थाई राजसंस्थाको अपमान गरेको मुद्दामा ५० वर्षको जेल

    • Author, जोनाथन हेड
    • Role, दक्षिण पूर्वी एशिया संवाददाता

राजसंस्थाको अपमान हुने खालको टिप्पणीका लागि थाईल्यान्डमा एउटा अदालतले एक व्यक्तिलाई ५० वर्षको जेल सजाय सुनाएको छ।

थाई राजसंस्थाको आलोचना गर्न प्रतिबन्ध लगाउने गरी ल्याइएको कानुनअन्तर्गत अहिलेसम्म दिइएको यो सबैभन्दा कठोर सजाय हो।

तीन वर्षअघि फेसबुकमा पोस्ट गरेको सामग्रीका लागि यसअघि मङ्कोन तिराकोटलाई दोषी ठहर गर्दै २८ वर्षको जेल सजाय सुनाइएको थियो। अहिले उनी ३० वर्षका भए।

बिहीवार पुनरावेदन अदालतले उक्त सजायमा २२ वर्ष थपेको हो।

लीज म्याजस्टी कानुन

थाईल्यान्डमा 'लीज म्याजस्टी' कानुनले राजसंस्थाको आलोचना गर्न प्रतिबन्ध लगाएको छ। तर त्यसको चर्को आलोचना हुँदै आएको छ।

थाईल्यान्डमा १० वर्षमा पहिलो पटक गत वर्ष निर्वाचित सरकार गठन भएको भए पनि उक्त कानुनले निरन्तरता पाएको छ।

बिहीवारको सुनुवाइपछि न्यायाधीशले सहयोगी व्यवहारका कारण आफूले तिराकोटको सजाय एकतिहाइले घटाइदिएको बताए।

चियाङराई प्रान्तका तिराकोट अनलाइन माध्यमबाट कपडा व्यापार गर्थे। उनीमाथि किन त्यति कठोर सजाय सुनाइयो भन्ने विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।

तर न्यायाधीशले फेसबुकमा धेरै प्रतिक्रिया लेखिएकोतिर सङ्केत गरेका छन्। थाई अदालतले प्रत्येक पोस्टका लागि थप सजाय दिने अभ्यास गर्दै आएका छन्।

वाचिरालोङ्कोर्न राजा बनेपछि सन् २०१९ मा केही समयका लागि लीज म्याजस्टी कानुन निलम्बित भएको थियो। तर पछि त्यो बिउँत्याइयो।

तीन वर्षअघि राजसंस्थामा आमूल सुधार हुनुपर्ने मागसहित विद्यार्थीहरूको आन्दोलन चर्किएपछि उक्त कानुन व्यापक रूपमा प्रयोग हुन थाल्यो।

अर्का अभियानकर्मीको जेल सजाय पनि बढ्यो

राजसंस्थाबारे सार्वजनिक बहस हुनुपर्ने माग गरेका अभियानकर्ता तथा वकिल आनोन नाम्पाले पाएको जेल सजाय पनि बुधवार चार वर्षले बढाइएको थियो।

यसै महिनाको अन्त्यतिर संवैधानिक अदालतले उक्त कानुनमा संशोधन गर्नुपर्ने माग गर्दै आएको 'मूभ फर्वड दल' विघटन गर्ने या नगर्ने भन्ने मुद्दामा निर्णय सुनाउन लागेको छ।

उक्त दलले गत निर्वाचनमा सर्वाधिक सीट जितेको थियो।

लीज म्याजस्टी कानुनमा संशोधन गर्नु भनेको सम्पूर्ण राजनीतिक व्यवस्थालाई उल्ट्याउने प्रयाससरह भएको धारणा केही थाई रूढिवादीहरूको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।