तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चिकित्सकहरूको हडताल स्थगित, बिरामीहरू प्रभावित भएपछि आलोचना
राष्ट्रपतिको सवारीका क्रममा माघ २७ मा चिकित्सकहरूमाथि प्रहरी हातपात भएको भन्दै नेपाल चिकित्सक सङ्घले गरेको हडताल आइतवार मध्याह्नबाट स्थगित गर्ने सहमति भएको छ।
नेपाल सरकार र सङ्घका प्रतिनिधिबीच भएको वार्तामा 'सुरक्षाकर्मीबाट चिकित्सकमाथि भएको कुटपीटको छानबीन गरी एक हप्ताभित्र दोषीलाई कारबाही गर्ने सहमति' भएपछि सङ्घले तत्काल चिकित्सकहरूलाई आफ्नो जिम्मेवारीमा फर्कन विज्ञप्तिमार्फत भनेको छ।
यसअघि देशका कतिपय अस्पतालमा बिरामीले सेवा सुरु गर्न माग गर्दै विरोध गरेका विवरण सार्वजनिक भएका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा सम्बोधन गरेर फर्कने क्रममा गत शुक्रवार राष्ट्रिय ट्रमा सेन्टर अगाडीको सडकमा काममा जान लागेका चिकित्सकलाई प्रहरीले लाठीचार्ज गरेको चिकित्सक सङ्घले जनाएको थियो।
जसको विरोधमा भन्दै सङ्घले आइतवार देशभरका सबैखाले अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेशप्रसाद पाण्डे र सङ्घका अध्यक्ष डा लोचन कार्कीबीच भएको सहमतिमा 'संवेदनशील संस्था तथा क्षेत्रमा असहजता नहुने गरी 'विशिष्ठ व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७' मा गर्नुपर्ने परिमार्जन सम्बन्धमा नेपाल सरकारसमक्ष एक हप्ताभित्र सुझाव पेश गर्ने।....उक्त सुझावलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने' जनाइएको छ।
नेपाल प्रहरीले घटनामा संलग्न सुरक्षाकर्मीहरूलाई निलम्बन गर्दै छानबिन अगाडी बढाएको जनाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘स्वास्थ्यजस्तो संवेदनशील विषयमा सम्पूर्ण स्वास्थ्यकर्मीहरू थप संवेदनशील बनेर’ काममा फर्कन एक विज्ञप्तिमार्फत अपिल गरेको थियो।
कसले के भने?
चिकित्सकहरूको हडतालले अस्पताल पुगेका बिरामीहरू मर्कामा परेका विवरण आइरहँदा सामाजिक सञ्जालमा त्यसको विरोधी मतहरू देखा परेका छन्।
चिकित्सकहरूको सुरक्षा सुनिश्चित हुनुपर्ने र अतिविशिष्ठ व्यक्तिका नाममा हुने सवारीबाट जनताले सास्ती पाउन नहुने मागहरू उठेका छन्।
एकजना चिकित्सक अभिषेक राज सिंहले 'सवारी र प्रहरीले गुमाएको संयमताको दोष बिरामीलाई दिन नहुने' भन्दै शनिवार ट्विट गरेका छन्।
अर्का चिकित्सक अनुप सुवेदीले प्रहरी कुटाइको विरोध हुन आवश्यक भए तापनि दिनभर सेवा अवरुद्ध गर्ने र लाखौँ निरीहलाई दुःख दिने काम 'न वास्तविक अपराधीलाई सजाय हो, न कसैले आफूविरूद्ध गरेको अपराध अनुसारको समानुपातिक रेस्पोन्स हो’ भन्दै ट्वीट गरेका छन्।
ट्विटरमै अनन्त कोइरालाले ‘एउटा गतल कामको विरोध अर्को गलत कामले गर्न नमिल्ने’ बताएका छन्।