पाकिस्तानमा विद्रोहीहरूले रेलबाट नियन्त्रणमा लिएका '१९० यात्रुको उद्धार', कम्तीमा '२७ लडाकु मारिए'

तस्बिर स्रोत, EPA
पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र लडाकुहरूले एउटा यात्रुवाहक रेलमा आक्रमण गरी बन्धक बनाएकामध्ये कम्तीमा १९० जना मुक्त भएको सुरक्षा अधिकारीहरूले बताएका छन्।
सैन्य अधिकारीहरूका अनुसार सुरक्षाकर्मीहरूले गरेको कारबाहीमा कम्तीमा २७ लडाकुको मृत्यु भएको छ। यद्यपि बीबीसीले उक्त सूचना स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।
बलोच लिबरेशन आर्मी (बीएलए) का लडाकुहरूले मङ्गलवार क्वेटाबाट पेशावर जान लागेको जफर एक्स्प्रेस रेलमा गोली प्रहार गर्दै यात्रुहरूलाई आफ्नो नियन्त्रणमा लिएका थिए। उक्त रेलमा ४०० जनाभन्दा बढी यात्रु चढेको बताइएको छ।
उक्त पृथक्तावादी समूहले रेलमा धावा बोल्नुअघि पहाडी भेगमा अवस्थित सिबी जिल्लामा रेलको पटरीमा आफूले बम आक्रमण गरेको र रेल नियन्त्रणमा लिएको दाबी गरेको थियो।
उद्धार हुनेहरूमध्ये केही व्यक्ति घाइते छन्। उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
बन्धकहरूलाई मुक्त गर्न सुरक्षा कारबाही जारी छ। सो अभियानमा सयौँ सुरक्षाकर्मीहरू परिचालित छन्। उनीहरूले हेलिकप्टर पनि प्रयोग गरेका छन्।

तस्बिर स्रोत, Reuters
रेलमा अब कति बन्धक बाँकी छन् भन्ने स्पष्ट छैन। सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै केही सञ्चारमाध्यमले उक्त रेलबाट केही लडाकुहरू बाहिर गइसकेको विवरण प्रकाशित गरेका छन्।
पाकिस्तानी सेनाका एक वरिष्ठ अधिकारीले बीबीसीसँग कुरा गर्दै उक्त रेलमा १०० भन्दा बढी सैनिक चढेको पुष्टि गरेका छन्।
उक्त क्षेत्रमा रेलसेवा स्थगित गरिएको छ।
बीबीसीले क्वेटामा बुधवार काठका सयौँ शवपेटिका लगिएको देखेको छ। रेल्वेका एक अधिकारीका अनुसार ती शवपेटिका खाली छन् तर आक्रमणका बेला र कारबाहीका बेला मानिसहरूको मृत्यु भएको हुन सक्ने सम्भावनालाई ध्यानमा राखी मगाइएको छ।

तस्बिर स्रोत, Reuters
किन भयो आक्रमण?
स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार लडाकुहरूले बलोच राजनीतिक बन्दीहरूलाई ४८ घण्टाभित्र मुक्त गर्नुपर्ने माग राखेका थिए। आफ्नो माग पूरा नभए बन्धकहरूको हत्या गर्ने धम्की उनीहरूले दिएका थिए।
बीएलए पाकिस्तानको सत्तालाई चुनौती दिने विद्रोही सङ्गठन हो।
उक्त समूहले बलोचिस्तानको स्वतन्त्रता माग गर्दै आएको छ।

बलोचिस्तान सरकारका एक प्रवक्ताले मङ्गलवार 'डन' पत्रिकालाई रेलमा "गोली चलेको" विवरण प्राप्त भएको बताएका थिए।
एक वरिष्ठ प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचारसंस्था एएफपीले उक्त रेल पहाडहरूको बीचमा अवस्थित एउटा सुरुङमार्गका अगाडि रोकिएको विवरण प्रकाशित गरेको छ।
गत नोभेम्बर महिनामा क्वेटास्थित रेल्वे स्टेशनको एउटा प्रतीक्षालयमा बम विस्फोट हुँदा एक आत्मघाती आक्रमणकारीसहित २५ जनाको मृत्यु भएको थियो। बीएलएले उक्त घटना आफूले गराएको दाबी गरेको थियो।
अगस्ट महिनामा लडाकुहरूले बलोचिस्तान प्रान्तस्थित एउटा राजमार्गमा बस र ट्रकबाट मानिसहरूलाई बाहिर निकालेर परिचयपत्र जाँच्दै गोली हानेको विवरण आएको थियो। उक्त घटनामा कम्तीमा ३९ जनाको ज्यान गएको थियो।
बीएलएले सर्वसाधारण मानिसको भेषमा यात्रा गरेका सैनिकहरूलाई आफूले निसाना बनाएको दाबी गरेको थियो।
बलोचिस्तान लिबरेशन आर्मी के हो?
यूके र अमेरिकालगायत कैयौँ पाश्चात्य देशहरूले यो समूहलाई 'अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठन' मानेका छन्।
सन् १९६४ मा सिरियामा स्थापना भएको बीएलएफ सुरुमा इरानी बलोच विद्रोहमा संलग्न भयो। इरानी बलोचहरूले त्यहाँको सरकारविरुद्ध विद्रोह गरेका थिए।

तस्बिर स्रोत, EPA
पाँच वर्षको द्वन्द्वपछि इरानको शाहविरुद्ध जारी विद्रोह वार्तामार्फत् अन्त्य भयो। लगत्तै अन्य बलोच सङ्गठनहरूसँगै बीएलएफले पनि पाकिस्तान सरकारविरुद्ध गतिविधि गर्न थाल्यो।
यी सङ्गठनहरूले सन् १९७० दशकदेखि अफगानिस्तानमा शरण लिएर गतिविधि गर्दै आइरहेका छन्।
पछिल्ला वर्षहरूमा बीएलएले आक्रमणहरू तीव्र बनाएको छ। उसको निसाना पाकिस्तानी सुरक्षा निकायहरूबाट मोडिएर बलोचिस्तानमा सञ्चालित परियोजनामा कार्यरत चिनियाँ नागरिकहरूप्रति लक्षित हुन थालेको देखिएको छ।
अरू विद्रोही समूहसँग धेरै समानता भए पनि बीएलएफले चाहिँ बलोचिस्तानका ग्यास परियोजनाहरू, पूर्वाधारहरू र सुरक्षा चौकीहरूलाई निसाना बनाउँदै आएको छ।
यो समूहले सन् २०११ देखि पाकिस्तानी सुरक्षा निकाय, विदेशी कामदार, सरकारी मानिसहरू र पत्रकारमाथि आक्रमण गर्दै आएको छ।
मुक्त भएका यात्रुहरू के भन्छन्?

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
बीएलएले मङ्गलवार आफूले बन्धक बनाएका मानिसहरूलाई मुक्त गर्ने प्रयास गरिए "परिणाम गम्भीर हुने" चेतावनी दिएको थियो।
"हामी कसरी भाग्न सफल भयौँ भन्ने कुरा शब्दमा व्यक्त गर्न सक्दिनँ। निकै डर लागेको थियो," मुहम्मद बिलालले एएफपीसँग भने।
अल्लाहदित्ता नामक ४९ वर्षे अर्का यात्रुका अनुसार लडाकुहरूले आफूलाई मुटुरोगी भएको कारण छोडेका थिए। आक्रमणकारीहरू रेलभित्र छिरेपछि यात्रुहरू आत्तिँदै "सीटमुनि लुक्न थालेको" बताए।
रेलबाट मुक्त भएका मुहम्मद अशरफ नामक व्यक्तिले लडाकुहरूले आक्रमण गर्दा केही यात्रुको मृत्यु भएको बताए। "मानिसहरूमाथि पनि आक्रमण भयो। आक्रमणकारीहरूले धेरै ठूलो हानि पुर्याए। यात्रुहरू घाइते भए, केहीको त ज्यानै गयो।"
"गोली चल्दा हामीले सास रोक्यौँ।हामीलाई अब के हुन्छ भन्ने थाहा थिएन," इशक नूरले भने। उनी पत्नी र आफ्ना दुई बच्चासँग यात्रा गर्दै थिए।
उनका अनुसार विस्फोटन निकै ठूलो भएकाले उनको एउटा बच्चा सीटबाट तल खस्यो। आफू र आफ्नी पत्नीले एक-एकवटा बच्चालाई आफ्नो शरीरले छेकेर राखेको उनले बताए।
क्वेटास्थित एक रेल्वे अधिकारीका अनुसार मङ्गलवार ११ बालबालिका र २६ महिलासहित ८० यात्रुहरू रेलबाट ओर्लिएर नजिकै रहेको रेल्वे स्टेशन पुगेका थिए। उनका अनुसार सो समूहमा बलोचिस्तानका बासिन्दाहरू थिए।
उनीहरू घर फर्किएको उनले बताए।
रेल रोकिएको ठाउँमा इन्टरनेट र मोबाइल फोन नचल्ने अधिकारीहरूले बताएका छन्।

तस्बिर स्रोत, AMI KHAN/EPA-EFE/REX/Shutterstock
बलोचिस्तान कहाँ छ?
बलोचिस्तानको सबैभन्दा ठूलो भूभाग दक्षिणपश्चिमी पाकिस्तानमा पर्छ।
यो प्रान्तले पाकिस्तानको कुल भूभागको ४१ प्रतिशत भाग ओगटेको छ। तर देशको २४ करोड जनसङ्ख्यामध्ये यो ठाउँमा जम्मा ६% मानिस मात्रै बसोबास गर्छन्।
यहाँको इतिहास गृहयुद्ध, आतङ्कवाद र मानवाधिकार उल्लङ्घनका घटनाहरूका कारण धूमिल छ।
बलोचिस्तानको सीमा अस्थिरताको सामना गरिरहेको इरान, तालिबानको नियन्त्रण रहेको अफगानिस्तानसँगै अरब सागरको तटीय क्षेत्रसँग पनि जोडिएको छ।

यो क्षेत्रको नाम यहाँ सयौँ वर्षदेखि बसोबास गर्दै आएका बलोच आदिवासीहरूको नामबाट रहेको हो। बलोचहरू पश्तुनहरूपछि सबैभन्दा धेरै जनसङ्ख्या भएका आदिवासी हुन्। कैयौँ बलोचहरू छिमेकी इरान र अफगानिस्तानका प्रान्तहरूमा पनि बस्दै आएका छन्।
ग्यास र खनिज पदार्थजस्ता प्राकृतिक स्रोतका हिसाबले बलोचिस्तान पाकिस्तानको सबैभन्दा धनी प्रान्त हो। चीनको अनुदानमा बनिरहेको अर्बौँ लगानीको परियोजना 'चाइना पाकिस्तान ईकोनमिक कोरिडोर' पनि यही क्षेत्रमा छ।
यो परियोजना चिनियाँ राष्ट्रपति सी जिन्पिङले अघि सारेको 'बेल्ट एन्ड रोड इनिशटिभ'को एक अङ्ग हो। यसअन्तर्गत ओमानको खाडीनजिक ग्वादरमा बन्ने बन्दरगाह महत्त्वपूर्ण 'चेकपोइन्ट' बन्ने ठानिएको छ।

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
यो प्रान्तमा चीनले पनि खानीसम्बन्धी परियोजनाहरू सञ्चालन गरिरहेको छ।
साथै ग्वादरमा चीनले बनाउँदै गरेको अन्तर्राष्ट्रिय विमानस्थलको पाकिस्तानका विद्रोही समूहहरूले खरो विरोध गर्दै आएका छन्।
बलोचिस्तानमा बन्दै गरेको तामा र सुनका लागि विश्वकै सबैभन्दा ठूलो खानी हुने भनिएको 'रेको डिग'मा क्यानडाको खानी सञ्चालन गर्ने कम्पनी 'ब्यारक गोल्ड'को ५० प्रतिशत स्वामित्व छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








