जनमत पार्टीका तीनजना सांसदले शपथ लिएको 'मधेशी भाषा' के हो?

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूमध्ये दुई दर्जनभन्दा बढीले १३ भाषामा शपथ लिएको संसद् सचिवालयले जनाएको छ।

मातृभाषामा शपथ लिन पाउने संवैधानिक अधिकारको उपयोग गर्दै कतिपय सांसदले आफ्नै भाषामा शपथ लिए।

नेपालीबाहेक मैथिली, भोजपुरी, तामाङ, थारू, उर्दू, कोयू, नेपाल भाषा, नेपाली खस, अवधी, मधेशी, सन्थाल र संस्कृत भाषामा सांसदहरूले शपथ लिएका छन्।

सीके राउत नेतृत्वको जनमत पार्टीका तीनजना सांसदले नेपालमा यसअघि चर्चा नभएको मधेशी भाषामा शपथ लिए।

मधेशी भाषा के हो भन्ने जिज्ञासामा उक्त पार्टीकी सांसद अनिता देवी साहले भनिन्- “मधेशी भाषालाई हाम्रोमा फरक भाषाको रूपमा नछुट्ट्याएको भए पनि मधेशका २२ जिल्लामा सबैभन्दा बढी बोलिने मधेशी भाषा नै हो।“

“मधेशमा बोलिने नेपाली, मैथिली, भोजपुरीदेखि सबै भाषा मिसिएर बनेको जुन बोलीचालीको भाषा छ त्यसैलाई मधेशी भाषा मानेर हामीले शपथ लियौँ,” उनले भनिन्।

'मधेशी भन्ने कुनै भाषा छैन'

पूर्वसंविधानसभा सदस्य समेत रहेका मधेशमा बोलिने भाषाहरूबारे अध्ययन गरेका भोजपुरी भाषाका व्याकरणविद् गोपाल ठाकुर मधेशी भन्ने कुनै भाषा नभएको बताउँछन्।

“मैले झापादेखि कञ्चनपुरसम्म पुगेर भाषाहरूको अध्ययन गरेको छु। मधेशी भन्ने कुनै भाषा छैन,” उनले भने।

“तर राजनीतिले चाह्यो भने मधेशी भाषा हुन पनि सक्छ। किनभने नेपाली भन्ने पनि कुनै भाषा थिएन। गोर्खा भाषा थियो जसलाई नेपाली नाम दिइयो।”

जनमत पार्टीका नेताहरूले दाबी गरे जस्तो मधेशमा बोलिने भाषाहरूको साझा भाषा हुने आफूलाई जानकारी नभएको ठाकुर बताउँछन्।

संस्कृतिविद् उमाशङ्कर द्विवेदी मधेशमा बोलीले अलगअलग भाषाहरूको कुनै साझा भाषा नहुने बताउँछन्।

“नेपालीसहित मधेशमा बोलीले मैथिली, भोजपुरी सबै भारोपेली परिवारबाट आएका भए पनि यी अलगअलग व्याकरण र शब्दभण्डार भएका भाषा हुन्। सबै मिलाएर एउटै बनाउने भन्ने हुँदैन,” उनले भने।

हिन्दीसमेत मधेशमा सम्पर्क भाषाको रूपमा प्रयोग नहुने द्विवेदी बताउँछन्।

संस्कृतमा शपथ

संस्कृत भाषामा शपथ लिएका स्वतन्त्र सांसद किरणकुमार साहलाई सांसदहरूका लागि आयोजित चियापानमा एमालेका सांसद रघुजी पन्तले भारतीय लोकसभामा सुषमा स्वराजले संस्कृत भाषामा शपथ लिएको उदाहरण सुनाउँदै थिए।

“मैले हिन्दू सनातन धर्ममा ध्यान दिने भएकाले संस्कृतका पुस्तकहरू पढ्ने गरेको छु। यहाँ संस्कृत हराउँदै गएको छ। संस्कृतिलाई जगेर्ना गर्नका लागि संस्कृतमा शपथ लिएको हुँ,” साहले बीबीसी न्यूज नेपालीसँग भने।

सात कक्षासम्म संस्कृत पढेका उनले त्यसयता भने संस्कृतको औपचारिक शिक्षा लिएका छैनन्।

मातृभाषामा शपथ लिन सांसदहरूलाई तीन दिनअघि जानकारी गराउन भनिएको थियो। तर जानकारी ढिलो पाएकाले आफूले चाहेर पनि खस आर्य भाषामा शपथ लिन नपाएको रास्वपाकी विनिता कठायतले बताइन्।

तर मातृभाषामा शपथ लिन आफूलाई भने संसद् सचिवालयले सहयोग नै गरेको अर्की सांसद् कल्पना चौधरीले बताइन्।

“मलाई एकदमै गर्व महसुस भयो। थारू कोटाबाट म माननीय भएको छु भने मेरो पनि त दायित्व हो नि थारू भाषा, भेषभूषा र संस्कृतिको जगेर्ना गर्न,” उनले भनिन्।

‘आफ्नो क्लस्टरलाई सम्मान’

संविधानले नेपालमा बसोबास गर्ने विभिन्न समुदायबाट सङ्घीय संसद्‌मा समानुपातिक र समावेशी प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरेको छ।

संविधानको व्यवस्थाअनुसार समानुपातिक प्रणालीबाट निर्वाचित भएका कतिपयले आफू निर्वाचित भएको समुदायकै भाषामा शपथ लिएको बताए।

“मलाई आदिवासीको हैसियतले पठाएको छ भने संविधानले दिएको अधिकार प्रयोग गर्नका लागि किराँत राई कोयू भाषामा शपथ लिएको हो,” नवनिर्वाचित सांसद दुर्गा राईले भनिन्। उनले आफू परिवारमा पनि कोयू भाषामा बोल्ने गरेको बताइन्।

मैथिली भाषामै स्नातकोत्तरसमेत गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झा पनि आफू निर्वाचित समुदायको सम्मानका लागि पनि मैथिली भाषामा शपथ लिएको बताउँछन्।

“म मधेशी कोटाबाट समानुपातिक सांसद हुँदै गर्दा मैले आफ्नो क्लस्टरलाई सम्मान गर्नुपर्छ। म त्यो सुविधा लिएपछि त्यसप्रति मेरो सम्मान के त भन्ने कुरा हो,” झाले भने।

“यो देशमै पनि नेपालीपछि सबेभन्दा धेरै बोलीले भाषा भएकोले गर्दा त्यसको अस्तित्व स्वीकार्न पनि अभ्यास गर्नुपर्छ जस्तो लाग्छ।“

माओवादी केन्द्रका सूर्यमान दोङले पनि तामाङ भाषामा शपथ लिए।

“आफ्नो भाषामा शपथ लिन पाउने अधिकार हामीले लडेर ल्याएको हो नि। यसको उपयोग पनि त गर्नुपर्‍यो,” उनले सुनाए।

भाषा आयोगको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा बोलिने भाषाको सङ्ख्या १३१ वटा पहिचान भएका छन्।