ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै, छोराछोरी विदेश पलायन हुँदा अवस्था 'भयावह बन्दै'

- Author, विनिता दाहाल
- Role, बीबीसी न्यूज नेपाली
विभिन्न रोगबाट पीडित वयोवृद्ध दम्पती काठमाण्डूस्थित एउटा अस्पतालमा उपचार गराउन गए। श्रीमान् ९० वर्षका थिए भने श्रीमती ८५ वर्षकी थिइन्।
उनीहरूलाई हेरेका ज्येष्ठ नागरिक रोग विशेषज्ञ प्राध्यापक डा रमेश कँडेलका अनुसार ती वृद्धवृद्धाको ठूलो गुनासो आफ्ना छोरा र उनको परिवार सबै विदेशमा भएका र बुढेसकालमा आफूहरू एक्लै पर्यौँ भन्ने थियो।
"छोरालाई हुर्काइ, बढाइ, पढाइ गर्यौँ। अहिले ऊ आफ्नै सन्तानको भविष्य हेरेर अमेरिका बसेको छ। हाम्रो सहारा को त? हाम्रो भविष्य हेर्ने जिम्मेवारी त छोराबुहारीको होइन?" यो प्रश्नले आफू स्तब्ध भएको डा कँडेल बताउँछन्।
हेर्ने कोही छैन, रोग बढ्दै छ
डा कँडेलका अनुसार यता आफू सम्पन्न र उता अमेरिकामा छोरा सम्पन्न भए पनि सन्तानले आफूलाई समय दिन नसकेकोमा ती वृद्धवृद्धाको चित्तदुखाइ थियो।
"समाजले हेर्दा त ऊ ठूलै मानिस भयो तर हाम्रो जीवन चाहिँ नर्कजस्तो भइसक्यो भनेर रुनु नै भयो," कँडेलले भने।
उनीहरूलाई सान्त्वना दिन पनि नसकेको भन्दै डा कँडेल बरु आफ्नै भविष्य सम्झेर चिन्तित भएको बताउँछन्।
डा कँडेल नेपाल मेडिकल काउन्सिलमा ज्येष्ठ नागरिकहरूको उपचार गर्ने विशेषज्ञतासहित दर्ता भएका प्रथम 'जेरिआट्रिसिअन' हुन्।
उनका अनुसार बिरामी भएर उपचार गराउन आउने धेरै ज्येष्ठ नागरिकहरूले आफ्ना सन्तान टाढा भए भनेर दुखेसो गर्ने गरेका छन्।
नेपालमा ६० वर्षमाथिको मानिसको सङ्ख्या १० प्रतिशत नाघेको राष्ट्रिय तथ्याङ्क कार्यालयको आँकडाले देखाउँछ। त्यसको अर्थ अहिलेको जनसङ्ख्याको हिसाबले २९ लाखभन्दा बढी ज्येष्ठ नागरिकहरू छन्।
विक्रम संवत् २०७८ मा भएको जनगणनामा आधारित भएर यही वर्षको सुरुमा सार्वजनिक गरिएको जनसङ्ख्या संरचनासम्बन्धी प्रतिवेदनले विसं २१११ मा नेपाल वृद्धवृद्धाको बाहुल्य हुने समाज भइसक्ने प्रक्षेपण गरेको थियो।
चिकित्सक र नर्स घट्दै, ज्येष्ठ नागरिकको जनसङ्ख्या बढ्दै

तस्बिर स्रोत, AFP via Getty Images
ज्येष्ठ नागरिकको उपचारमा खटिने चिकित्सकहरूका अनुसार नेपालमा ज्येष्ठ नागरिकहरूमा सामान्य सरुवा रोगदेखि क्यान्सर र अल्जाइमर्सजस्ता जटिल समस्या देखिने क्रम बढ्दै गएको छ।
मानसिकदेखि शारीरिक स्वास्थ्य समस्या देखिनुको मुख्य कारण नै सामाजिक पाटो रहेको अर्की चिकित्सक प्राध्यापक डा लोचना श्रेष्ठ बताउँछिन्।
अधिकांश ज्येष्ठ नागरिकहरू ढिला गरी उपचार गराउन आउने र समयमै ल्याइपुर्याउन उनीहरूका छोराछोरी नेपालमा नहुने गरेको डा श्रेष्ठ बताउँछिन्।
"जुन अनुपातमा नेपालबाट उत्पादनशील उमेरका मानिसहरू बाहिर गइरहेका छन् त्यही अनुपातमा ज्येष्ठ नागरिकहरूको पीडा बढ्दै गइरहेको छ," उनले भनिन्।
"यहाँ बिरामीलाई हेर्ने चिकित्सक र नर्सको सङ्ख्या पनि घट्दै गइरहेको छ। उनीहरूलाई हेरचाह गर्ने मानिसहरू पनि घट्दै गइरहेका छन्। अनि के रहन्छ? अब त मानिसहरू घरभित्रै खाना र औषधि नपाएर मर्नुपर्ने अवस्था आइसक्यो।"
उनले बिस्तारै नेपालमा ज्येष्ठ नागरिकको एक्लोपनको अवस्था जापानको जस्तै हुँदै जाने देखिएको उनले बताइन्।
डा कँडेल पनि ज्येष्ठ नागरिकहरूको उपचार गर्ने चिकित्सक र नर्स दुवैको सङ्ख्या बढाउन अत्यन्तै आवश्यक रहेको बताउँछन्।
"अहिले नेपालमा हामी ज्येष्ठ नागरिककै उपचार गर्ने चिकित्सकहरू जम्मा पाँच जना छौँ। अनि नर्स पनि एक कि दुई जना मात्रै हुनुहुन्छ," उनले भने।
"त्यसबाहेक अस्पतालहरूलाई पनि ज्येष्ठ नागरिकमैत्री बनाउन पनि आवश्यक छ। यस विषयमा राज्यले दायित्व लिनुपर्ने देखिन्छ।"
उनीहरूमा मुख्य गरी सरुवा रोग निमोनिया, पिसाबको सङ्क्रमणलगायत उच्च रक्तचाप र मधुमेहका जटिलताले निम्त्याउने मुटु, मस्तिष्क र मिर्गौलासम्बन्धी रोगहरू निम्त्याएको देखिने चिकित्सकहरू बताउँछन्।
त्यस्तै शारीरिक स्वास्थ्यमा हाडजोर्नी, अत्यधिक थकान हुने, अरूमा भर पर्नुपर्ने गरी कमजोर हुने, कब्जियत, पुरुषमा प्रोस्टेट ग्रन्थिको समस्या र महिलामा पिसाब चुहिनेलगायत क्यान्सरजस्ता रोगहरू देखिने चिकित्सकहरूले बताए।
त्यसबाहेक बिर्सिने रोग अत्यधिक रूपमा बढेको डा कँडेल बताउँछन्।
स्वास्थ्यबीमाबारे जानकारी नै छैन

तस्बिर स्रोत, Getty Images
उनका अनुसार ६५ वर्ष उमेरका मानिसहरूमा चार प्रतिशतमा यो समस्या देखिन्छ भने ८५ वर्ष उमेर पुग्दासम्म ४० देखि ५० प्रतिशतमा देखिन्छ।
ज्येष्ठ नागरिकलाई दिइँदै आएको भत्ताबाहेक सरकारले जटिल रोगहरूमा स्वास्थ्य बीमाको पनि व्यवस्था गरेको छ। तर त्यसको त्यति प्रचारप्रसार हुन नसकेको डा कँडेल बताउँछन्।
"जस्तो म अहिले दाङमा छु। यहाँ कुल जनसङ्ख्याको जम्मा सात प्रतिशत मानिसहरूले मात्रै बीमा गरेका छन्। ज्येष्ठ नागरिकका लागि बीमाको प्रिमिअम रकम रु ३,५०० स्थानीय निकायले बेहोरिदिन्छ भन्ने नै चेतना फैलाउन सकेका छैनौँ," उनले भने।
सत्तरी वर्षमाथिका मानिसका लागि एक लाख रुपैयाँसम्मको बीमाको सुविधा हुने उनले बताए। डा लोचना श्रेष्ठ पनि आफूकहाँ उपचार गर्न आउने धेरै बिरामीलाई सरकारले उपलब्ध गराएको बीमा सुविधाबारे जानकारी नै नभएको बताउँछिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








