नयाँ नागरिकता कानुन: तराईका जिल्लामा कतै छ महिनापछि पालो, कतै खुकुलो

जन्मका आधारमा नागरिकता पाएकाहरूका सन्तानले वंशजको नागरिकता लिने क्रम चलिरहँदा तराईका केही जिल्लामा अत्यधिक चाप देखिएको छ। कतिपय जिल्लामा महिनौँपछि पालो आउने गरी टोकन वितरण भएको छ।

गृह मन्त्रालयका अनुसार जन्मका आधारमा नागरिकता लिएकाहरूका २४ हजार ६६७ जना सन्तानले नयाँ नागरिकता ऐनअनुसार वंशज नागरिकता लिएका छन्।

मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख रुद्रादेवी शर्माले भनिन्, “खास गरी तराईका जिल्लाहरूमा त्यस्तो नागरिकता लिनेहरूको चाप छ।”

बहुचर्चित नागरिकता ऐन राष्ट्रपतिले जेठ १७ गते प्रमाणीकरण गरेका थिए। सर्वोच्च अदालतले जेठ २१ गते अल्पकालीन अन्तरिम आदेश दिएर वितरण रोकिदिएको थियो।

तर सर्वोच्चले असार ७ गते उक्त आदेशलाई निरन्तरता दिन नपर्ने ठहर गरेपछि नागरिकता वितरण भइरहेको हो।

मधेस प्रदेशको अवस्था

गृह मन्त्रालयका अनुसार मधेसका ८ जिल्लामध्ये सबैभन्दा धेरै रौतहटमा ३,०३०, सर्लाहीमा २,६२५ र पर्सामा २,३४९ जनाले नागरिकता लिएका छन्।

सिराहामा नागरिकता लिनेको सङ्ख्या एक हजार जति छ। प्रमुख जिल्ला अधिकारी (प्रजिअ) राजेन्द्रदेव पाण्डेका अनुसार त्यहाँ चाप बढी भएकाले बिहान सात बजेटबाट नागरिकता दिने गरिन्छ। प्रजिअ पाण्डेले भने, “एसईईको रिजल्टपछि नियमित रूपमा नागरिकता लिनेको सङ्ख्या पनि बढेको छ।”

महोत्तरीका सहायक प्रजिअ उपेन्द्र न्यौपानेका अनुसार त्यहाँ हालसम्म २,२६८ जनाले नागरिकता लिएका छन्। त्यहाँ ७,९३५ जनाले जन्मका आधारमा नागरिकता लिएको विवरण छ।

सप्तरीमा नागरिकता लिनेको सङ्ख्या ६३३ छ। सहायक प्रजिअ लेवन काश्यप अधिकारी भन्छन्, “जिल्लाका १८ वटा पालिकाहरूमध्ये बार छुट्ट्याएर दैनिक तीन वटा पालिकाको सिफारिस अनुसार नागरिकता दिने गरेका छौँ।”

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार १,२०० जना जतिले नागरिकता लिएका छन्। उनले भने, “दैनिक १०० वटा टोकन दिइन्छ। छानबिन र प्रमाण हेरेर दैनिक १५-१६ जनाले पाइरहेका छन्। टोकन लिन बिहान साढे ८ बजे गेट खुला गर्छौँ।”

बाराका सहायक प्रजिअ कृष्णप्रसाद आचार्यका अनुसार कलैयास्थित जिल्ला प्रशासन कार्यालयबाट ७७० जनाले नागरिकता लिएका छन्। सिराहा, सिम्रौनगढ र कोल्हवीस्थित इलाका प्रशासन कार्यालयहरूबाट पनि वितरण भइरहेको छ। टोकन प्रणाली लागू गरिएको छ। र त्यहाँ आउँदो दुई महिनासम्मको निम्ति टोकन वितरण भइसकेको छ।

कोशीमा उस्तै चाप, पुसमा पालो?

कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा नागरिकता लिनेको सङ्ख्या धेरै छ। झापाका प्रजिअ शिवराम पोखरेलका अनुसार २६ हजारभन्दा बढीले जन्मको आधारमा नागरिकता लिएकोमा उनीहरूका करिब २,१०० सन्तानले वंशज नागरिकता प्राप्त गरेका छन्। त्यहाँ असोजमा पालो आउने गरी 'क्यू' तोकिएको छ।

मोरङका सहायक प्रजिअ शरदकुमार पोखरेलले दिएको जानकारी अनुसार असार ११ गतेदेखि हालसम्म ४,५०० सय जनाले नागरिकता लिएका छन्। त्यहाँ जन्मको आधारमा नागरिकता लिनेको सङ्ख्या करिब ३५,००० छ। पोखरेलले भने, “पुस महिनाको टोकन वितरण भइरहेको छ।”

सुनसरीमा १,०७५ पुरुष र ९०० महिला गरी १,९७५ ले नागरिकता लिएका छन्। त्यहाँको जिल्ला प्रशासनले आलोपालो आधारमा पालिकाको सिफारिस अनुसार नागरिकता दिने गरेको छ र अहिले चाप कम छ।

सहायक प्रजिअ ओमप्रसाद भट्टराईले भने, “अन्यत्रभन्दा जन्मका आधारमा नागरिकता लिनेको सङ्ख्या दुहबी नगर पालिकामा धेरै भएकाले सुरुको दुई हप्ता जति भिड भयो। अहिले त कागजात पुर्‍याएर आउने सबैले नागरिकता लिएर जाने गर्नु भएको छ।”

लुम्बिनीमा भिड घट्दै

लुम्बिनी प्रदेशको रुपन्देहीमा ३,९१७ र कपिलवस्तुमा २,३५८ जनाले नागरिकता लिएको गृह मन्त्रालयले जनाएको छ।

पश्चिम नवलपरासीमा करिब २,००० हजार जनाले नागरिकता लिएका छन्। त्यहाँ एक महिना पछिसम्मको टोकन वितरण भइसकेको छ। सहायक प्रजिअ प्रकाश देवकोटाका भन्छन्, “दैनिक ८० जनालाई नागरिकता दिने लक्ष्य लिएकोमा प्राविधिक समस्याले गर्दा सरदर ७० जनालाई मात्र दिन सकिएको छ।”

बाँकेका १,७०० जतिले नागरिकता लिएका छन्। टोकन आउँदो डेढ महिनासम्मको वितरण भइसकेको छ। तर सहायक प्रजिअ हरिप्रसाद शर्मा भन्छन्, “सुरुमा निकै भिडभाड होला जस्तो थियो, तर अहिले समस्या छैन।”

बर्दियामा ८७० जना पुरुष र ५४२ जना महिला सहित १,४१२ जनाले नागरिकता लिएका छन्। सहायक प्रजिअ मोहनप्रसाद अर्यालले भने, “सुरुमा एक हप्ता दश दिन जति भिड हुँदा वडाहरूको आलोपालो दिन तोकेका थियौँ, अहिले भिड छैन, दैनिक १२-१४ जना मात्रै आउने गरेका छन्।”

कुन कुन जिल्लामा सजिलो

सुदूर पश्चिमको कैलालीमा ८२ जनाले नागरिकता लिएका छन्। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले भने, “तीन-चार दिनमा मात्र नागरिकता लिन आउने गरेको पाइएको छ।”

कञ्चनपुरमा जन्मका आधारमा करिब ८०० जनाले नागरिकता लिएका छन्। हालसम्म उनीहरूका करिब ६० जना सन्तानले वंशजको नागरिकता पाएका छन्। सहायक प्रजिअ धर्मराज जोशी भन्छन्, “लिन आएका जति सबैले पाइरहनु भएको छ, यहाँ चाप छैन।”

गण्डकी प्रदेशमा पर्ने पूर्वी नवलपरासीका सहायक प्रजिअ सुवासकुमार लामिछानेका अनुसार समग्र सेवाको निम्ति टोकन प्रणाली लागु छ। उनले भने, “जन्मका आधारमा नागरिकता लिएकाहरूको चाप अन्य जिल्लाहरूमा जस्तो धेरै छैन।”

वाग्मती प्रदेशमा पर्ने चितवनमा २,३२८ जनाले नागरिकता लिएका छन् तर छिमेकी मकवानपुरमा त्यो सङ्ख्या ११२ रहेको सहायक प्रजिअ नेत्रप्रसाद शर्माले जानकारी दिए।

जन्मको आधारमा नागरिकता लिनेको सङ्ख्या तराईका जिल्लाहरूमा धेरै रहेकाले नयाँ ऐन अनुसार नागरिकता लिने उनीहरूका सन्तानको चाप पनि ती जिल्लाहरूमै धेरै देखिएको गृह मन्त्रालयको भनाइ छ।

काभ्रे, धनकुटा र ताप्लेजुङ लगायतका जिल्लाहरूमा त्यस्तो नागरिकता लिनेको सङ्ख्या १-२ वटा मात्रै छ।

बल्झिएको नयाँ समस्या के हो?

नयाँ कानुन अनुसार जन्मका आधारमा नागरिकता लिएकाहरूका सन्तानले वंशजको आधारमा नागरिकता लिन आमा र बुवा दुवैको नागरिकता पेस गर्नुपर्छ।

झापाका प्रजिअ शिवराम पोखरेलका अनुसार सन्तानको नागरिकता बनाउन बुवा वा आमाले पनि नागरिकता बनाउने क्रम पनि देखिएको छ।

महोत्तरीका सहायक प्रजिअ उपेन्द्र न्यौपाने भन्छन्, “बाबु वा आमामध्ये कुनै एकको नागरिकता नभएका मानिस दैनिक ५-७ जना फर्किरहेका छन्। त्यसलाई हामीले सम्बोधन गर्न सकेका छैनौँ।”

जन्म दर्तामा बाबु वा आमाको नाम लेखिएको तर अहिले एक जना सम्पर्कमा नरहेको लगायतका कारणले होस् वा कुनै एकको मृत्यु भइसकेको अवस्थामा उनीहरू दुवैको नागरिकता नहुँदा नागरिकता दिन नसकिएको अधिकारीहरूले जनाएका छन्।

सिराहामा पनि त्यस्तो अवस्था देखिएको छ। त्यहाँका प्रजिअ राजेन्द्रदेव पाण्डेका अनुसार आमा र बुवामध्ये एकको नागरिकता नभएका केही युवाहरूको काम रोकिएको छ।” उनले नयाँ ऐनअनुसार नियमावली बनेपछि त्यस्ता समस्याबारे केही प्रस्ट हुने आशा व्यक्त गरे।

गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा भन्छिन्, “नियमावलीबारे रायको लागि विभिन्न निकायमा पठाएका छौँ, त्यो प्रक्रियामा छ।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।