आइसल्यान्डमा ज्वालामुखी विस्फोटपछि निस्केको लाभाबाट नजिकको बस्तीमा आगलागी

आइसल्यान्ड ज्वालामुखी विस्फोटन

तस्बिर स्रोत, Reuters

    • Author, रूथ कमरफर्ड
    • Role, बीबीसी न्यूज

आइसल्यान्डको ग्रिन्डाभिक नगरनजिकै दुईवटा ज्वालामुखी विस्फोटपछि दरारहरूबाट निस्केको लाभाका कारण त्यहाँका घरहरू आगलागीमा परेका छन्। रेक्यानेस प्रायःद्वीपमा आइतवार बिहान सबेरै ज्वालामुखी विस्फोट हुँदा त्यसको लाभा बगेर उक्त नगरमा पुगेको थियो।

एकजना ज्वालामुखीविज्ञले उक्त विस्फोटनले विस्तारै “खराब अवस्थाको सिर्जना” गर्न लागेको बताएका छन्। उक्त नगरका सम्पूर्ण बासिन्दालाई अन्यत्र स्थानान्तरण गरिएको छ।

गत डिसेम्बर महिनामा भएको विस्फोटनपछि निर्माण गरिएका प्रतिरक्षात्मक छेकबारहरूले अहिले लाभालाई आंशिक रूपमा रोक्न त सकेका छन् तर केही स्थानमा लाभा रोकिएको छैन।

बगिरहेको लाभाका कारण उक्त नगर प्रवेश गर्ने मुख्य सडक अवरुद्ध भएको छ।

आइतवार बेलुकी टेलिभिजनमार्फत् जनतालाई प्रत्यक्ष सम्बोधन गर्दै आइसल्यान्डका राष्ट्रपति गुन्डि जोहानेसनले मानिसहरूलाई “एकअर्काका साथ उभिन र आफ्नो घर गुमाउन पुगेकाहरूप्रति सहानुभुति व्यक्त गर्न” आग्रह गरेका छन्।

'जुनसुकै बेला जे पनि हुन सक्ने'

राष्ट्रपति जोहानेसनले अवस्था विस्तारै सामान्य हुने आशा गरेका छन्। तर “जुनसुकै बेला जे पनि हुन सक्ने” पनि उनले बताएका एएफपी समाचार एजेन्सीले उल्लेख गरेको छ।

गत डिसेम्बर महिनामा विस्फोटनअघि त्यहाँको स्भारत्सेन्गी ज्वालामुखी प्रणालीमा कडा भूकम्पीय कम्पनहरू अनुभव गरिएका थिए।

त्यसको केही हप्तापछि उक्त ज्वालामुखीवरिपरि ठूला पर्खालहरू बनाएर विस्फोटनबाट निस्कने लाभालाई चार हजार मानिसहरूको बसोबास रहेको ग्रिन्डाभिकबाट पर मोड्ने प्रयास गरिएको थियो।

आइसल्यान्डको मीटिअरलोजिकल कार्यालयका अनुसार ज्वालामुखीको दरारबाट निस्केको लाभाले केही स्थानमा त्यसरी बनाइएका पर्खालहरू भत्काएर अगाडि बढेको छ। त्यस्तो लाभा बगेर नगरमा पुग्दा त्यहाँका घरहरूमा आगो लागेको थियो।

आइसल्यान्डमा ज्वालामुखी विस्फोटन

तस्बिर स्रोत, Reuters

घर छाड्न बाध्य

यसअघिको विस्फोटनपछि आइसल्यान्डको दक्षिण पश्चिममा अवस्थित उक्त ग्रिन्डाभिक नगरका मानिसहरू फेरि पनि आआफ्नो घर छाड्न बाध्य भएका छन्।

एकजना विज्ञान पत्रकार र ज्वालामुखीविज्ञ रोबिन एन्ड्र्यूजका अनुसार लाभा बगेर अब नगरमा प्रवेश गरेकोले जारी ज्वालामुखी विस्फोटनले त्यहाँको अवस्था “एकदमै डरलाग्दो र क्षतिकारक” हुन पुगेको छ।

बीबीसीसँग बोल्दै उनले हालका दुईवटा दरारबाट लाभा बेस्सरी बाहिर निस्कने प्रक्रिया “बिस्तारै कम हुने सङ्केत” पटक्कै नदेखिएको सङ्केत गरेका छन्।

आइसल्यान्डमा विपद् सतर्कताको चेतावनीलाई “आपत्कालीन” तहमा बढाइएको छ। त्यो भनेको तीन तहको चेतावनीका प्रकारमध्ये सबैभन्दा उच्च हो। त्यसले मानिसहरू, समुदाय, सम्पत्ति र वातावरणमा ठूलो क्षति पुग्न सक्ने जोखिमको तहलाई जनाउँछ।

आइतवारको ज्वालामुखी विस्फोटन सन् २०२१ यता रेक्यानेस प्रायःद्वीपमा भएको पाँचौँ विस्फोटन हो।

आइसल्यान्डमा ३३ वटा सक्रिय ज्वालामुखी प्रणालीहरू छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।