नेपाल लागुऔषधः दुई महिनामा सवा एक अर्ब रुपैयाँको सेतो हेरोइन बरामद, यसले के सङ्केत गर्छ

तस्बिर स्रोत, Nepal Police
काठमाण्डूमा विगत दुई महिनाको अवधिमा ठूलो परिमाणमा लागुऔषध सेतो हेरोइन बरामद गरिएको नेपाल प्रहरीको तथ्याङ्कले देखाउँछ। प्रहरीका अनुसार त्यो लागुपदार्थको मूल्य एक अर्ब २५ करोड रुपैयाँभन्दा बढी छ।
यही वैशाख ३ गतेदेखि असार २ गतेभित्र बरामद हेरोइन तस्करी गरेको आरोपमा केही विदेशी नागरिकहरू पनि पक्राउ परेको प्रहरीले जनाएको छ।
नेपाल ल्याएर अर्को देश पुर्याउने उद्देश्यका साथ लागुऔषध ओसारपसारमा विदेशी नागरिकहरू संलग्न रहेको पाइएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
बरामद गरिएका सेतो हेरोइन नेपालमा खपत हुने प्रकृतिको नभएको बहालवाला तथा भूतपूर्व सुरक्षा अधिकारीहरूले बीबीसीलाई बताएका छन्।
कहिले कति बरामद भयो?
गत वैशाख ३ गते प्रहरीले सात किलो सेतो हेरोइनसहित जाम्बियाको राहदानीवाहक एक महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गर्यो।
लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार उनी दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट कतारको दोहा हुँदै काठमाण्डू आएकी थिइन्।
त्यो हेरोइन लिन आएकी भारतीय नागरिकलाई प्रहरीले त्यसको भोलिपल्ट पक्राउ गर्यो।
लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता जीवनकुमार श्रेष्ठका अनुसार त्यसको अवैध बजारमा मूल्य १४ करोड रुपैयाँ पर्न आउँछ।
त्यसपछि जेठको अन्तिम सातातिर प्रहरीले अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणमा सेतो हेरोइनसहित सात विदेशी नागरिकलाई पक्राउ गर्यो।
जेठ ३० र ३१ गते पक्राउ पर्ने सातै जना दक्षिण अफ्रिकी नागरिक भएको र उनीहरूबाट एक अर्ब २ करोड रुपैयाँ बराबरको ५१ किलो सेतो हेरोइन बरामद भएको प्रहरीको भनाइ छ।
उनीहरू दक्षिण अफ्रिकाबाट दुबई हुँदै काठमाण्डू आएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
पछिल्लो पटक असार २ गते झन्डै १० करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित एक तान्जानियाली, दुई भारतीय र एक नेपालीलाई पक्राउ गरिएको प्रवक्ता श्रेष्ठले बताए।
नेपालमा प्रयोग नहुने लागुऔषध
विदेशीहरूबाट पछिल्लो समयमा बरामद गरिएका लागुऔषध नेपालमा दुर्व्यसनीहरूले प्रयोग गर्ने खालका नभएको श्रेष्ठ दाबी गर्छन्।
"पक्राउ परेकाहरूले आफ्नो गिरोहका सदस्यलाई जुन किसिमका सूचना प्रवाह गरेका छन् त्यो हेर्दा नेपालका लागि नभई बाहिर कतै पुर्याउनका लागि ल्याएका थिए भन्ने स्पष्ट हुन्छ," बीबीसीसँग उनले भने।
"अर्को मुख्य कुरा भनेको हामीकहाँ त्यो खालका लागुऔषध सेवन हुने गरेको पाइँदैन।"
उनका अनुसार पछिल्लो एउटा घटनामा काठमाण्डू पुर्याइएको सेतो हेरोइन लिन भारतबाट भारतीय नागरिक आइपुग्नुले पनि त्यसलाई थप पुष्टि गर्छ।
त्यसमा नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल पनि सहमत देखिन्छन्।
"पहिलादेखि नै नेपालमा बरामद हुने गरेको हेरोइन यहाँका लागि भनेर ल्याएको देखिँदैन। नेपाली बजारका लागि 'लो ग्रेड'को ल्याउने गरिएको पाइन्छ," बीबीसीसँग उनले भने।
को छन् संलग्न
लागुऔषध ओसारपसारसम्बन्धी आरोपमा पक्राउ पर्ने विदेशीमध्ये अधिकांश अफ्रिकी मूलका व्यक्ति भएको लागुऔषध नियन्त्रण ब्यूरोको तथ्याङ्कले देखाउँछ।
"हामीकहाँ यी घटनामा अफ्रिकी नागरिक बढी संलग्न भएको भन्दा फरक पर्दैन। पछिल्ला घटनाकै कुरा गर्दा अधिकांश दक्षिण अफ्रिकी र तान्जानियाली छन्," प्रवक्ता श्रेष्ठले भने।
अफ्रिकीमा पनि पश्चिमी अफ्रिकी देशका नागरिकहरू बढी संलग्न हुने गरेको पूर्वप्रहरी नायब महानिरीक्षक मल्ल बताउँछन्।
"पहिलादेखि उनीहरूले नेपाल ल्याउने र नेपालबाट अर्को देशमा लैजाने प्रवृत्ति देखिन्छ," उनले थपे।
यसको सङ्केत के हो
कतिपयले काठमाण्डूमा एकपछि अर्को ठूलो मात्रामा लागुऔषध बरामद हुनु भनेको अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा कमजोरीको परिणाम भएको आरोप लगाउँछन्।
तर लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता श्रेष्ठ त्यसो भन्नु उपयुक्त नहुने तर्क गर्छन्।
"ती त अझ बाहिरका विमानस्थलबाट सुरक्षा जाँच पार गरेर आएका हुन्, तर यहाँ पक्राउ परेका हुन्।"
पूर्वप्रहरी नायब महानिरीक्षक मल्लका अनुसार पछिल्लो समय काठमाण्डूमा ठूलो परिमाणमा लागुऔषध बरामद हुनुले मुख्यतया तीनवटा सङ्केत गर्छ।
"जसरी ठूलो मात्रा बरामद हुन थालेको छ त्यसले के सङ्केत गर्छ भने नेपालमा पनि उनीहरूको कनेक्शन हुनुपर्छ," उनले भने।
मल्लका अनुसार अर्को सङ्केत भनेको नेपालमा पक्राउ पर्ने लागुऔषध तस्कर विदेशीहरूको सम्बन्ध सानो गिरोहसँग नभई ठूलैसँग भएको हुनुपर्छ भन्ने हो।
"सानोतिनो गिरोहले यो मात्रामा ओसारपसार गर्नै सक्दैनन्," उनले थपे।
"तेस्रो सङ्केत भनेको त्यस्ता गिरोहले नेपालमा कसैको संरक्षण पाइरहेको हुन सक्छ भन्ने हो।"
यो पनि हेर्नुहोस्










