पाकिस्तानको एक रेल स्टेसनमा भएको विस्फोटनमा कम्तीमा २५ को मृत्यु

पाकिस्तान वम विस्फोटन

तस्बिर स्रोत, EPA

पश्चिमी पाकिस्तानको एक रेल प्रतिक्षालयमा भएको बम विस्फोटमा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै दर्जनौँ व्यक्तिहरू घाइते भएको अधिकारीहरूले बताएका छन्।

बलोचिस्तानको राजधानी क्वेटामा शनिवार बिहानमानिसहरू रेल चढ्न प्रतीक्षा गरिरहेको बेला विस्फोट भएको थियो। क्वेटाबाट पेशावर छुट्ने रेल त्यहाँ निकै लोकप्रिय छ।

बलोचिस्तान लिबरेसन आर्मी नामको लडाकु समूहले विस्फोटको जिम्मा लिएको छ। प्रहरीले उक्त हमला आत्मघाती रहेको जनाएको छ।

स्थानीय स्रोतहरूमाथि नियन्त्रण र स्वतन्त्रताको माग गर्दै पछिल्लो समय उक्त प्रान्तमा घातक आक्रमणका घटनाहरूमा वृद्धि भएका छन्।

उक्त सहरका कमिसनरले आत्मघाती आक्रमणकारी सहित कम्तीमा २५ जना मारिनुका साथै अन्य झण्डै ५० जना घाइते भएको बताएका छन्।

वरिष्ठ प्रहरी अधिकारी मोहम्मद बलोचले आत्मघाती आक्रमणकारीले ६ देखि ८ किलोग्रामसम्मको विस्फोटक पदार्थ प्रयोग गरेको हुनसक्ने ठानिएको बताए। उनका अनुसार मारिनेमा सर्वसाधारण र सैनिकहरू दुवै छन्।

'कहालीलाग्दो' घटना

सामाजिक सञ्जालमा देखा परेका विस्फोटको समयका भिडिओहरूमा रेल स्टेसनमा दर्जनौँ मानिसहरू देखिएका छन्।

घटना लगत्तैको दृश्य पनि सामाजिक सञ्जालमा फैलिएको छ। जसमा घाइते अवस्थामा रहेका कैयौँ मानिसहरू र विस्फोटको भग्नावशेष रेल स्टेसनमा छरिएको देखिन्छ। रेल स्टेसनको एकापट्टिको छानो आधा खसेको भिडिओमा देखिन्छ।

विस्फोटपछिको दृश्य

तस्बिर स्रोत, AFP

अब्दुल जबर उक्त घटनापछि घाइतेका रूपमा अस्पताल पुर्‍याइनेमा एक हुन्। उनी टिकट लिएर स्टेसन पुग्ने बित्तिकै उक्त विस्फोटन भएको थियो।

"मैले आज सामना गरेको कहालीलाग्दो अवस्था व्याख्या गर्न सक्दिनँ, त्यो संसार सकिएको दिन आएजस्तो थियो," उनले भने।

मोहम्मद सोहाइल भने मुल्तान जाने रेल चढ्नका लागि विस्फोटन लगत्तै पुगेका थिए।

"स्टेसनमा सब थोक नष्ट भयो र भुईँमा लडेका मानिसहरू सहायताका लागि चिच्याइरहेका थिए," उनले भने।

घटनाबारे कसले के भने?

घटनामा दर्जनौँ घाइते छन्।

हमलाको जिम्मेवारी लिएको पृथकतावादी लडाकु समूह बलोच लिबरेसन आर्मीले सामाजिक सञ्जालमा एक विज्ञप्ति सार्वजनिक गर्दै सो हमला तालिम पूरा गरेर क्वेटाबाट फर्कँदै गरेको एक सैन्य एकाइप्रति लक्षित भएको जनाएको छ।

बलोचिस्तानका मुख्यमन्त्रीले घटनाको निन्दा गर्दै दोषीहरू "जनावरभन्दा पनि खराब" भएको टिप्पणी गरेका छन्। उनले अधिकारीहरूले हमलाकारीहरूलाई नछाडिने बताएका छन्।

पाकिस्तानी संसदका सभामुख सरदार अयाज सदिकले विस्फोटनको निन्दा गर्दै हमलाकारीहरू "मानवताका शत्रु" रहेको बताएका छन्।

बलोचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो। प्राकृतिक स्रोतका हिसाबले सबैभन्दा धनी भए पनि त्यो सबैभन्दा कम विकसित प्रान्तको रूपमा छ।

उक्त क्षेत्रको इरान र तालिबान नियन्त्रित अफगानिस्तानसँगको अस्थिर सीमा छ। अरब सागरतर्फ समेत बलोचिस्तानको लामो तटीय क्षेत्र छ।

बलोचिस्तान लिबरेशन आर्मी कस्तो सङ्गठन हो?

बीएलए पाकिस्तानको सत्तालाई चुनौती दिने विद्रोही सङ्गठन हो। यूके र अमेरिकालगायत कैयौँ पश्चिमा देशहरूले यो समूहलाई ‘अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठन’ मानेका छन्।

पछिल्ला वर्षहरूमा बीएलएले आक्रमणहरू तीव्र बनाएको छ। उसको निसाना पाकिस्तानी सुरक्षा निकायहरूबाट मोडिएर बलोचिस्तानमा सञ्चालित परियोजनामा कार्यरत चिनियाँ नागरिकहरूप्रति लक्षित हुन थालेको देखिएको छ।

अरू विद्रोही समूहसँग धेरै समानता भए पनि बीएलएफले चाहिँ बलोचिस्तानका ग्यास परियोजनाहरू, पूर्वाधारहरू र सुरक्षा चौकीहरूलाई निसाना बनाउँदै आएको छ।

यो समूहले सन् २०११ देखि पाकिस्तानी सुरक्षा निकाय, विदेशी कामदार, सरकारी मानिसहरू र पत्रकारमाथि आक्रमण गर्दै आएको छ।

सन् १९६४ मा सिरियामा स्थापना भएको बीएलएफ सुरुमा इरानी बलोच विद्रोहमा संलग्न भयो।

इरानी बलोचहरूले त्यहाँको सरकारविरुद्ध विद्रोह गरेका थिए।

पाँच वर्षको द्वन्द्वपछि इरानको शाहविरुद्ध जारी विद्रोह वार्तामार्फत् अन्त्य भयो।

लगत्तै अन्य बलोच सङ्गठनहरूसँगै बीएलएफ पनि पाकिस्तान सरकारविरुद्ध उत्रियो।

यी सङ्गठनहरूले सन् १९७० दशकदेखि अफगानिस्तानमा शरण लिएर गतिविधि गर्दै आइरहेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।