एप्रिल १ देखि गाँजा वैध भएसँगै के जर्मनी अस्तव्यस्त होला

- Author, जेसिका पार्कर
- Role, बीबीसी बर्लिन संवाददाता, ड्रेसडेन
“केही जर्मनहरू कामपछि बियर पिउँछन्। हामी गाँजा खान चाहन्छौँ।”
परम्परागत रूपमा “बियर ल्यान्ड” अर्थात् बियर भूमि भनिने जर्मनी गाँजा मैत्री मुलुक बनेकोमा मार्सल रित्सेल हर्ष मनाइरहेका छन्।
जर्मनीले सन् २०२४ को एप्रिल १ देखि गाँजा प्रयोगलाई कानुनी मान्यता दिएको छ।
तर प्रहरी सङ्गठनहरूले त्यसले नोक्सान पुर्याउन सक्ने चेतावनी दिइरहेका छन्।
एप्रिल फूल अर्थात् १ एप्रिलका दिन कानुनमा परिवर्तन भएको भए पनि यो ठट्टा भने होइन।
हामीले ड्रेसडेनको न्यूस्टाड क्षेत्रमा मार्सल रित्सेललाई भेट्यौँ।
अरू ठाउँमा जस्तै यहाँ मानिसहरूले खुलमखुला धूमपान गरिरहेको देख्न मुस्किल थिएन।
गाँजालाई कानुनी बनाउँदा गरिएको मुख्य तर्क छ - अपराध मान्दा समेत दशौँ लाखले गाँजा सेवन गर्ने गरेकै थिए।
गाँजा कानुनी रूपमा उपलब्ध हुनुपर्ने वकालत गर्दै आएका समर्थकहरू भन्छन्- यसले कालो बजार अन्त्य गर्नेछ र गाँजाको गुणस्तर नियन्त्रणमा सुधार हुनेछ।
नयाँ नियममा के के छ?
एप्रिल १ देखि
- १८ वर्ष माथिका व्यक्तिले सार्वजनिक स्थानमा जाँदा २५ ग्रामसम्म गाँजा आफ्नो साथमा राख्न पाउँछन्
- हरेक घरमा तीन वटासम्म गाँजाका बिरुवा हुर्काउन पाइनेछ
- मानिसहरूले विद्यालय र खेल केन्द्र वा पैदल यात्री हिँड्ने क्षेत्रमा बिहान ७ देखि बेलुका ८ बजेसम्म देखिने गरी गाँजा खान पाउने छैनन्
जुलाई १ देखि
- ५०० सदस्यसम्म रहन पाउने गरी गाँजा हुर्काउनेहरूको सङ्गठन वा “सोसल क्लब”हरू खोल्न पाइनेछ
- त्यस्ता क्लबका सदस्यको उमेर १८ वर्ष माथि हुनु पर्नेछ र जर्मनीमा बसोबास गर्ने हुनुपर्नेछ
- क्लबहरूले गाँजा खेती र गाँजा वितरण गैरनाफामुखी तवरमा मात्र गर्न पाउनेछन्
- गाँजाखेती हुने ठाउँमै गाँजा खाने अनुमति हुनेछैन

रित्सेलले जुलाई महिनाबाट गाँजाका बोट लगाउनेहरूको सङ्गठन वा “क्यानाबिस सोसल क्लब” खोल्नेबारे सोचिरहेका छन् ।
“त्यो गाँजा लगाउनेहरूको एक क्लब हुनेछ,” उनले त्यसबारे भने।
'क्यानाबिस सोसल क्लब'
रित्सेलले क्यानाबिस सोसल क्लबबाट उपलब्ध हुने हरेक एक ग्राम भनेको कालो बजारमा विक्री हुने एक ग्राम कम हो।
उनी थप्छन्: “त्यसैले यो सबैले जित्ने स्थिति हो।”
यी ठाउँहरू प्रख्यात आम्सटर्डम शैलीका गाँजा कफी पसल जस्ता हुने छैनन्।
नेदरल्यान्ड्समा यस्ता कफीपसलबारे चर्को बहस हुने गरेका छन्।
जर्मनीका गैरनाफामुखी क्लबहरू जर्मनीमा नै बसोबास गर्नेहरू लक्षित हुनेछ।
त्यसले रमाइलो गर्न ठूलो सङ्ख्यामा गाँजा खानेको लहर रोक्न मद्दत गर्नेछ।
कानुनमा कैयौँ जटिल व्यवस्था छन्।
त्यसले राजनीतिक विवाद निम्त्याएपछि सुरुमा सोचिएको भन्दा फरक व्यवस्था हुन गइरहेको छ।
संसद्ले दुवै पक्षमा बहस गर्नेहरूलाई असन्तुष्ट पारेको छ।
एप्रिल १ जर्मनीमा “अस्तव्यस्त चरण” को सुरुवात पनि हुन सक्ने चेतावनीहरू प्रकट भएका छन्।

जर्मन प्रहरी यूनियन गेवेर्कसाफ्ट डेर पोलित्जाई (जीडीपी)का एलेक्जेन्डर पोइट्ज भन्छन्: “यस्तो व्यवस्थाले कालो बजार झन् बलियो बनाउने हामी ठान्छौँ।”
उनको विश्वास छ: “मागचाहिँ कानुनी मान्यताले दिने आपूर्ति भन्दा बढी हुनेछ। किनभने घरमा गाँजा लगाउनु भनेको त्यसको देखभाल गरेर महिनौँ लगाएर मात्र गाँजा उपलब्ध हुनु हो।”
दीर्घकालमा आपराधिक सञ्जालहरू त्यसप्रति अभ्यस्त हुँदै जानेछन् र सोसल क्लबहरूमा “पस्नेछन्”। यो व्यवस्थापन गर्नु असाध्यै ठूलो काम हुनेछ।
बच्चाहरूको खेल्ने चौर, विद्यालय र खेल केन्द्रको १०० मिटर वरपरसम्म गाँजा खान पाइने छैन।
व्यस्त र भिडभाडयुक्त सहरमा गाँजा खान मात्र पाइने स्थान बनाउनुपर्ने हुन सक्छ।
प्रहरीले उपभोक्ता र विक्रेता भनेर छुट्याउन पनि मुस्किल पर्न सक्छ।
किनभने एक जनाले सार्वजनिक स्थानमा जाँदा २५ ग्राम सम्म गाँजा साथमा राख्न पाउने भनिएको छ र त्यो दर्जनौँ पटक गाँजा खान सकिने मात्रा हो।
गाँजाको लत बस्न सक्ने र मानसिक स्वास्थ्यलाई पनि नराम्रो असर पार्ने भन्ने स्ट्यान्डिङ कमिटी अफ युरोपिअन डक्टर्स (सीपीएमई)को भनाइ छ।
सीपीएमईका उपसभापति प्राध्यापक रे वाले भन्छन्, “नयाँ व्यवस्थाले खासगरी युवाहरूमा स्वास्थ्य सम्बन्धी हानी बढाउन सक्छ।”
१८ वर्ष मुनिका व्यक्तिले खान नपाउने व्यवस्था भएकाले त्यो उमेर समूहका मानिसहरू लागु औषध डिलरहरूमाथि नै भर पर्ने छन्।

गाँजालाई वैध बनाउँदा हुने फाइदा र बेफाइदाबारे बहस गरिरहेका मुलुकहरूको लामो सूचिमा जर्मनी समेत छ।
जर्मन सरकारले सन् २०२१ मा गरेको एक सर्वेक्षणमा १०.७% पुरुष र ६.८% महिलाले गत १२ महिनामा कम्तीमा एक पटक गाँजा प्रयोग गरेको पाइएको उल्लेख गरेको छ।

तस्बिर स्रोत, Reuters
त्यो अधिकांश १८ देखि २४ वर्ष उमेरका मानिसहरूले प्रयोग गरेको पाइएको छ।
मासट्रिच्ट विश्वविद्यालयमा क्रिमिनल ल एन्ड क्रिमिनोलोजीका सहायक प्राध्यापक डा रोबिन हफम्यान भन्छन्, “कालो बजार समाप्त पार्न र युवाहरूलाई जोगाउन गरिएको प्रयत्न सफल भएको देखिन्न।”
गाँजा विभिन्न व्यवस्था गरेर वैध बनाइएका क्यानडा र उरुग्वेजस्ता मुलुकमा समेत कालो बजार नियन्त्रण गर्ने लक्ष “पूर्ण रूपमा हात लागेको छैन।”
“यो तेज गतिको दौड हैन कि सुस्त गतिको म्याराथन हो,” हफम्यान भन्छन्। “यो लामो प्रक्रिया हो।”
जर्मनीमा गाँजाको एक पक्षलाई अपराध नमान्ने भन्ने बहस लामो समयदेखि हुँदै आएको छ। यस बहसमा वामपन्थी र अनुदारवादीबीच मतभेद रहँदै आएको छ।
गाँजा वैध बनाउने भन्ने प्रस्ताव सन् २०२१ मा अगाडि सारिएको हो जतिखेर पूर्वचान्सलर एङ्गेला मर्कलको वर्षौँ लामो शासनपछि तीन सत्तारुढ पार्टीहरू आफ्नो गठबन्धन सरकार बनाउँदै थिए।
मर्कलले नेतृत्व गरेको द क्रिस्टियन डेमोक्रेटिक युनियन पार्टीले आगामी निर्वाचनमा यदि उक्त पार्टीले जितेमा अहिले भएको परिवर्तन उल्ट्याउने प्रतिबद्धता व्यक्त गरिसकेको छ।
मार्सल रित्सेललाई उनले लामो समयदेखि चलाउँदै आएको अभियानको परिणाम एक दशक पनि नटिक्न सक्छ भन्ने थाहा छ।
उनी भन्छन्: “हुनसक्छ हामीसँग दुई वर्षको समय छ, अनि त्यसपछि सबै समाप्त हुनेछ।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








