भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक

नरेन्द्र मोदी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने लक्ष्यसहित निर्वाचन प्रचारप्रसारमा खटेका छन्
    • Author, शरण्या हृषीकेश र विकास पाण्डे
    • Role, बीबीसी न्यूज, दिल्ली

प्रधानमन्त्री बनेको १० वर्षपछि नरेन्द्र मोदीले पुनः सत्तामा पुग्ने उद्देश्य राखेका छन्। उनी भारतको राजनीतिमा कसरी एक दशकभरि छाइराख्ने मुख्य नेता बन्न सफल भए?

धेरै मतदाता मोदीले सन् २०१४ मा पदभार सम्हालेयता भारतको स्थितिमा सुधार आएको मान्छन्। तर के आफ्नो जीविकाका लागि सङ्घर्ष गर्ने मानिसहरूले यो निर्वाचनमा उनलाई समर्थन गर्लान् त?

शिव जोहरी पटेल वाराणसीको दक्षिणी क्षेत्रमा बस्छन्। यो मोदीको निर्वाचन क्षेत्र हो। साडी बुन्ने काम गर्ने पटेलसँग चिन्ता गर्नुपर्ने धेरै कुरा छन्। तर आफ्नो मत कसले पाउँछ भन्नेबारे उनी स्पष्ट छन्।

"मोदीले धेरै राम्रो काम गरेका छन्। यसअघिका अन्य सरकारले गरिब जनतालाई यति कल्याणकारी सुविधा दिएको हामीले देखेका थिएनौँ," उनी भन्छन्।

पटेल आफ्नो छोराले रोजगारी नपाएको गुनासो गर्छन्। केन्द्र सरकारको कल्याणकारी कोषमार्फत् हुने भुक्तानीमा स्थानीय बिचौलियाले बदमासी गरिदिएको समेत बताउँछन्। तर उनी यसमा प्रधानमन्त्रीलाई दोषी ठान्दैनन्।

"बाँकी भुक्तानी हुन्छ कि हुँदैन भन्ने कुराले मलाई केही फरक पर्दैन। म मोदीलाई नै भोट हाल्छु," उनले बीबीसीसँग भने।

वाराणसीमा अन्तिम चरणमा मतदान हुने छ। विभिन्न चरणमा मतदान सकिएपछि परिणाम जुन ४ मा घोषणा हुने छ।

आमनिर्वाचन भारत
तस्बिरको क्याप्शन, आफू आर्थिक समस्यामा भएपनि पटेललाई मोदीमाथि भरोसा छ

त्रिहत्तर वर्षीय मोदी देश र विदेशमा निकै लोकप्रिय छन्, उनका आलोचक पनि उत्तिकै छन्।

उनका समर्थकहरू मोदीलाई सबल, कुशल र आफ्ना प्रतिबद्धताहरू पूरा गर्ने नेता मान्छन्। आलोचकहरू भने उनको सरकारले केन्द्र सरकारका विभिन्न संस्थाहरूलाई कमजोर बनाएको, भिन्न मत र स्वतन्त्र प्रेसलाई दमन गरेको र अल्पसङ्ख्यक मुस्लिम समुदायलाई खतरा महसुस हुने स्थितिमा पुर्‍याएको आरोप लगाउँछन्।

राजनीतिक विश्लेषक रवीन्द्र रेश्मी भन्छन्, "मोदीका या त कट्टर प्रशंसक छन् या कट्टर आलोचक। कि त तपाईँ उनलाई मन पराउनुहुन्छ कि मन पराउनुहुन्न।"

चुनावअघि भएका मतसर्वेक्षणहरूले मोदीलाई प्रतिद्वन्द्वीहरूको तुलनामा धेरै अगाडि देखाएका छन्। त्यसैले उनको पार्टीले नै आगामी सरकार पनि बनाउने ठानिएको छ। (सर्वेक्षणहरू पहिला पनि गलत भएको देखिएको छ। मतदाताहरूले लोकप्रिय नेतालाई पनि विस्मित पारिदिन सक्छन्।)

मोदीले आफ्नो दल भारतीय जनता पार्टी (भाजपा) लाई लोकसभामा भएका ५४२ सीटमध्ये ३७० जिताउने दुष्कर लक्ष्य राखेका छन्। सन् २०१९ मा भाजपाले ३०३ सीट जितेको थियो। यसको अर्थ भाजपा यसअघि जितेका उत्तरी राज्य पूरै जोगाउनुका साथै परम्परागत रूपमा कठिन ठानिएका दक्षिणी राज्यहरूमा पनि बलियो बन्नुपर्ने छ।

मोदीको नाम बिक्छ

मोदी

तस्बिर स्रोत, Photoshot

तस्बिरको क्याप्शन, भारतमा जताततै मोदीको अनुहार देखिन्छ

मोदीले अत्यधिक बहुमत पाउने लक्ष्य राखेका छन्। भाजपाका लागि मोदी नै सबैभन्दा ठूलो निधि हुन्।

बसबिसौनीमा टाँसिएका चित्र, होर्डिङबोर्ड, पत्रपत्रिकाका विज्ञापन अथवा उनको भाषणको दृष्य देखाउने टेलिभिजनहरू… जताततै उनकै अनुहार छाएको छ।

गत वर्ष भारतले जी-२० शिखर सम्मेलनको आयोजना गरिहँदा राजधानी दिल्ली विश्वनेताहरूलाई स्वागत गरिरहेका मोदीको तस्बिरले छपक्कै बनाइएको थियो। पालैपालो अध्यक्षता गर्ने पद्धतिअनुसार जी-२० को सम्मेलन आयोजना गरिन्छ।

तर मोदीकै प्रयासका कारण सम्मेलन आयोजना भएको हो भने जस्तो भान पर्ने गरी प्रचारप्रसार गरिएको थियो।

"मोदीले उक्त सम्मेलनलाई असाध्यै ठूलो कार्यक्रममा रूपान्तरित गरिदिए। यस्तो सम्मेलन के हो र यसको उपयोग कसरी गर्नुपर्छ भन्ने उनलाई राम्ररी थाहा छ," ब्र्यान्ड निर्माण विशेषज्ञ सन्तोष देसाईले यो वर्षको सुरुमा बीबीसीसँग भनेका थिए।

मोदी र उनको समूहसँग ब्र्यान्डिङ र भाष्य नियन्त्रण गर्ने विषयमा राम्रो ज्ञान छ। उनी जताततै देखा पर्छन् तर विरलै मात्रै कडा प्रश्न सोध्न सकिने गरी पत्रकार वा नागरिकका अगाडि उपस्थित हुन्छन्। प्रधानमन्त्री भएयता उनले भारतमा कहिल्यै पत्रकार सम्मेलनको आयोजना गरेका छैनन्। उनले अन्तर्वार्ता पनि विरलै दिएका छन्, उनलाई चुनौती पनि विरलै दिइएको छ।

वाराणसीमा निर्वाचन प्रचारप्रसारका क्रममा नरेन्द्र मोदी र योगी आदित्यनाथ

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, वाराणसीमा निर्वाचन प्रचारप्रसारका क्रममा नरेन्द्र मोदी र योगी आदित्यनाथ

राजनीतिक विश्लेषक आरके उपाध्यायका अनुसार प्रधानमन्त्री बन्नका लागि उनले "गुजरात दङ्गाका निम्ति जिम्मेवार व्यक्ति"को रूपमा सञ्चारमाध्यममा बनेको छविलाई फेर्न सक्नुपर्छ।

पछि सर्वोच्च अदालतद्वारा गठित समितिले सन् २००२ को हिंसामा उनको संलग्नता पुष्टि गर्ने कुनै प्रमाण फेला पारेन। त्यतिखेर उनी गुजरातका मुख्यमन्त्री थिए। घटनामा १,००० भन्दा धेरै मानिसको ज्यान गएको थियो। मारिनेमा धेरैजसो मुस्लिम थिए।

"त्यसैले मेरो विचारमा उनी दिल्ली आएपछि उनले (सञ्चारमाध्यमलाई) देखाउन चाहे – हेर, मलाई तिमीहरूको आवश्यकता छैन। म तिमीहरूबिनै जनतासँग जोडिन सक्छु," उपाध्याय भन्छन्।

मोदी इन्स्टाग्राममा संसारकै सर्वाधिक फलोअर भएका नेता हुन्। एक्स(पहिले ट्विटर)मा उनलाई नौ करोड ७५ लाखले पछ्याउँछन् र डिजिटल माध्यममार्फत् मात्रै नभई उनी मासिक रेडियो कार्यक्रममार्फत् पनि आफ्नो विचार राख्छन्।

अहिलेसम्मका उनका लगभग सबैजसो सार्वजनिक अन्तरक्रियाहरू असाध्यै कुशल तरिकाले व्यस्थापन गरिएको देखिन्छ। यो एक दशकमा उनका अनगिन्ती परियोजना उद्घाटनको, समर्थकहरूसँगको भेटघाटको, समुद्रमा 'स्नोर्कलिङ' गरेको र सन् २०१९ को चुनाव प्रचारप्रसारपछि गुफामा गएर ध्यान गरेको तस्बिर समेत खिचिएको छ।

समुद्रमा स्नोर्कलिङ गर्दै मोदी

तस्बिर स्रोत, Narendra Modi

तस्बिरको क्याप्शन, लक्षद्वीपमा समुद्रमा स्नोर्कलिङ गर्दै नरेन्द्र मोदी

जनतासँग सीधै जोडिने अवसरलाई उनले खेर जान दिएका छैनन्। मोदी हालै भारतीय युवाहरूको बीचमा पुगेर खेल क्षेत्रका हस्तीसँग समय बिताए र लोकप्रिय प्रभावशाली युवाहरूलाई पुरस्कृत गरे। ती सबै गतिविधि क्यामराका अगाडि भएका थिए।

केरलाको भर्खरैको एउटा सभामा उनले सङ्क्षिप्त रूपमा मलायलम भाषामा बोले। सहभागीहरूले खुसीले ताली र सिट्ठी बजाए।

"मोदीले गर्ने र सञ्चारमाध्यममा प्रस्तुत हुने धेरै कुराहरू विम्बात्मक छन्। उनी दुर्गम क्षेत्रमा सीमामा खटिएका सैनिकहरूसँग वा सीमान्तीकृत मानिसहरूसँग बिदा वा चाडबाड मनाउँछन्," राजनीतिक विश्लेषक सन्दीप शास्त्री भन्छन्।

उनका नियमित रूपमा हुने र अन्य विदेश भ्रमणबारे घरेलु सञ्चारमाध्यमले बढाइचढाइ गरेर विवरण प्रस्तत गर्छन्, भारतमा उत्सव मनाइन्छ। विदेशमा आप्रवासीहरूको विशाल सभामा उनले दिएको भाषणलाई विदेशमा उनको लोकप्रियताको प्रमाणका रूपमा स्थानीय टीभीहरूले देखाउँछन्। त्यस्ता भ्रमणको उपलब्धिबारे भने भारतका मूलधारका सञ्चारमाध्यममा विरलै विश्लेषण भएको छ।

विभाजनकारी राजनीति

फेरि वाराणसी फर्कौँ। उनीसँग सबै मानिस प्रभावित छन् भन्ने हैन।

मुस्लिम बाहुल्य भएको लोहतामा निकै थोरै परिवर्तन भएको देखिन्छ। त्यहाँ हामीले अव्यवस्थित नाला र भत्किन लागेका सार्वजनिक संरचनाहरू देख्यौँ।

भारत आमचुनाव
तस्बिरको क्याप्शन, नवाब खानको विचारमा उनीजस्ता मान्छेले अर्थतन्त्रमा भएको वृद्धिको फल चाख्न पाएका छैनन्

नवाब खान लोहताका बासिन्दा हुन्। उनी कपडा बुन्ने काम गर्छन्। उनी यो १० वर्षमा उनीहरू झन् गरिब भएको ठान्छन्।

"समृद्ध हुने एउटा मात्रै तरिका भनेको भाजपा समर्थक हुनु हो। अन्यथा तपाईँ सङ्घर्षका लागि एक्लै छाडिनुहुन्छ। साडी किन्ने मान्छेहरू धनी भएका छन्, बनाउनेहरू (खास गरी मुस्लिम) गरिब भएका छन्," उनको आरोप छ।

दिलीप पटेल भाजपामा आबद्ध छन्। उनी वाराणसीसहित १२ वटा संसदीय क्षेत्रको इन्चार्ज हुन्। मुस्लिमहरूलाई पाखा लगाइयो वा सरकारले उनीहरूमाथि भेदभाव गर्‍यो भन्ने आरोपलाई उनी खण्डन गर्छन्। सरकारका कल्याणकारी योजनाको वितरण निष्पक्ष ढङ्गले भइराखेको उनको भनाइ छ।

बरु मोदी सत्तामा आउनुअघि विपक्षीले "मुस्लिम दाजुभाइ दिदीबहिनीलाई तर्साउने काम गरेको" उनको आरोप छ।

"तर मोदी आएयता उनीहरूले असुरक्षित महसुस गरेका छैनन्। भाजपाप्रति उनीहरूको विश्वास दिनानुदिन बढ्दै गएको छ," उनको दाबी छ। उनले तीन पटक तलाख भन्ने तत्काल पारपाचुके हुने अभ्यासलाई अपराध ठहर्‍याइने व्यवस्थाको स्मरण गर्दै ती कदमको मुस्लिम महिलाहरूले सराहना गरेको दाबी गरे।

तर विगत १० वर्षमा दक्षिणपन्थी समूहद्वारा मुसलमानहरूमाथि कैयौँ हमला भएका छन्। तीमध्ये अधिकांश घातक प्रकृतिका छन्। मुस्लिमविरोधी घृणास्पद भाष्य पनि बढेको छ।

"भारत र पाकिस्तानको विभाजन हुँदा मोहम्मद अलि जिन्ना (पाकिस्तानका संस्थापक) ले बोलाउँदा समेत हाम्रा पितापुर्खाहरू यही देशमा बसे। हामीले पनि यो देशको निर्माणमा आफ्नो रगत बगाएका छौँ। तैपनि हामीमाथि दोस्रो दर्जाको नागरिकको व्यवहार भइराखेको छ," वाराणसीमा मोदीविरुद्ध चुनाव लड्दै गरेका अतहर जमाल लारी भन्छन्।

हालैका साताहरूमा भाजपाको चुनावी अभियान सरकारको 'ट्र्याक रेकर्ड'बाट भड्किएर मुस्लिमविरोधी बयानबाजीमा केन्द्रित भएपछि यस्ता भावनामध्ये केही सतहमा आएका छन्। त्यसो त मोदी स्वयंमाथि पनि उनी विभाजनकारी भएको आरोप छ। उनीमाथि खास गरी चुनावी सभाहरूमा मुस्लिमविरोधी भाषा प्रयोग गर्ने गरेको आरोप लाग्ने गरेको भए छ। तर उनले त्यस्तो आरोप अस्वीकार गर्दै आएका छन्।

उसको साम्प्रदायिक प्रस्तुति हेर्दा भाजपा केही साताअघिको तुलनामा ढुक्क हुन नसकेको देखिन्छ।

हिन्दू र मुस्लिम समुदायबीचको ध्रुवीकरणका कारण विगतमा आफूलाई फाइदा पुगेका बिहार, उत्तर प्रदेश र राजस्थानमा भारतीय जनता पार्टीले आफ्ना समर्थकलाई एकजुट राख्ने प्रयास गरेको राजनीतिक विश्लेषक नीलञ्जन सरकार बताउँछन्। विशेष गरी बेरोजगारीजस्ता विभिन्न कारणले प्रभावित आफ्ना युवा कार्यकर्तालाई सक्रिय राख्न पनि त्यो महत्त्वपूर्ण छ।

भाजपा विगतका दुइटा निर्वाचनमा जस्तो कुनै ठूलो राष्ट्रिय विषय वा लहर नभएकाले यसपालि केही चिन्तित देखिन्छ। सन् २०१४ मा कङ्ग्रेस पार्टीको नेतृत्वमा भएको सरकारविरुद्ध ठूलो आक्रोश थियो, धेरैले उक्त सरकारलाई भ्रष्ट ठानेका थिए। कश्मीरमा पाकिस्तानी भूमिबाट आएका लडाकुहरूले भारतीय सुरक्षाकर्मीमाथि घातक आक्रमण गरेपछि भारतले प्रत्युत्तरमा पाकिस्तानतिर हवाई हमला गरेको थियो। सन् २०१९ मा निर्वाचनको प्रचारप्रसारमा भारतको सुरक्षाको विषयवस्तुले ठूलो स्थान पायो।

भाजपा मोदीको जीवन्त छविका कारण यसपालि पनि आफू सफल हुने आश गरेको छ। तर विश्लेषकहरू उनको छविका कारण समस्या उत्पन्न पनि हुन सक्ने सम्भावना पनि देख्छन्।

‘मोदीको आकर्षण’

“चुनावमा [भाजपाबाट] को उठ्छ भन्ने कुरा महत्त्वपूर्ण छैन किनभने केन्द्रबिन्दुमा प्रधानमन्त्रीको छवि छ। त्यसकै आधारमा राजनीतिक घटनाक्रम र निर्वाचनको चक्र चल्दै छ,” सार्वजिक नीति विश्लेषक यामिनी ऐय्यर भन्छिन्।

यद्यपि केही विश्लेषकहरूले अतिकेन्द्रीकृत निर्णय प्रक्रियाका कारण स्थानीय नेताहरूलाई लाभ नहुने र दीर्घकालमा त्यो भाजपाका लागि घातक हुन सक्ने चेतावनी दिएका छन्।

पटेल मोदीलाई भाजपालाई रूपान्तरण गर्ने “स्वयम्भू नेता” मान्छन्।

नरेन्द्र मोदी

तस्बिर स्रोत, Narendra Modi-X

तस्बिरको क्याप्शन, सन् २०१९ को निर्वाचनका बेला मतदानको अन्तिम दिनको पूर्वसन्ध्यामा मोदी एउटा प्रसिद्ध तीर्थस्थलमा ध्यान गरिरहेको तस्बिर सार्वजनिक भएको थियो

“पहिला प्रतिपक्षले भाजपामा धनी, सहरमा बस्ने र उच्च जातका मानिसको वर्चस्व भएको आरोप लगाउने गर्थ्यो। त्यस्ता आरोपहरू आधारहीन थिए। मोदीको प्रयासबाट भाजपा ग्रामीण विपन्न, किसान, आदिवासी, कामदार, महिला र सीमान्तीकृत समुदायका मानिसको पार्टीका रूपमा स्थापित भएको छ,” उनी भन्छन्।

असमान वृद्धि

वाराणसीको लोहतामा मुस्लिमहरूको बसोबास छ। त्यहाँका बासिन्दा मात्र हैन, मोदीको निर्वाचन क्षेत्रका अरू ठाउँका मानिसहरू पनि असमान व्यवहार भएको ठान्छन्। उनीहरू आफ्नो ठाउँमा पनि परिवर्तन हुने पर्खाइमा छन्। तर धेरै मानिसहरू ढलनिकास, सडक र अन्य भौतिक संरचनामा सुधार भएको अनि त्यसबाट आफूलाई लाभ पुगेको ठान्छन्।

मोदीले आफ्नो संरक्षकत्वमा लिएको ककरिया गाउँबाट चेतवानी केही किलोमिटर मात्र टाढा छ। त्यहाँ हामीले झुपडीमा बस्ने केही मानिसहरूलाई भेट्यौँ।

“हाम्रो घरबाट निकालेर स्थानीय अधिकारीहरूले हामीलाई यहाँ ल्याए। यहाँ पानी पनि राम्ररी पाइँदैन,” २६ वर्षीय राजेन्द्रले भने। उनी तैपनि मोदीलाई मत हाल्ने बताउँछन्।

सारी बुन्ने शिव जोहरी पटेलजस्तै धेरै मानिसहरू यहाँ मोदीसँग नभई स्थानीय प्रशासनसँग आक्रोशित छन्।

भारत आमचुनाव
तस्बिरको क्याप्शन, चिरौन्जी मोदीलाई मन पराउँछिन्। घरमा शौचालय बनेपछि उनी खुसी छिन् तर खाना पकाउने ग्यास सधैँ पैसा नपुग्ने उनी बताउँछिन्

झट्ट हेर्दा ककरिया गाउँ धेरै भिन्न छ। त्यहाँ अरू सम्पन्नता देखिन्छ। गाउँमा धाराबाट नियमित पानी पाउँछन्।

“यहाँ शौचालय, खान पकाउने ग्यास र घरहरू छन्,” चिरौन्जी भन्छिन्। उनको घर अझ पूरा बनिसकेको छैन। उनी आफूलाई मोदी मन पर्ने बताउँछिन्।

सरकारले उनलाई खाना पकाउने ग्यासको सिलिन्डर दिएको छ। तर उनी आफ्नै खर्चमा सधैँ त्यो भर्न पैसा नपुग्ने बताउँछिन्।

विश्लेषकहरू त्यसरी दिइने सहयोग स्वास्थ्य, शिक्षा र भौतिक संरचनामा दीर्घकालीन लगानी हुन नसक्ने औँल्याउँछन्। मोदीले खेप्नुपरेको अर्को ठूलो चुनौती युवापुस्ताका लागि राम्रो रोजगारी सिर्जना गर्नु हो।

यो YouTube पोस्ट छोड्नुहोस्
Google YouTube को सामग्रीलाई अनुमति छ?

यो लेखमा Google YouTube बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Google YouTube cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन। YouTube का सामग्रीमा विज्ञापन हुन सक्छन्।

YouTube पोस्ट समाप्त

भारतको अर्थतन्त्र सात प्रतिशतको वृद्धिदर नाघ्दै अझ ठूलो भएको छ। अहिले भारत विश्वमा पाँचौँ ठूलो अर्थतन्त्र भएको देश हो। यो वृद्धिको फल भारतका करोडौँ विपन्न मानिससम्म पुगेको छैन।

यद्यपि यसका कारण उत्पन्न आक्रोश मोदीलाई पराजित गर्न पर्याप्त हुन्छ कि हुँदैन भन्न गाह्रो छ।

“मानिसहरूले महँगी वा आर्थिक विकास वा बेरोजगारीको क्षेत्रमा कति राम्रो भयो भन्ने विषयमा कुनै दल सरकारमा छ कि छैन भन्ने कुरा नहेर्न सक्छन्,” सरकार भन्छन्।

विभाजित प्रतिपक्ष

प्रतिपक्ष बलियो र एकजुट नभएकाले त्यसबाट मोदीलाई फाइदा पुगेको छ।

सन् २०१६ मा अवैध रकम नियन्त्रण गर्न भन्दै मोदी सरकारले नोटबन्दी गरेको थियो। धेरै अर्थशास्त्रीहरूले उक्त कदमबाट डरलाग्दो परिणाम उत्पन्न भएको औँल्याएका छन्। कोभिड महामारीका बेला पनि सरकारमाथि प्रश्न उठेको थियो।

यद्यपि प्रतिपक्षीहरूले यी विषयमा मोदी र उनको सरकारमाथि प्रहार गर्न सकेनन्। यी विवादहरूले मोदीका प्रशंसकहरूलाई खासै प्रभाव परेको पनि देखिँदैन।

“अरू कोही वा अरू कुरालाई दोषी देखाउन सकिन्छ भने नकारात्मक परिणाममा उनको नाम नजोडिने गरी मोदीको छवि कायम राख्ने प्रयास गरिन्छ,” सरकार भन्छन्।

राहुल गान्धी र अखिलेश यादव

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, एप्रिल महिनामा कङ्ग्रेस नेता राहुल गान्धी (बायाँ) र अखिलेश यादवले संयुक्त रूपमा सञ्चारमाध्यमसँग कुरा गरेका थिए

समर्थकहरू मोदीले “कहिल्यै विश्राम नलिने” भन्दै प्रशंसा गर्छन्। एकपछि अर्को कार्यक्रममा सहभागी हुने र सञ्चारमाध्यममा छाउने भएकाले मोदी सधैँ काम गरिरहन्छन् भने छाप परेको छ।

मोदी सन् २०१४ मा सत्तामा पुग्दा निवर्तमान सरकारलाई “अप्रभावकारी” मानिएको शास्त्री बताउँछन्।

“त्यसको ठिक उल्टो मोदी आफूलाई 'सातै दिन चौबिसै घण्टा' काम गर्न सक्ने र आफ्नो परिवार नभए पनि जनतासँग उभिने अनि देशका लागि खट्ने रूपमा प्रस्तुत हुन्छन्,” उनी भन्छन्।

मोदीले दक्षिण भारतमा पनि भाजपाको प्रभाव बढाउन कडा मेहनत गरेका छन्। निर्वाचनअघि उनी निकै पटक तमिलनाडु र केरला पुगे। त्यसको परिणाम कस्तो आउँछ त्यो हेर्न भने बाँकी नै छ।

विगत दुई सातामा प्रतिपक्ष एकजुट भएको देखिएको छ।

ऐय्यरका अनुसार प्रतिपक्षको आलोचना गर्न मिल्ने धेरै कुरा छ। तर समान अवसर नभएको उनीहरूको गुनासो उचित भएको उनी स्वीकार्छिन्।

“सञ्चारमाध्यममा जसरी कब्जा जमाइएको छ, भिन्न मत अभिव्यक्त गर्न नदिन जसरी कानुनको प्रयोग गरिएको छ अनि डेटाको अभाव छ – यी सबै कुराले वैकल्पिक भाष्य सिर्जना हुने स्थिति बन्न निकै गाह्रो हुन्छ,” उनी भन्छिन्।

अंशुल वर्मा र जुबैर अहमदको थप रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।