तराई-मधेशमा किन चल्छ शीतलहर, के छ अहिलेको अवस्था

जनकपुर

तस्बिर स्रोत, RSS

    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली

तराई-मधेशका जिल्लामा केही दिनयता चलिरहेको शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको छ।

शीतलहरसँगै खासगरी घरबाहिरका दैनिक कामकाज प्रभावित भएका छन् भने बढी प्रभावित ठाउँका विद्यालयहरूमा पठनपाठन पनि स्थगित भएको छ।

वायुसेवा प्रदायक कम्पनीहरूका अनुसार ती जिल्लामा दिनभरिजसो बाक्लो हुस्सु लाग्दा हवाई उडान समेत प्रभावित हुँदै आएको छ।

मौसमविद्‌ के भन्छन्?

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पूर्वी, पश्चिमी र मध्य तराईमा शीतलहरको प्रभाव देखिएको छ।

“सबैभन्दा बढी प्रभाव मध्य तराई (चितवन, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा) मा देखिएको छ,” महाशाखास्थित मौसमविद्‌ विनु महर्जनले बीबीसीसँग भनिन्।

उनका अनुसार नेपालको तराईमा सामान्यतया डिसेम्बरदेखि फेब्रुअरीको अवधिमा शीतलहर चल्ने गरेको छ।

“हामीकहाँ तुलनात्मक रूपमा ज्यानुअरी महिनामा चाहिँ अलि बढी शीतलहर चल्ने गरेको पाइन्छ,” महर्जनले भनिन्।

आगो ताप्दै वीरगन्जको नारायणी अस्पतालमा उपचार गराउन आएका बिरामीका कुरुवाहरू

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, आगो ताप्दै वीरगन्जको नारायणी अस्पतालमा उपचार गराउन आएका बिरामीका कुरुवाहरू

तराईमै किन चल्छ शीतलहर?

जाडोयाममा पहाडी भेगमा कुहिरो लाग्छ, चिसो हुन्छ र सिरेटो पनि चल्छ। हिमाली र उच्च पहाडी भेगमा हिमपात हुन्छ।

तर तराईमा बाक्लो कुहिरो लाग्नुका साथै शीतलहर पनि चल्ने गरेको छ। नेपालसँग सीमा जोडिएको भारतका उत्तर प्रदेश र बिहार राज्यमा पनि त्यस्तै हुन्छ।

त्यसो हुनुमा तराई-मधेश क्षेत्रको भौगोलिक अवस्थिति र ‘रेडिएशनल कुलिङ’ भन्ने प्रक्रियाबीचको सम्बन्ध रहेको विज्ञहरू बताउँछन्।

“सूर्यको प्रकाशले दिनभरि जमिन तात्ने अनि फेरि त्यो वायुमण्डलमा फर्किने प्रक्रिया पहाड र समथर भूभागमा फरक हुने गर्छ,” जल तथा मौसम विज्ञान विभागको जलवायु शाखा प्रमुख इन्दिरा कँडेलले बीबीसीसँग भनिन्।

“त्यस कारणले गर्दा हिमाल-पहाड र तराईबीच उक्त मौसमी भिन्नता देखिने गरेको हो।”

मौसमविद्‌ विनु महर्जन पनि पहाडको भूबनोटका कारण त्यहाँ तराईमा जस्तो शीतलहर नचल्ने गरेको बताउँछिन्।

“शीतलहर चल्नलाई एकरूपको जमिन चाहिन्छ। पहाडी भूभागमा त कतै उपत्यका हुन्छन्, कतै डाँडाकाँडा हुन्छन्,” उनले भनिन्।

जलेश्वर

तस्बिर स्रोत, RSS

अहिले शीतलहरको प्रभाव कस्तो?

तराईमा यसपालि शीतलहरबाट केही व्यक्तिको ज्यान गइसकेको विवरण सञ्चारमाध्यममा आएको छ। तर अधिकारीहरूले त्यसको पुष्टि गर्न सकेनन्।

शीतलहरका कारण जनजीवन प्रभावित भइरहँदा आवश्यक कदम चाल्न निर्देशन दिइसकिएको सङ्घीय सरकारका अधिकारीहरूले बताएका छन्।

“जिल्ला विपद्‌ व्यवस्थापन समितिले निर्णय गर्ने तथा स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर आवश्यक कदम चाल्न निर्देशन दिएका छौँ,” गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बीबीसीसँग भने।

“त्यसअन्तर्गत आवश्यकताअनुसार दाउरादेखि लिएर न्यायो कपडा वितरण र अस्पतालहरूमा थप जनशक्ति पठाउनेसम्मका निर्णय उहाँहरूले गर्न सक्नुहुन्छ।”

हिउँदे वर्षा
तस्बिरको क्याप्शन, यो वर्ष हिउँदे वर्षा हुन सकेको छैन

अर्कोतर्फ मधेश प्रदेश सरकारले शीतलहर प्रभावितका लागि ठोस कदम चाल्न नसकेको सर्वसाधारणले गुनासो गरेका छन्।

“दाउरा विवरण अथवा त्यस्तो अरू काम नै त भइसकेको छैन। एक हजार कम्बल चाहिँ खरिद गरी अतिविपन्नलाई बाँड्ने कुरा चाहिँ भएको छ,” मधेश प्रदेशको गृह तथा सञ्चार मन्त्रालयका सूचना अधिकारी नाजो राम भगतले बीबीसीसँग भने।

उनका अनुसार कम्बल खरिद गर्ने विषयमा शुक्रवार अन्तिम निर्णय हुन सक्छ।