नेपालमा कोकेन कुन कुन मार्ग हुँदै आउँछ र कता जान्छ?

नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले जफत गरिएको कोकेनसहित सार्वजनिक गरेका एक आरोपित। उनको अनुहार ढाक्ने गरी कालो मकुन्डो लगाइएको छ

तस्बिर स्रोत, Nepal Police

लागु औषध कोकेन भित्र्याउन नेपाललाई ट्रान्जिटका रूपमा तस्करहरूले प्रयोग गर्ने गरेको र दक्षिण अमेरिकादेखि मध्यपूर्वसम्म त्यस्तो गिरोह जोडिएको, नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोका प्रमुखले बीबीसीलाई बताएका छन्।

प्रहरी वरिष्ठ उपरिक्षक कृष्णप्रसाद कोइरालाले तस्करहरूले नेपाल हुँदै कोकेनलाई भारत पुर्‍याउने मनसाय राख्ने गरेको उल्लेख गर्दै अघिल्लो आर्थिक वर्षमा १८ किलोभन्दा बढी परिमाणमा उक्त लागु औषध प्रहरीले बरामद गरेको बीबीसीलाई बताए।

प्रति ग्राम ४० हजार रुपैयाँसम्म पर्ने कोकेन पछिल्लो ३ आर्थिक वर्षमा मात्रै ५० किलोभन्दा बढी बरामद भएको प्रहरीको तथ्याङ्क छ।

यो आर्थिक वर्षमा पनि प्रहरीले भारत र भुटानमा तस्करी गर्न लागिएको कोकेन बरामद गरेको छ र त्यससम्बन्धी घटनामा रुस, भारत, इरिट्रिया र ब्रजिलसहितका देशका नागरिकहरूमाथि अनुसन्धान गरिरहेको छ।

कोकेन आउने मार्ग कुन हो?

सुरक्षा अधिकारीहरूका अनुसार उत्तर अमेरिका - मध्य पूर्व - नेपाल र इथिओपिया - मध्य पूर्व - नेपाल कोकेन नेपाल प्रवेश गर्ने मुख्य मार्ग हुन्।

लागु औषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कोइराला कोकेन नेपाल भित्रने प्रवृत्तिमा केही फेरबदल देखा परिरहेको बताउँछन्।

उनले भने, "कोकेन उत्पादन हुने भनेकै दक्षिण अमेरिकी देशहरूमा हो। ब्रजिल, कोलम्बिया लगायतका देशहरूबाट मध्यपूर्वका देशलाई ट्रान्जिट बनाउँदै त्यस्तो लागु औषध आउने भए पनि त्यसको अन्तिम गन्तव्य नेपाल होइन।"

प्रहरी अधिकारीहरूले मध्यपूर्वका दोहा, दुबईलाई नेपालमा कोकेन भित्र्याउने ट्रान्जिटका रूपमा उल्लेख गर्ने गरेको पाइन्छ।

कोइरालाका अनुसार पछिल्लो पटक आफूहरूले २ केजी कोकेनसहित एक जना ब्रजिलिअन महिला गिरफ्तार गरेको बताए।

ती महिलाले ल्याएको तरल कोकेन भुटान पठाइन लागेको प्रहरीको दाबी छ।

त्यसबाहेक प्रहरीको लागु औषध ब्यूरोले गएको भदौ १३ गते डेढ किलो कोकेनसहित एक जना भारतीय महिला र त्यसलाई लिन आएका एक जना भारतीय पुरुषलाई पक्राउ गरेको थियो।

प्रहरी वरिष्ठ उपरीक्षक कोइरालाले थपे, "पहिला चाहिँ यस्ता लागु औषध ओसार पोसारमा अफ्रिकी मुलुकका मानिसहरू संलग्न हुन्थे। अहिले त्यो पनि परिवर्तन भएर महँगा खालका लागु औषध ओसार पोसारमा संलग्न देखिन्छन्।"

प्रहरीले जफत गरेको कोकेन प्लास्टिकको निलो झोलामा राखिएको अवस्थामा।

तस्बिर स्रोत, Nepal Police

तस्बिरको क्याप्शन, कोकेन प्रतिग्राम ४० हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको पाइएको प्रहरी अधिकारीहरू बताउँछन्

यसै वर्षको जून महिनामा गृह मन्त्रालयले प्रकाशित गरेको लागु औषध नियन्त्रणसम्बन्धी एक जर्नलका अनुसार सन् २०२० यता ३३ जना विदेशीहरू कोकेनसहित पक्राउ परेका छन्।

त्यसमा ८ जना भारतीय नागरिक रहेको उल्लेख गरिएको छ। पक्राउ पर्ने अन्यमा ४ बोलिभिअन, ४ तान्जिअन र ३ ब्रजिलिअन नागरिकसहित छन्। सन् २०२२ यता पक्राउ पर्नेमध्ये पाँच जना भारतीय महिला रहेका थिए र त्यसमा आगोमा जलेर अशक्त भएकी एक महिलाको पनि संलग्नता रहेको अनुसन्धानले देखाएको छ।

कोकेन प्रतिग्राम ४० हजार रुपैयाँसम्म पर्ने भएकाले लागु औषध दुर्व्यसनीहरूले यसलाई महँगो ठान्ने गरेका छन्। प्रहरीले राजधानी काठमाण्डूबाहेक अन्यत्र यससँग जोडिएका कसुर खासै नदेखिएको उल्लेख गर्ने गरेको पाइन्छ।

प्रहरीको आँकडामा अघिल्लो आर्थिक वर्षमा ५१ हजार किलोभन्दा बढी गाँजा बरामद भएको उल्लेख गरिएको छ। त्यसबाहेक झन्डै ८३० किलो चरेस, ४७ किलो हेरोइन, १८४ किलो अफिम र ३४ लाख भन्दा बढी मनोद्विपक पदार्थ प्रहरीले विभिन्न ठाउँबाट बरामद गरेको थियो।

सुरक्षा अधिकारीहरू आफूहरूले कोकेन लगायत अन्य लागु औषधको तस्करी नियन्त्रणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत विभिन्न नाकामा निगरानी गर्ने गरेको बताउँछन्।

अनुसन्धानमा अन्य देशहरूसँग सहकार्य हुन्छ?

नेपाललाई राष्ट्रसङ्घले गाँजा आन्तरिक खपतका लागि उत्पादन गर्ने वा विदेशमा निर्यात गर्ने देशको सूचीमा राखेको छ
तस्बिरको क्याप्शन, नेपाललाई राष्ट्रसङ्घले गाँजा आन्तरिक खपतका लागि उत्पादन गर्ने वा विदेशमा निर्यात गर्ने देशको सूचीमा राखेको छ

त्यसबाहेक संयुक्त राष्ट्रसङ्घको अफिस अन ड्रग्स एन्ड क्राइम र इन्टरपोलसँग मिलेर कोकेनजस्ता लागु पदार्थका स्रोत मुलुक, तिनलाई भित्र्याउन प्रयोग गरिने ट्रान्जिट र त्यस्ता सामग्रीहरू पुग्ने गन्तव्य मुलुकका कानुन कार्यान्वयन गर्ने निकायबीच सहकार्यमा जोड दिइरहेको उल्लेख गर्छन्।

"सरोकारवाला देशका कानुन कार्यान्वयन गर्ने निकाय र लागु औषध नियन्त्रणका क्षेत्रमा काम गर्ने निकायहरूसँग हामीले निरन्तर समन्वय गरिरहेका हुन्छौँ," वरिष्ठ प्रहरी उपरीक्षक कोइरालाले थपे।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कोकेन भित्र्याउन संलग्न रहेका भनिएका लागु औषध भरियाहरूले सामान राख्ने सुटकेशभित्र मसिनमार्फत् जाँच गर्दा पत्ता नलाग्ने किसिमको "फल्स बटन" प्रयोग गर्ने र कतिपयले 'पुष्टकारी जस्तो आकारमा प्लास्टिकले ढाकेर' त्यसलाई निलेर समेत ल्याउने गरेको आफ्नो अनुसन्धानले देखाएको प्रहरी अधिकारीहरू बताउँछन्।

सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घको अफिस अन ड्रग्स एन्ड क्राइम्सले तयार पारेको एउटा विवरणमा नेपाल भित्रने कोकेन हङकङ, थाइल्यान्ड र भारत पुग्ने गरेको उल्लेख गरिएको छ।

त्यसमा नेपालमा अवैध ढङ्गले उत्पादित गाँजा भारत जाने गरेको र अफिम भारत र बाङ्ग्लादेश पुग्ने गरेको जनाइएको छ। प्रहरी अधिकारीहरू विगतमा क्यानडा र अमेरिकाबाट नेपालमा गाँजा भित्रने गरेको देखिए पनि हालैका वर्षहरूमा थाइल्यान्डबाट समेत गाँजा नेपालमा तस्करी भइरहेको बताउँछन्।

अफिस अन ड्रग्स एन्ड क्राइम्सले दक्षिण अफ्रिका, पाकिस्तान र भारतबाट नेपाललाई ट्रान्जिट र गन्तव्य बनाएर हेरोइन नेपाल आउने गरेको पनि उल्लेख गरेको छ। कतिपय त्यस्तो लागु औषध भारत र बाङ्ग्लादेशमा पुर्‍याउने लक्ष्य राखिएको उक्त विवरणमा जनाइएको छ।

सन् २०२३ मा राष्ट्र सङ्घको अफिस अन ड्रग्स एन्ड क्राइमले प्रकाशन गरेको 'ग्लोबल कोकेन रिपोर्ट' मा पनि नेपाली अधिकारीहरूले कोकेन जफत गरेको चर्चा गरिएको छ। उक्त प्रतिवेदनले सन् २०१९ मा नेपालमा प्रतिग्राम कोकेनको मूल्य २२२ अमेरिकी डलर रहेको जनाइएको छ।

त्यसबाहेक सन् २०१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेकी एक महिला भारतबाट ब्रजिल पुगेको र त्यहाँबाट कोकेन लिएर नेपाल आइपुगेको जनाइएको छ। ती महिला नेपालबाट मलेसिया फर्किएर उक्त लागूपदार्थ बोकेर रोम जाने तयारीमा चर्चा गरिएको उक्त प्रतिवेदनमा ती भरियाले त्यसअघि ११ पटक कोकेन विभिन्न ठाउँमा पुर्‍याउने चर्चा त्यसमा गरिएको छ।

उक्त राष्ट्रसङ्घीय निकायले सन् २०२५ मा सार्वजनिक गरेको वर्ल्ड ड्रग रिपोर्टमा निर्यात वा आन्तरिक खपतका लागि गाँजा उत्पादन हुने देशको सूचीमा नेपाललाई पनि राखिएको छ। उक्त प्रतिवेदनले हेरोइनको अवैध निर्यात गरेर नेपालमा हुने कारोबार औषधिजन्य सामग्रीको निर्यातबाट हुने आम्दानीको बराबरी भएको रहेको पनि जनाइएको छ।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका अनुसार विगत तीन वर्षमा २० हजार ७ सयभन्दा बढी व्यक्तिहरू लागु औषधसम्बन्धी मुद्दामा पक्राउ परेका छन्। त्यसमा विदेशीको सङ्ख्या झन्डै ८ सय ५० रहेको अधिकारीहरू बताउँछन्।

पछिल्ला तीन आर्थिक वर्षमा १३ हजार ५ सयभन्दा बढी लागु औषधसम्बन्धी मुद्दाहरू दर्ता भएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।