तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
यू-१९ विश्वकप: बाङ्ग्लादेशविरुद्ध नेपाली टोलीको प्रतिष्ठाको लडाइँ
- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
समूह चरणको खेल सकिएलगत्तै १९ वर्षमुनिको उमेर समूहको नेपाली युवा क्रिकेट टोली दक्षिण अफ्रिकाको केपटाउनबाट ब्लोम्फोन्टेन सहर पुगेको थियो।
अफगानिस्तानविरुद्ध भएको रोचक जित र एकमात्र असोसियट राष्ट्रको रूपमा विश्वकपको सुपर सिक्समा पुगेको उत्साह समेट्दै यू-१९ टोलीले त्यहाँ दुई दिन अभ्यास गर्यो। बुधवार नेपाल र बाङ्ग्लादेशविरुद्ध सुपर सिक्समा खेल हुँदै छ।
तर दुःखद कुरा के हो भने सुपर सिक्सको खेल सुरुअघि नै नेपालको यू-१९ विश्वकप सेमिफाइनलमा पुग्ने ढोका लगभग बन्द भइसकेको छ।
यो विश्वकपको अङ्कगणित यस्तो छ कि भारत र पाकिस्तान दुवैले ६/६ अङ्क जोडिसकेका छन्। तर नेपाल अङ्कविहीन छ।
नेपालले सुपर सिक्सको दुवै खेल जितेर चार अङ्क जोड्यो भने पनि त्यो सेमिफाइनल पुग्न अपर्याप्त हुने छ।
त्यसैले भारत र बाङ्ग्लादेशसँग अब नेपालले दक्षिण अफ्रिकाको ब्लोम्फोन्टेन मैदानमा खेलिने खेल प्रतिष्ठाको लागि मात्र हुने छ।
नतिजाले नेपालको 'उत्कृष्ट १२' भित्रको वरीयता भने निर्धारण गर्ने छ।
बाङ्ग्लादेशविरुद्ध नेपाल
बुधवार नेपालले सुपर सिक्सको आफ्नो पहिलो खेल खेल्दै छ। युवा विश्वकपमा नेपाल र बाङ्ग्लादेशबीच यसअघि दुई पटक भेट भएको छ।
सन् २००२ मा भएको भेटमा नेपालले बाङ्ग्लादेशलाई २३ रनले हराएको थियो। त्यसको १४ वर्षपछि सन् २०१६ को क्वार्टरफाइनलमा यी दुई टोली आमनेसामने भएका थिए। त्यसमा नेपाल छ विकेटले पराजित हुन पुगेको थियो।
बुधवारको खेलमा नेपाली टोलीले दबावमुक्त भएर खेल्न पाउने छ।
त्यसको विपरीत बाङ्ग्लादेशको लागि भने नेपालसँगको खेल निकै महत्त्वपूर्ण हुने छ। किनकि सेमिफाइनलमा पुग्ने सम्भावना कायम राख्न बाङ्ग्लादेशले नेपालविरुद्ध जित मात्र होइन राम्रो रन रेट पनि बनाउनुपर्ने छ।
नेपाली खेलाडीहरूको दाउ भने बेग्लै छ। उनीहरू अफगानिस्तानको खेलमा जस्तै साहसिक परिणाम हात पार्ने धुनमा हुने छन्।
बाङ्ग्लादेश नेपालका लागि कडा प्रतिद्वन्द्वी
जारी विश्वकमा बाङ्ग्लादेश उपाधिको दाबेदार राष्ट्रमध्येको एक हो। गत डिसेम्बरमा यू-१९ एशिया कप जितेको टोलीसँग भरपर्दा ब्याटर र राम्रा स्पिनरहरू छन्।
दायाँहाते ब्याटर अरिफुल इस्लाम बाङ्ग्लादेशका मुख्य खेलाडी हुन्। जारी प्रतियोगितामा उनले भारतविरुद्ध ४१ रन तथा अमेरिकाविरुद्ध १०३ रन बनाएका छन्।
त्यस्तै यू-१९ एशिया कपमा भारतलाई सेमिफाइनलमा हराउन उनले ९४ रनको महत्त्वपूर्ण इनिङ्स खेले भने यूएईविरुद्धको फाइनल जिताउन ५० रन बनाएका थिए।
जारी प्रतियोगितामा मोहम्मद सिहाव जेम्स र अहरर अमिन पनि राम्रो फर्ममा छन्। सिहाव जेम्सले भारतविरुद्ध ५४ रन तथा आयरल्यान्डविरुद्ध अविजित ५५ रन बनाएका थिए।
मध्यक्रमका ब्याटर अहरर अमिनले अमेरिकाविरुद्ध ४४ रन तथा आयरल्यान्डविरुद्ध ४५ रन बनाएका थिए। त्यस्तै यू-१९ एशिया कपको सेमिफाइनलमा पनि उनले भारतविरुद्ध ४४ रन बनाएका थिए।
बलिङमा मारुफ मिध्रा बाङ्ग्लादेशका मुख्य शक्ति हुन्। मध्यम गतिका बलर उनले भारतविरुद्ध समूह चरणको खेलमा पाँच विकेट लिएका थिए। त्यस्तै लेफ्टआर्म बलिङ अलराउन्डर महफुजर रहमान रब्बीले अमेरिकाविरुद्ध चार विकेट लिएका थिए।
विकेटकीपर तथा ओपनिङ ब्याटर आशिकर रहमान सिब्ली सुरुमै जमेमा त्यो नेपालको लागि घातक बन्न सक्छ।
उनले यू-१९ एशिया कपको फाइनलमा यूएईविरुद्ध १२९ रन बनाएका थिए।
बाङ्ग्लादेशले लीगका सबै खेल ब्लोम्फोन्टेनमा खेलेको थियो। त्यहाँको मैदानमा खेलाडीहरू अभ्यस्त भएकाले नेपालविरुद्धको खेलमा बाङ्ग्लादेशलाई केही लाभ हुन सक्छ।
गुलशन झाबाट आशा
कप्तान देव खनाल, अर्जुन कुमाल र गुलशन झा नेपाली टोलीका प्रमुख खेलाडीहरू हुन्।
तर दक्षिण अफ्रिकामा गुलशन झाको खेल अहिलेसम्म खुलेको छैन। आईसीसीको दृष्टिमा परेका यी खेलाडीले अब आफ्नो क्षमता देखाउन दुई खेल बाँकी छ।
अर्जुन कुमालले पहिलो खेलमा न्यूजील्यान्डविरुद्ध ९० रन बनाएर एक्लै जस्तो सङ्घर्ष गरेका थिए।
टोलीका कप्तान देव खनालले अफगानिस्तानसँगको महत्त्वपूर्ण खेलमा जिम्मेवारीपूर्वक अर्धशतक बनाएका थिए। बलिङमा नेपालले अलि समस्या भोग्नुपर्ने देखिन्छ। तीव्र गतिका बलर दुर्गेश गुप्ता र तिलक भण्डारी घाइते छन्।
अफगानिस्तानसँगको खेलमा फील्डिङ गर्दा भण्डारीको हातमा टाँका लगाउनुपरेको थियो।
तीव्र गतिको बलिङको जिम्मा आकाश चन्द र गुलशन झाले लिने छन्।
यस्तोमा प्रशिक्षक जगत टमाटाले टोलीमा केही परिवर्तन गर्न सक्ने सम्भावना देखिन्छ।
दीपक बोहरा, विशाल विक्रम केसीले बुधवारको खेलमा मौका पाउन सक्छन्।
नेपाली टोलीका प्रशिक्षक जगत टमाटा भन्छन्, "खेलाडीहरूको मनोबल उच्च छ। त्यसैले अबको खेलमा खेलाडीहरू झन् खुलेर खेल्ने छन्।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।