हिउँदे वर्षा सुरु हुन 'ढिलो भइसक्यो', कहिले पर्ला पानी

तस्बिर स्रोत, RSS
यस वर्ष हिउँदमा सरदरभन्दा कम वर्षा हुने आकलन भइरहँदा शनिवार (पुस ९) यो यामको पहिलो उल्लेख्य वर्षा हुने पूर्वानुमान गरिएको जलवायु अधिकारीहरूले बताएका छन्।
बिहीवार र शुक्रवार देशका पहाडी भूभागमा आंशिक बदली देखा परेको अवस्थामा मौसमविद्हरूले सप्ताहान्तमा वर्षाको सम्भावना रहेको औँल्याएका हुन्।
"शनिवार प्रदेश नम्बर १, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षा हुने पूर्वानुमान छ," जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्दकुमार झा भन्छन्।
"त्यस दिन हिमाली भागमा केही हिमपातको समेत सम्भावना देखिन्छ।"
नेपालमा हिउँदमा वर्षभरि हुने वर्षाको औसत ४ प्रतिशत जति पानी पर्ने गरेको छ।
बाँकी झन्डै ८० प्रतिशत वर्षा मनसुनमा, १२ प्रतिशत प्री-मनसुनमा, र ५ प्रतिशत जति पोस्ट-मनसुनमा हुने गरेको मौसम विभागका अधिकारीहरू बताउँछन्।

तस्बिर स्रोत, RSS
हिउँदे वर्षाको प्रवृत्ति कस्तो छ?

तस्बिर स्रोत, RSS

तस्बिर स्रोत, RSS
पश्चिमी वायुले सिर्जना गर्ने भएकाले प्रारम्भिक हिउँदे वर्षा पश्चिमी भूभागमा उच्च हुने गरेको पाइन्छ।
"पश्चिमी वायु माथिल्लो वायुमण्डलको प्रणाली भएकाले वर्षासमेत उच्च पहाडी भूभागमा धेरै हुने गर्छ जबकि मनसुनी प्रणालीमा त्यो उल्टो हुन्छ," जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले भनिन्।
मनसुनी प्रणाली चलायमान हुने समयमा उल्लेख्य फेरबदल देखा परिरहेको र त्यो बाहिरिने समय लम्बिरहेको विज्ञहरू बताउँछन। तर हिउँदे वर्षाको हकमा भने त्यसरी नहेरिएको अधिकारीहरू बताउँछन्।

इन्दिरा कँडेलका अनुसार नेपालमा पछिल्ला केही वर्षमा हिउँदे वर्षा एकनासको देखिएको छैन।
"गत वर्ष हिउँदमा सरदरभन्दा उच्च वर्षा भएको थियो भने त्यसअघिको वर्ष सरदरभन्दा कम थियो । यो वर्ष सरदरभन्दा कम हुने हाम्रो प्रक्षेपण छ," कँडेलले भनिन्।
"मनसुनजस्तो लामो समय नरहने प्रणाली भएकाले हिउँदे वर्षाबारे त्यति धेरै अध्ययनहरू भएका छैनन्।"
विगत झन्डै एक दशकमा पाँचवटा वर्षका हिउँदमा मात्र नेपालमा सरदरभन्दा धेरै वर्षा भएको विवरण छ।
विभागकै मौसमविद् गोविन्दकुमार झाले हिउँदे वर्षा सुरु हुन गत वर्षको तुलनामा ढिलो भइसकेको बताउँछन्।
"पूर्वी नेपालका थोरै केही ठाउँमा केही दिनअघि दुई मिलिमिटरभन्दा कम पानी परेको भए पनि त्यो स्थानीय प्रणालीका कारण हो। यस हिउँदमा व्यापक क्षेत्र समेट्ने गरी पानी परेको छैन," झा भन्छन्।
हिजोआज तराईमा किन धेरै हुस्सु?
सन् १९९० को दशकपछि तराईमा हुस्सु लाग्ने क्रम समेत बढेर गएको देखिने विज्ञहरू बताउँछन्।
"तापक्रमका प्रवृत्ति हेर्दा तराईका जिल्लामा भने दिउँसोमा हुने अधिकतम तापक्रम हिउँदमा घटेको देखिन्छ," कँडेल भन्छिन्।
"त्यो भनेको त्यहाँ दिउँसो पनि घाम लागेको छैन र हुस्सु बढिरहेको पाइन्छ।"
तर यस वर्षको हिउँद कति समय रहन्छ भन्ने अवधिको आकलन गरेर निकालिएको जल तथा मौसम विज्ञान विभागको बुलेटिनमा नेपालभरि अधिकतम तापक्रम सरदरभन्दा बढी हुने जनाइएको थियो।
पछिल्ला हिउँदे वर्षाको समग्र प्रवृत्ति हेर्दा पश्चिम नेपालमा पानी पर्ने क्रम घट्दो र अधिकतम तापक्रम बढ्दो देखिएको कँडेल बताउँछिन्।
विसं २०६२ सालमा हिउँदमा निकै कम अर्थात् औसत ७.१ मिलिमिटर पानी परेको सरकारी विवरण छ।
नेपालमा विगत ३० वर्षमा भएको हिउँदे वर्षाको औसतलाई आधार मानेर प्रत्येक वर्ष जाडो याममा हुने वर्षालाई तुलना गरिन्छ।
जसअनुसार झन्डै ६० मिलिमिटर वर्षालाई हिउँदमा सरदर वर्षा मानिन्छ।

तस्बिर स्रोत, RSS
हिउँदे वर्षा ढिलो हुँदा बालीमा कस्तो प्रभाव?
अहिले नेपालमा धेरैतिर हुने गहुँबालीका लागि हिउँदे वर्षा महत्त्वपूर्ण हुने बालीविज्ञहरू बताउँछन्।
कोसेबालीका हकमा भने फूल तयार हुने बेला वर्षा भएमा कतिपय बालीलाई असर पर्न सक्ने बताइन्छ।
पानी लामो समय परेर निकास हुन नसकेको खण्डमा तराईमा पानीको भार सहन गर्न नसक्ने मुसुरोजस्तो बिरुवा ओइलाउने समस्या हुने भएकाले त्यसको मात्रा र समय महत्त्वपूर्ण हुने विज्ञहरूको भनाइ पाइन्छ।
आलुको दाना लाग्न लागेको अवस्थामा पानी धेरै छ भने त्यसमा ढुसीजन्य रोगको समस्या हुनसक्छ।











