बेरुतवासी के भन्छन्, एलिस कडी, बेरुत
इजरेली सेनाले "लेबननका रणनीतिक क्षेत्रहरू" आफ्नो नियन्त्रणमा लिने घोषणा गरेपछि मैले इजरेली सीमानजिकै बस्ने लेबननीहरूसँग कुरा गरेकी छु।
लेबननको उत्तरी भेगमा अवस्थित मार्जायून सहरमा बस्ने एक व्यक्तिले आफ्नो नाम उल्लेख नगर्न अनुरोध गर्दै बलपूर्वक बाहिर नहटाइए आफू घरमा बस्ने बताए।
"हामीले खबर सुनेका छौँ तर हामीलाई के गर्नुपर्छ वा अब के हुन्छ भन्ने थाहा छैन। म परिस्थिति विचार गरेर परिवारसँगै बस्छु। आवश्यक पर्यो भने बुवाआमालाई सुरक्षित स्थानमा सार्छु," उनले भने।
२६ वर्षीय खूदोर शेखले दक्षिण लेबनन छोडेका छन्। उनी अहिले बेरुत आइपुगेका छन्।
उनले तनाव चर्किने आफूलाई पहिल्यै लागेको बताए। "हामी अहिले प्रार्थना मात्र गर्न सक्छौँ," उनले भने।
"परिस्थिति निकै कठिन र अनिश्चित छ। अब के हुन्छ म त्यो नियाल्छु। त्यसबाहेक अरू केही गर्न पनि त सक्दिनँ।"