लागुपदार्थ ओसारपसार गरेको अभियोग लागेका मानिसले भरिँदै नेपाल-भारत सीमा क्षेत्रका हिरासत

- Author, उमाकान्त खनाल
- Role, झापा
प्रदेश नम्बर १ को प्रहरी कार्यालयले दैनिक सार्वजनिक गर्ने घटनाहरूको विवरणमा दिनहुँ लागुपदार्थसहित पक्राउ परेका मानिसको सूची लामो हुन्छ।
त्यस्तै सीमा क्षेत्रका प्रहरी कार्यालयहरूले पनि आधिकारिक फेसबुक पेजमार्फत् सार्वजनिक गर्ने सूचनामा त्यस्तै आरोपमा समातिएका मानिसको बाहुल्य पाइन्छ।
पूर्वको झापादेखि पश्चिममा बाँकेको नेपालगन्जसम्मका प्रमुख नाकाहरूमा लागुपदार्थको कारोबार अत्यधिक हुने गरेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी अधिकारीहरूको भनाइ छ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठका अनुसार झापाको काँकरभिट्टा, मोरङको विराटनगर, पर्साको वीरगन्ज र बाँकेको नेपालगन्जमा भारतबाट लागुपदार्थ ल्याएर नेपालमा बेचबिखन गर्ने प्रवृत्ति बढेको छ।
त्यसैले सीमावर्ती क्षेत्रका प्रहरी हिरासतहरू लागुपदार्थसँग सम्बन्धित आरोपमा पक्राउ परेकाहरूले भरिन थालेका हुन्।
तथ्याङ्क
झापास्थित जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार जिल्लाभरि प्रहरी हिरासतमा १०० जनाभन्दा धेरै थुनुवामा छन्। तीमध्ये ७० जनाभन्दा धेरै लागुपदार्थ मुद्दामा पक्राउ परेका व्यक्ति हुन्।
मोरङ प्रहरीको तथ्याङ्कमा २० प्रतिशत भन्दा बढी लागुपदार्थ मुद्दाका थुनुवा प्रहरी हिरासतमा छन्। मुद्दाको सङ्ख्या पनि बर्सेनि बढ्दो क्रममा रहेको मोरङका प्रहरी प्रवक्ता नायब उपरीक्षक दीपक श्रेष्ठले बताए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले १०० जनाभन्दा धेरै बन्दी रहेकोमा आधा लागुपदार्थ मुद्दामा पक्राउ परेकाहरू रहेको जानकारी दिए।
बाँकेको अवस्था पनि उस्तै रहेको त्यहाँको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार छिमेकी मुलुक भारतबाट खैरो हिरोइन तथा औषधिजन्य लागुपदार्थको कारोबार सीमावर्ती जिल्लामा बढी हुने गरेको छ।
खुला सिमाना
भारतबाट लागुपदार्थ ल्याएर नेपालमा बेच्ने परिपाटी बढेकाले लागुपदार्थसहित मानिसहरू दिनहुँ पक्राउ पर्ने क्रम बढ्दै गएको सीमा क्षेत्रका प्रहरी अधिकारीहरू बताउँछन्।

उनीहरूका दिएको जानकारीअनुसार सीमा क्षेत्रका दुबै देशका जिल्ला अधिकारीहरूबीच हुने नियमित बैठकमा लागुपदार्थ ओसारपसारको विषय उठ्ने गरेको छ।
पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका भनाइमा कारोबारी र दुर्व्यसनीहरूको सञ्जाल हुने भएकाले धेरै मानिसहरू पक्राउ पर्ने सम्भावना रहन्छ र पक्राउ परेकालाई ९० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाइने भएकाले पनि थुनुवाको सङ्ख्या बढ्ने गरेको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले त्यस्ता बैठकमा भारतका अधिकारीहरूले नेपाली भूभागमा मदिरा बेचबिखनको विषय उठाउने गरेका छन् भने नेपालका अधिकारीले भारतीय सीमावर्ती क्षेत्रमा लागुपदार्थ कारोबारबारे कुरा उठाउने गरेका बताए।
निरौलाले भने, "मुद्दा उठ्छ। तर भारतीय अधिकारीहरू कार्यान्वयनमा त्यति संवेदनशील देखिँदैनन्।"
पर्साका प्रहरी प्रमुख पाण्डेका अनुसार नेपालमा प्रतिबन्ध लगाइएका तर भारतमा खुल्ला बेच्न पाइने कतिपय औषधि लागुऔषधको प्रयोग हुने गरेको छ।
उनले भने, "भारतले कडाइ गरिदिने हो भने नियन्त्रणमा धेरै सहयोग पुग्छ। त्यहीँ रक्सौलमा खुल्ला व्यापार हुन्छ। मुद्दाका प्रतिवादी त्यताका हुन्छन्। अनि मुद्दा फितलो भएर जान्छ।"
अधिकारको प्रश्न
खुल्ला सिमानाको फाइदा उठाउँदै त्यस्ता कारोबारीले भारतबाट ट्याब्लेट तथा साना ‘एम्पूल’मा पाइने सुईको माध्यमबाट लगाइने लागुऔषधि नेपाल भित्र्याउने गरेको लागुऔषध नियन्त्रण ब्यूरोका अधिकारीहरू बताउँछन्।

भारतबाटै खैरो हिरोइन पनि नेपाल ल्याइने गरिएको उल्लेख गर्दै ब्यूरोका प्रवक्ता श्रेष्ठले नेपालबाट पनि गाँजा तथा अफिम भारत लैजाने गरिएको जानकारी दिए।
तर यसको पूर्ण नियन्त्रणका लागि प्रहरीलाई सम्पूर्ण अधिकार नभएको उनले बताए।
श्रेष्ठले भने, "हामीले माग कम र कारोबार नियन्त्रण गर्ने काम गर्छौँ। लागुपदार्थ सेवनकर्तालाई उपचार र समाजमा पुनर्स्थापना गराउने अधिकार नेपाल प्रहरीलाई छैन।"
प्रहरीले जनचेतनामूलक कार्यक्रम गर्ने र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बाहेक अन्य अधिकार नपाएको उनको भनाइ छ।
यो पनि हेर्नुहोस्














