सत्तामा पुगेपछि तीव्र गतिमा अफिम नष्ट गर्दै तालिबान, किसान आक्रोशित

अफिमको फूल र दाना नष्ट गर्दै तालिबानी पुरुष
    • Author, योगिता लिमये
    • Role, बीबीसी न्यूज, अफगानिस्तान

आफ्नो देब्रे काँधमा एके-४७ राइफल बोकेका र आफ्नो दाहिने हातमा ठूलो लट्ठी लिएका अब्दुलले आफूले सकेजति बल लगाएर अफिमका फूलहरू झारे। फूल र बिरुवाको डाँठ भाँचिइरहँदा त्यसबाट एक किसिमको फरक तर तीखो गन्ध हावामा फैलियो।

केही समयमै अब्दुल र अन्य तालिबानी पुरुषहरूले त्यो सानो खेतमा भएका सबै अफिमका फूलहरू झारे। उनीहरू प्राय: सबैले सुरवाल कमिज लगाएका थिए र हतियार बोकेका थिए।

केहीले लामो दाह्री पालेका थिए र केहीको आँखामा गाजल लगाइएको थियो। उनीहरूले नष्ट गरेका ती फूल र अफिमको बिरुवा ट्रकमा हाले र फेरि अर्को खेतमा गए।

यी पुरुषहरू तालिबानको नार्कोटिकविरुद्ध काम गर्ने इकाइसँग सम्बन्धित छन्। अफगानिस्तानको पूर्वमा पर्ने नाङ्गहार प्रान्तमा रहेको उक्त इकाइले हामीलाई उनीहरूले अफिम खेती उन्मुलन गर्न गरेको गस्तीमा एक दुर्लभ पहुँच दिए।

दुई वर्षभन्दा अघिसम्म देशको शासन सत्ता हातमा लिन गरिएको युद्धमा उनीहरू विद्रोही लडाकु थिए।

उक्त युद्ध उनीहरूले जिते र अहिले उनीहरू सत्तापक्षमा रहेर आफ्ना नेताले भनेको काम गरिरहेका छन्।

सन् २०२२ को एप्रिलमा तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले अफिम उत्पादन हुने ती बिरुवाको खेतीमाथि प्रतिबन्ध लाग्ने बताएका थिए।

अफिम हेरोइन नामक लागुऔषध बनाउनका लागि चाहिने महत्त्वपूर्ण सामग्री हो। त्यस्तो प्रतिबन्ध तोड्नेको खेती नष्ट गरिने र ती मानिसविरुद्ध शरिया कानुन अनुसार सजाय हुने बताइएको थियो।

तालिबानका प्रवक्ताले बीबीसीसँग अफिमको हानिकारक असरहरू र धार्मिक आस्था विपरीत हुने कारण त्यस्तो प्रतिबन्ध लगाइएको बताए।

अफगानिस्तानमा विश्वको ८० प्रतिशतभन्दा बढी अफिम उत्पादन हुन्छ। युरोपको बजारमा पाइने ९५ प्रतिशत हेरोइन अफगानिस्तानमा फलेका अफिमबाटै बन्ने गर्छ।

अफिमको फूल खेतीमाथि चालिएको प्रत्यक्ष कदमले कस्तो असर गरेको छ भन्नेबारे रिपोर्ट गर्न बीबीसी अफगानिस्तानका विभिन्न ठाउँमा पुगेको छ र भूउपग्रहबाट खिचिएका तस्बिरहरूको समेत विश्लेषण गरेको छ।

अफिम खेती सखाप पार्न तालिबानका नेताहरू जति सफल अरू कोही देखिएका छैनन्।

रेडलाइन
रेडलाइन

अफिमको खेती लगातार घट्ने क्रममा

अफगानिस्तानका अफिम खेती धेरै हुने प्रान्तहरूमा पछिल्लो वर्ष निकै कमी आएको हामीले पाएका छौँ।

एक जना विज्ञले गत वर्ष वार्षिक खेतीमा ८० प्रतिशतले कमी आएको बताए।

अफिमको खेती हुने ठाउँमा गहुँको खेती गर्नुपर्दा आर्थिक रूपमा आफूहरूलाई गाह्रो भएको धेरै किसानहरूले बताएका छन्।

हामीले स्थलगतरूपमा त्यहाँको अवस्था हेर्नका लागि अफगानिस्तानको नाङ्गहार, कान्दहार र हेलमन्ड प्रान्तका विभिन्न ठाउँमा पुग्यौँ।

पहाडी क्षेत्रमा रहेका ती खेतहरूमा पुग्न हामीले कतै उबडखाबड बाटो, कतै हिलाम्मे बाटो त कतै हिँडेरै यात्रा तय गर्‍यौँ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अफिमको खेती मास्दै तालिबान

तालिबानले सन् २०२२ मा अफिम भित्र्याउने बेलासम्म खेतीमाथि प्रतिबन्धात्मक आदेश दिइसकेको थिएन।

संयुक्त राष्ट्र सङ्घको लागुऔषध र अपराधसम्बन्धी कार्यालय (युएनओडीसी) का अनुसार सन् २०२१ भरि अफिमको उत्पादन एक तिहाइले वृद्धि भएको थियो।

यो वर्ष भने अवस्था निकै फरक छ। हामीले स्थलगत रूपमा देखेको प्रमाणसँग मिल्दो तथ्य भूउपग्रहबाट खिचिएका तस्बिरले पनि देखाएका छन्।

अफगानिस्तानको लागुऔषध व्यापारबारे एक अग्रणी विज्ञ डाक्टर डेभिड म्यान्सफिल्ड यूकेस्थित एक कम्पनी एल्सिससँग काम गर्छन् जसले भूउपग्रहका तस्बिरहरूको विश्लेषण गर्छ।

"सन् २०२२ मा भएको भन्दा २० प्रतिशतले कम खेती हुने देखिएको छ। कमीको मात्रा यसअघि कहिल्यै नभएको तहमा हुनेछ," उनले भने।

तालिबानले प्रतिबन्ध लगाएपछि त्यस्तो आदेशको धेरै किसानहरूले पालना गरेका छन् र जसले पालना गर्न मानेका छैनन् उनीहरूको खेती तालिबान लडाकुहरूले नष्ट गर्दै आएका छन्।

नाङ्गहारमा हामीसँगै रहेका तालिबान गस्ती इकाइका कमान्डर तूर खानले आफूहरूले झन्डै पाँच महिनादेखि अफिमको खेती नष्ट गर्दै आएको र अहिलेसम्म १० औँ हजार हेक्टर नष्टमा गरिसकेको बताए।

किसानको आक्रोश

"मेरो खेती नष्ट गर्नेको भगवान्‌ले घर नष्ट गरिदिऊन्," आफ्नो अफिम खेतीलाई तालिबानले नष्ट गरिदिएपछि आक्रोशित बनेकी एक कृषक महिलाले भनिन्।

"मैले आज बिहान तपाईँ आफैँ खेती नष्ट गर्नूस् भनेको थिएँ। तपाईँले गर्नुभएन, त्यसैले मैले गर्नुपर्‍यो," तूर खानले ती महिलालाई जबाफ फर्काउँदै भने। उनी घरभित्र छिरिन्।

उनको छोरालाई तालिबानले समातेर राखेको थियो र केही घण्टा पहिला मात्रै रिहा गरिदिएको थियो।

अफिमको फूल खेती नष्ट गर्दै तूर खान र तालिबानका अन्य सदस्य
तस्बिरको क्याप्शन, अफिमको फूल नष्ट गर्दै तूर खान र तालिबानका अन्य सदस्य

यो क्षेत्रमा स्थानीय बासिन्दाहरू आक्रोशित हुने हुँदा तालिबान हतियारसहित ठूलो सङ्ख्यामा जाने गरेको छ।

उन्मुलन अभियानका क्रममा कम्तीमा एक जना सर्वसाधारणको गोली लागि मृत्यु भएको छ भने अन्य हिंसात्मक झडपहरू भएका विवरण पनि आएका छन्।

आफ्नो खेतीमा अफिमका फूलहरू नष्ट गरेको हेरिरहँदा अली मोहम्मद मियाको अनुहारमा डर देखिन्छ।

नष्ट गरिसक्दा खेतभरि गुलाफी रङ्गका फूल, अफिमको हरियो दाना र भाँचिएका डाँठ छरपस्ट देखिन्छ।

तालिबानले रोक लगाउँदा लगाउँदै किन उनले अफिमको खेती गरे?

हाम्रा प्रश्नको जवाफ दिँदै उनले भने, "घरमा खानेकुरा छैन, बालबालिका भोकै पर्दै छन् भने अरू के नै गर्न सकिन्छ र?," उनले भने।

"हाम्रो खेत धेरै छैन। हामीले त्यसमा गहुँ लगायौँ भने अफिमबाट हुनेभन्दा धेरै थोरै मात्रै कमाउँछौँ।"

किसान अली मोहम्मद मिया
तस्बिरको क्याप्शन, अफिमको खेतीमा रोक लगाएसँगै अली मोहम्मद मियाले गहुँजस्तो सस्तो अन्न लगाएका छन्

केवल लट्ठीको प्रयोग गरेर जुन गतिमा तालिबानले अफिम खेती नष्ट गर्ने काम गरिरहेको छ त्यो उल्लेखनीय छ।

२०० देखि ३०० वर्ग मिटरको क्षेत्रफलमा रहेका छ वटा खेतको अफिमका बिरुवा उनीहरूले आधा घन्टभित्र नै नष्ट गरे।

खानै नपुग्ने आफ्ना जनताको आम्दानीको स्रोत मास्दा कस्तो लाग्छ भनेर हामीले तूर खानलाई सोध्यौँ।

"यो हाम्रा नेताले दिएको आदेश हो। उनी प्रतिको हाम्रो निष्ठा यस्तो छ कि उनले मेरो साथीलाई झुन्ड्याउ भने पनि म त्यो मान्छु र उनीसमक्ष आत्मसमर्पण गर्छु," उनले भने।

अफगानिस्तानको दक्षिण-पश्चिम हेलमन्ड प्रान्त अफगानिस्तानको सबैभन्दा धेरै अफिम उत्पादन हुने क्षेत्र थियो जहाँ देशको आधा अफिम उत्पादन हुन्थ्यो।

हामी त्यहाँ अहिले कस्तो देखिन्छ भनेर हेर्न गयौँ।

गत वर्ष त्यहाँ हामीले पूरै भूभाग अफिमको बिरुवाले ढाकेको देखेका थियौँ।

यस पटक भने हामीले त्यहाँ खेतहरूमा पनि कतै अफिमको बिरुवा देखेनौँ।

अफिम र गहुँ उत्पादन

एल्सिसको विश्लेषणले हेलमन्डमा अफिमको खेती ९९ प्रतिशतले घटेको देखाउँछ।

"हेलमन्ड प्रान्तको उच्च रिजोलुसनको तस्बिरले अघिल्लो वर्ष १२९,००० हेक्टर खेती रहेकोमा यो वर्ष घटेर १,००० हेक्टरमा पुगेको देखाएको छ," डेभिड म्यान्सफिल्डले भने।

गहुँ खेती

हामीले निआमतुल्लाह दिलसोज नाम गरेका किसानलाई मार्जाह जिल्लामा भेट्यौँ जुन हेलमन्डको राजधानी लश्कर गाहको दक्षिणमा पर्छ।

हामी पुग्दा उनी गहुँ काट्दै थिए। गत वर्ष, त्यही खेतमा उनले अफिम फलाएका थिए।

तालिबानको बलियो पकड रहेको हेलमन्डमा किसानहरूले खेती नगर्न गरिएको आदेश पालना गरेको बताए।

"घर छेउको बारीमा केही किसानले अफिम खेती गरेका छन् तर तालिबानले थाहा पायो भने त्यसलाई पनि नष्ट गरिदिन्छ," निआमतुल्लाहले भने।

खेतमा गहुँ काटिरहेको र चरा कराइरहेको बाहेक अन्य आवाज यहाँ सुनिँदैन।

युद्धका बेला यही क्षेत्र अग्र मोर्चा थियो। हेलमन्डमा नै यूके सैन्य फौजको आधार शिविर थियो र त्यहाँ केही आक्रामक लडाइँहरू भएका थिए।

हेलमन्ड प्रान्तमा गहुँ र अफिम खेतीको दृश्य
तस्बिरको क्याप्शन, हेलमन्डको अफिम खेती धराशायी भएको छ
घट्दै अफिम खेती

निआमतुल्लाह अहिले २०/२२ वर्षका भए। उनी जीवनमै पहिलो पटक आफूमाथि बम बर्सिएला भन्ने डर बिना नै घरबाहिर हिँड्न सकेका छन्।

तर लामो युद्ध झेलेका मानिसहरूलाई भने अफिममाथि लगाइएको रोक एक प्रहार जस्तो भएको छ किनभने त्यसले उनीहरूको आर्थिक अवस्था धराशायी बनाएको छ।

अफगानिस्तानमा दुई तिहाइ मानिसलाई अर्को छाक कसरी टार्ने भन्ने थाहा छैन।

"हामी एकदमै निराश छौँ। अफिमबाट हुने आम्दानीको एक चौथाइ पनि गहुँबाट हुँदैन," उनले भने।

"मैले आफ्नो परिवारको आवश्यकता पूरा गर्न सक्दिनँ। मैले ऋण लिनुपर्छ। भोकमरी बढेको छ र सरकारबाट हामीले कुनै सहायता पाएका छैनौँ।"

गहुँको बाली भित्र्याउँदै किसान
तस्बिरको क्याप्शन, अफिमको ठाउँमा गहुँको बाली भित्र्याउन खोज्दै निआमतुल्लाह

हामीले तालिबान सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदलाई सरकारले मानिसहरूलाई सहायता गर्न के गर्दैछ भनेर सोध्यौँ।

"मानिसहरू गरिब छन् र पीडित छन् भन्ने हामीलाई थाहा छ। तर अफिमले उनीहरूलाई फाइदाभन्दा हानी बढी गर्छ। ३ करोड ७० लाख मानिसमध्ये ४० लाख मानिसहरू लागुऔषधको कुलतमा छन्। त्यो भनेको ठूलो सङ्ख्या हो," उनले भने।

"जीवनयापन गर्ने वैकल्पिक स्रोत नरहेपछि हामी चाहन्छौँ कि आवश्यकतामा परेका मानिसहरूलाई अन्तर्राष्ट्रिय समुदायले मद्दत गरोस्।"

तालिबानले पश्चिमा शक्ति र अफगानिस्तानको यसअघिको सरकारसँग लड्दा उनीहरूको आम्दानीको मुख्य स्रोत अफिम नै थियो भन्ने संयुक्त राष्ट्रसङ्घ, अमेरिका र अन्य सरकारहरूको कथनलाई उनले अस्वीकार गरे।

रेडलाइन
रेडलाइन

तालिबान सरकारले महिलाहरूलाई गैरसरकारी संस्थामा काम गर्न रोक लगाएर अन्तर्राष्ट्रिय सङ्गठनहरूको कामलाई जोखिममा राखेका बेला तालिबानले कसरी तिनै संस्थाहरूबाट सहयोगको अपेक्षा गर्न सक्छ भनेर हामीले सोध्यौँ।

"अन्तर्राष्ट्रिय समुदायले मानवीय मुद्दाहरूलाई राजनीतिक विषयसँग जोड्न हुँदैन," प्रतिक्रियामा उनले भने।

"अफिमले अफगानिस्तानलाई मात्रै हानी गर्ने होइन यसले पूरै विश्वलाई असर गर्छ। यस्तो ठूलो हानीबाट विश्वलाई जोगाएपछि अफगानका मानिसहरूले त्यसको बदलामा मद्दत पाउनुपर्छ।"

अफिमको मूल्य वृद्धि

अफिममा रोक लगाइनुले यसको मूल्य बढ्ने निश्चित छ। तालिबानको आध्यात्मिक स्थल र अफिम खेती धेरै हुने अर्को महत्त्वपूर्ण सहर कान्दहरमा हामीले एक जना किसान भेट्यौँ। गत वर्ष उनले फलाएका अफिमको साना दुई वटा प्लास्टिकको झोला बोकिरहेका उनको परिचय हामीले लुकाएका छौँ।

"गत वर्ष रोक लाग्नुअघि मैले यस्तै एउटा झोला अहिले आउने मूल्यभन्दा पाँच गुणा कममा बेचेँ। यसको मूल्य अझै बढोस् भनेर म कुरिरहेको छु ताकि परिवारलाई लामो समय धान्न सकियोस्। हाम्रो अवस्था एकदमै खराब छ। खानेकुरा र लुगा किन्नका लागि मैले ऋण लिइसकेँ। अफिम हानिकारक हो भन्ने मलाई थाहा छ तर हामीसँग अरू विकल्प के छ?" उनले प्रश्न गरे।

अफिम राखिएका दुईवटा झोला
तस्बिरको क्याप्शन, खेतीमा रोक लगाइए पनि हामीले कुरा गरेका किसान आफूले फलाएका अफिम अझै महङ्गोमा बेच्ने आशामा छन्

अवैध लागुऔषधको तस्करीको सञ्जाल हुँदै तलैसम्म हेरोइनको मूल्यमा असर पर्न अझै केही समय लाग्न सक्छ।

"२० वर्षसम्म हेरोइन र अफिमको मूल्य वृद्धि हुँदाहुँदै र यो वर्ष अफिमको खेतीमै कमी आए पनि विगत ६ महिनामा भने त्यसको मूल्य घटेको छ," म्यान्सफिल्डले भने।

"यसले ठूलो सङ्ख्यामा अफिमको भण्डारण छ, हेरोइनको उत्पादन र व्यापार निरन्तर भइरहेको छ भन्ने देखाउँछ। छिमेकी राज्यहरू र अन्यत्र पनि देखिँदा हेरोइनको अभावको सङ्केत गर्दैन।"

सन् २००० मा तालिबानको पहिलो सत्ताका बेला यूएनओडीसीका पूर्व अधिकारी माइक ट्रेस यूके सरकारको लागुऔषधसम्बन्धी नीतिका वरिष्ठ सल्लाहकार थिए।

"त्यसले पश्चिमा मूल्य र बजारमा व्यापक र तत्कालीन असर पर्दैन किनभने लागुऔषध तस्करी हुने मार्गमा धेरै ठूलो मात्रामा भण्डारण गरिएको छ," उनले भने।

"बजारको प्रकृति त्यही हो र विगत २० वर्षमा आधारभूत रूपमा त्यो परिवर्तन भएको छैन।"

खेतमा अफिमका बिरूवा

अमेरिकी हवाई हमला

तालिबानको मुख्य आम्दानीको स्रोत कटौती गर्ने आशामा अफगानिस्तानमा अफिमको उत्पादन निर्मूल पार्ने र तस्करी घटाउने उपायस्वरूप अमेरिकाले अर्बौँ डलर खर्च गरेको थियो।

तालिबान नियन्त्रित र अफिम खेती भएको भूभागमा अमेरिकाले हवाई हमलाहरू गरेर अफिमको भण्डार नष्ट गरेको थियो र प्रयोगशालाहरूमा छापा मारेको थियो।

तर अमेरिकी समर्थन रहेको यसअघिको अफगानिस्तानको सत्ताले नियन्त्रण गरेका क्षेत्रमा पनि अफिम निर्बाध रूपमा लगाएको थियो।

सन् २०२१ मा तालिबानले शासन आफ्नो हातमा लिनुअघि बीबीसी आफैँले त्यो अवस्था देखेको थियो।

अहिले भने, पश्चिमाले सक्दैन भनेको काम तालिबानले अफगानिस्तानमा हासिल गरेको देखिएको छ। तर नियन्त्रण कति लामो समय टिक्न सक्छ भन्ने प्रश्नहरू भने यथावत् छन्।

यूके र बाँकी युरोपमा हिरोइनको लत हुँदासम्म अफगानिस्तानमा अफिम खेतीमा आएको नाटकीय कमीले मानिसहरू अर्कै किसिमको नार्कोटिकतिर जाने देखिने माइक ट्रेस बताउँछन्।

"मानिसहरूले अफिमभन्दा धेरै खराब अन्य लागुऔषधको प्रयोग गर्न सक्ने देखिन्छ।"

थप रिपोर्टिङ इमोजेन एन्डरसन र रेसल राइटबाट