्रहरू उक्त आधारमा विस्फोट भएको देखिन्छ।

    इरानको ड्रोन र क्षेप्यास्त्र आक्रमणले बाहरेनको शेख इसा क्षेत्रमा रहेको अमेरिकी कमान्ड र कर्मचारी आवास भवन ध्वस्त पारेको र इन्धन ट्याङ्क विस्फोट गराएको दाबी उसले गरेको छ।

    अमेरिकाले भने उक्त आक्रमणबारे कुनै टिप्पणी गरेको छैन। यसअघि बाहरेनमा रहेको अमेरिकी जलसैनिक शिविरबाट धुवाँ निस्केको देखिएको थियो।

    अमेरिकी विदेश मन्त्रालयले बाहरेनसहित मध्यपूर्वका अन्य दर्जनौँ देश छाड्न आफ्ना नागरिकलाई निर्देशन दिएको छ।

  13. अमेरिकी सेनाले 'सबैभन्दा भीषण कारबाही गर्न अझै बाँकी

    अमेरिकाका विदेशमन्त्री मार्को रुबिओले इरानमा शनिवार आक्रमण गर्नुपर्नाका कारण खुलाएका छन्।

    उनका अनुसार इजरेलले हमला गर्न लागेको अमेरिकाले थाहा पाएको र इरानले अमेरिकी सैनिकहरूमाथि प्रत्याक्रमण गर्न सक्ने भएकाले अमेरिकाले पहिला नै सैन्य कारबाही गरेको हो।

    "उनीहरूले आक्रमण गर्नुभन्दा अगाडि नै हामीले नगरेको भए हामीले धेरै मानवीय क्षति बेहोर्नुपर्थ्यो," उनले भने।

    "म हाम्रो रणनीतिक प्रयासबारे सबै कुरा भन्दिनँ तर अमेरिकी सेनाले सबैभन्दा भीषण कारबाही गर्न अझ बाँकी नै छ।"

  14. अमेरिकाले इरानमा हमला गर्नेबारे ट्रम्पले के भने

    इरानमा अमेरिका र इजरेलले गरेको सैन्य कारबाहीपछि पहिलो पटक बोल्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले परमाणुअस्त्र र लामो दूरीका क्षेप्यास्त्रहरू भएकाले इरान मध्यपूर्व र अमेरिकाका लागि "अस्वीकार्य खतरा" भएको बताएका छन्।

    इरानको क्षेप्यास्त्र कार्यक्रम परमाणुअस्त्र विकासलाई ढाकछोप गर्ने तरिका भएको उनले दाबी गरे।

    ट्रम्पका अनुसार "आक्रमण गर्ने यो नै अन्तिम र सबैभन्दा राम्रो अवसर भएकाले" तथा "दुष्ट सत्ताबाट उत्पन्न अस्वीकार्य खतराहरू" हटाउन उनले इरानमा धावा बोल्ने निर्णय गरेका हुन्।

    उनले इरानको क्षेप्यास्त्रशक्ति तथा जलसेनालाई ध्वस्त पार्ने र इरानलाई परमाणुअस्त्र राख्न नदिनु आफ्नो उद्देश्य भएको स्पष्ट पारे।

    "इरानले सीमापारि आतङ्ककारी शत्रुहरूलाई हातहतियार दिन, आर्थिक सहयोग गर्न र निर्देशन दिन पाउँदैन," उनले भने।

  15. अहिलेसम्मका मुख्य घटनाक्रम

    • मध्यपूर्वमा द्वन्द्व चर्किएपछि एक इरानी अधिकारीले 'स्ट्रेट अफ होर्मुज'मा देखिने जुनसुकै पानीजहाजमा पनि "आगो लगाइदिने" धम्की दिएका छन्। स्ट्रेट अफ होर्मुज पेट्रोलियम पदार्थ ढुवानीमा प्रयोग गरिने एउटा महत्त्वपूर्ण मार्ग हो
    • अमेरिकाका विदेशमन्त्री मार्को रुबिओले इरानमा "सबैभन्दा भीषण आक्रमण हुन बाँकी नै भएको" बताएका छन् तर उनले आफ्ना "रणनीतिक प्रयासहरूको विवरण नदिने" उल्लेख गरेका छन्
    • रियादस्थित अमेरिकी दूतावासमा प्रहार भएका दुइटा ड्रोनले त्यहाँ आगलागी भएको र सामान्य क्षति पुगेको साउदी अरेबियाको रक्षा मन्त्रालयले जनाएको छ
    • अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको सत्तालाई रोक्ने यो नै "अन्तिम र सबैभन्दा राम्रो उपाय" भएकाले इरानविरुद्ध युद्ध गर्ने निर्णय गरेको बताएका छन्
    • इरानमा आक्रमण गरेपछि पहिलो पटक बोल्दै ट्रम्पले सैन्य अभियान जारी रहने घोषणा गरेका छन्
    • अमेरिका र इजरेलले शनिवार गरेको आक्रमणमा परेर इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको मृत्यु भएको थियो। इरानले त्यसको प्रतिशोध लिने चेतावनी दिएको छ
    • इजरेलले लेबननमा हिज्बुल्लाहलाई लक्षित गर्दै कैयौँ पटक हमला गरिएको बताएको छ
    • लेबननी स्वास्थ्य अधिकारीहरूका अनुसार इजरेली बम हमलामा परेर कम्तीमा ५२ जनाको मृत्यु भएको र सयौँ बेरुतवासीहरू विस्थापित भएका छन्
    • यूकेका प्रधानमन्त्री किअर स्टार्मरले अमेरिका र इजरेलले गरेका हमलाहरूमा यूकेले "जानीजानी" सहभागी नहुने निर्णय गरेको भन्दै आफ्नो सरकारले "आकाशबाट सत्ता परिवर्तन हुन्छ" भन्ने कुरामा विश्वास नगर्ने बताएका छन्
  16. स्वागतम्

    नमस्कार। बीबीसी न्यूज नेपालीको यो लाइभ पेजमा तपाईँलाई स्वागत छ।

    इजरेल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा सङ्कट गहिरिँदै गएको देखिएको छ।

    इरानले आफ्ना सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि खास गरी खाडीका विभिन्न देशमा रहेका अमेरिकी सैन्य आधारहरूलाई निसाना बनाउँदै हमला गरिरहेको छ।

    त्यससँगै लडाइँको आकार विस्तार भएको देखिन्छ। त्यसबाट लाखौँको सङ्ख्यामा काम गरिरहेका नेपालीहरूको अवस्थालाई लिएर पनि चिन्ता व्यक्त हुन थालेको छ।

    इरानमाथि इजरेल-अमेरिका आक्रमण, त्यसको प्रतिक्रियामा इरानले गरेको जबाफी हमला तथा मध्यपूर्वमा विकसित घटनासँग सम्बन्धित जानकारी हामी यो लाइभ पेजमा प्रकाशित गर्ने छौँ।