नेपालमा थाई गाँजा तस्करीको 'बाछिटा', पक्राउ पर्नेमध्ये अधिकांश भारतीय

थाईल्यान्डमा खेती गरिएको ठाउँमा गाँजाको फूल समातेर सुँघ्दै एक महिला, पछाडिका एक पुरुषले गाँजाको बोट समातेका छन्

तस्बिर स्रोत, Thanyarat Doksone/BBC

तस्बिरको क्याप्शन, सन् २०२२ को मध्यदेखि वैधता पाएसँगै थाईल्यान्डमा गाँजा उत्पादन तथा विक्री बढेको बताइन्छ
    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली

नेपालमा गाँजाको अवैध ओसारपसारमा पछिल्लो समय नयाँ 'ट्रेन्ड' देखिएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले बीबीसीलाई बताएको छ।

थाईल्यान्डले गाँजा उत्पादनलाई वैधता प्रदान गरेपश्चात्‌ गाँजा तस्करीको बाछिटा बिस्तारै नेपालसम्म पर्न थालेको ब्यूरोका प्रमुख कृष्णप्रसाद कोइरालाले बताए।

उनका अनुसार नेपालमा गत वर्ष बरामद गरिएको अवैध गाँजामा थाईल्यान्डबाट ल्याइएको गाँजाको पनि हिस्सा रहेको पाइएको छ।

नेपालले आर्थिक वर्ष २०८१/०८२ मा बरामद गरेका विभिन्न प्रकारका लागुपदार्थमध्ये सबैभन्दा बढी गाँजा रहेको ब्यूरोको तथ्याङ्क छ।

सो समयावधिमा ५१,००० केजीभन्दा बढी गाँजा बरामद गरिएको ब्यूरोले उपलब्ध गराएको तथ्याङ्कले देखाउँछ।

'गाँजा तस्करीमा भारतीय नागरिकको संलग्नता'

ब्यूरोका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक कोइरालाका अनुसार थाईल्यान्डबाट नेपालमा गाँजा ल्याउने प्रवृत्ति पहिला देखिएको थिएन।

"अहिले थाईल्यान्डबाट नेपालमा ल्याइएका गाँजा भारततर्फ जाने क्रम देखियो। गत आर्थिक वर्षमा थाईल्यान्डबाट ल्याइएको २०६ केजी गाँजा हामीले बरामद गर्‍यौँ भने महिला र पुरुष गरी ४५ जना भारतीयलाई समात्यौँ," बीबीसी न्यूज नेपालीसँग उनले भने।

ब्यूरोले बताएअनुसार विभिन्न पटक ल्याइएको गाँजा त्यति परिणाममा बरामद भएको हो।

"त्यसको गन्तव्य मुलुक भारत नै हो र पक्राउ पर्ने व्यक्तिहरू पनि अधिकांश भारतीय नै छन्।"

बजार भाउका कारण पनि थाईल्यान्डमा उत्पादित गाँजा तेस्रो मुलुकका लागि नेपालसम्म आउन थालेको ब्यूरोको ठम्याइ छ।

"किन यसो भइरहेको छ भनेर हामीले खोज्दा त्यसबाट हुने उच्च फाइदा कारक रहेको छ," ब्यूरो प्रमुख कोइरालाले भने।

थाईल्यान्डमा गाँजा विक्रीमा अहिले कडिकडाउ गरिएको छ

तस्बिर स्रोत, Reuters

पक्राउ गरिएका व्यक्तिहरूले प्रहरीलाई बताएअनुसार थाईल्यान्डमा प्रतिकेजी दुई लाख रुपैयाँ पर्ने गाँजा नेपालसम्म ल्याउँदा सबै खर्च जोडेर चार लाख रुपैयाँसम्म पुग्छ।

"प्रतिकेजी चार लाख रुपैयाँ परेको गाँजा भारतमा १० देखि १२ लाख रुपैयाँसम्म बिक्री गर्ने गरिएको पक्राउ पर्ने व्यक्तिहरूले हामीसँग बयानका क्रममा भनेका छन्," कोइरालाले अगाडि थपे।

"त्यो भएर लाभको मात्रा बढी भएर कारोबारीहरू त्यता आकर्षित भएका हुन् कि भन्ने हाम्रो विश्लेषण छ।"

त्यसबाहेक फरकपनले पनि थाईल्यान्डमा उत्पादित गाँजाको माग बढेको हुन सक्ने भूतपूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल बताउँछन्।

"नियन्त्रित वातावरणमा उत्पादन गरिने थाईल्यान्डको गाँजा नेपालको गाँजाभन्दा तीनदेखि चार गुनासम्म बढी कडा हुन्छ। त्यहाँको गाँजामा यहाँको भन्दा 'टेट्राहाइड्रोक्यानबिनोल (टीएचसी) पोटेन्सी' बढी पाइन्छ," उनले भने।

थाई वैधताको असर

लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार थाईल्यान्डमा गाँजा उत्पादनले वैधता प्राप्त गरिसकेपश्चात्‌ यो क्रम देखिएको हो।

सन् २०२२ को जुन महिनामा थाई सरकारले गाँजा उत्पादन तथा बिक्रीमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो।

तर यूकेलगायत देशमा थाई गाँजाको अवैध कारोबार बढेसँगै यसै वर्षको जुन महिनादेखि चिकित्सकको प्रेस्क्रिप्शनमा मात्र बेच्न पाइनेसहितका नियम लागु गरेको छ।

"गत आर्थिक वर्षबाट त्यो प्रवृत्ति हामीकहाँ देखिनु भनेको त्यहाँबाट दुरुपयोग भएको अंश चाहिँ कालोबजारीमा महँगोमा बिक्री भएर यहाँसम्म आइरहेको हो कि भन्ने हाम्रो विश्लेषण हो," कोइरालाले भने।

गाँजा नियन्त्रणमा प्रहरीको बढ्दो सक्रियताका कारण बरामद हुने परिमाण बढेको पनि उनको तर्क छ।

गाँजाको औषधीय प्रयोग पनि हुने गरेको छ

त्यसमा भूतपूर्वप्रहरी नायब महानिरीक्षक मल्ल पनि सहमत देखिन्छन्।

"बढी बरामद हुनुबाट प्रहरीको कार्यदक्षता देखिन्छ भने अर्कोतर्फ त्यसले प्रवृत्तिलाई पनि सङ्केत गर्छ," बीबीसी न्यूज नेपालीसँग उनले भने।

तर भारतीय बजारमा माग बढेपछि लागुपदार्थका कारोबारीहरू नेपालमा पनि केन्द्रित भएको हुन सक्ने उनको विश्लेषण छ।

"कालोबजारमा माग बढेपछि त्यो त चाहियो। अनि कारोबारीहरू नेपालतिर मोडिए," गाँजा बढी बरामद हुनुको एउटा कारणबारे बीबीसी न्यूज नेपालीसँग उनले भने।

पछिल्लो समय भारतको मणिपुरलगायत क्षेत्रमा अवस्था अनुकूल नहुँदा नेपालतिर अवैध रूपमा उत्पादन बढेको र गतिविधि बढेको हुन सक्ने मल्लको आकलन छ।

नेपालमा

लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख कोइरालाका अनुसार पछिल्लो समय दायर हुने मुद्दा र पक्राउ पर्ने व्यक्तिहरूको सङ्ख्या एवं बरामद हुने लागुऔषधको मात्रा हेर्दा सबै बढेको पाइएको छ।

आर्थिक वर्ष २०८१/०८२ मा लागुऔषध मुद्दामा ७,९४३ जना पक्राउ परेकामा विदेशीमा सबैभन्दा धेरै भारतका ३०७ जना रहेका तथ्याङ्क छ।

सो अवधिमा कुल ५,११० वटा मुद्दा दायर भएको र ५१, ४३९ किलोग्राम गाँजा मात्रै बरामद गरिएको लागुऔषध ब्यूरोले जनाएको छ।

पछिल्लो समय समग्रमा लागुऔषधसम्बन्धी घटना बढेको पाइएको प्रहरीले जनाएको छ

तस्बिर स्रोत, NCB

आर्थिक वर्ष २०८०/८१ मा ६,७४२ जना पक्राउ परेका थिए भने ४,४२४ वटा मुद्दा दायर भएको थियो। त्यस बेला प्रहरीले ३५,५२२ किलोग्राम गाँजा बरामद गरेको थियो।

ब्यूरोले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० मा लागुऔषधसम्बन्धी ४,१०० मुद्दा दर्ता गरिएको थियो भने ६,१८६ जनालाई पक्राउ गरिएको थियो।

विगत तीन वर्षको अवधिमा गाँजाका साथै चरेस, हेरोइन, अफिम र कोकेनको पनि ओसारपसार बढेको पाइएको छ।

लागुऔषध ओसारपसारसम्बन्धी घटनाहरू विश्वव्यापी बढिरहेको पृष्ठभूमिमा सोहीअनुसार नेपालले पनि त्यसको नियन्त्रणका उपायहरू अवलम्बन गर्नुपर्नेमा सुरक्षाविद्‌हरूको जोड छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।