अरूको 'परिचय चोरेर' उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर

    • Author, म्याक्स माट्सा
    • Role, बीबीसी न्यूज

संयुक्त राज्य अमेरिकामा सरकारी वकिलहरूले एक अमेरिकी महिलालाई अन्य अमेरिकी नागरिकहरूको परिचय चोरेर उत्तर कोरियाली नागरिकहरूलाई जागिर खान र उनीहरूको तलब उत्तर कोरिया पठाउन सघाएको आरोपमा मुद्दा दायर गरेका छन्।

उक्त प्रकरणमा एरिजोनाकी क्रिस्टिना च्याप्मनसहित तीन उत्तर कोरियाली नागरिकविरुद्ध मुद्दा परेको हो।

अभियोजनकर्ताहरूका अनुसार च्याप्मनले अमेरिकी कम्पनीहरूमा कार्यालय नगई काम गर्न मिल्ने सूचनाप्रविधिसम्बन्धी जागिर दिलाउन अमेरिकी नागरिकहरूको नाम र परिचय चोरी तथा दुरुपयोग गरेकी थिइन्।

उनीविरुद्ध जालसाजीका सातवटा अभियोग लागेका छन्।

अनुसन्धानकर्ताहरूले यो प्रकरण देखेर आफूहरूलाई चकित भएको बताएका छन्।

उनीहरूका अनुसार ६० जनाको परिचय चोरेर गरिएको कामबाट ७० लाख अमेरिकी डलर बराबरको तलब बुझेको पाइएको छ।

उत्तर कोरिया पठाइएको उक्त रकम अस्त्र निर्माण परियोजनामा प्रयोग भएको हुन सक्ने आशङ्का गरिएको छ।

उत्तर कोरियाली नागरिकहरूले कुनकुन कम्पनीमा काम गरे

सन् २०२० को अक्टोबरदेखि अमेरिकी नागरिकको नाममा उत्तर कोरियालीहरूलाई काम दिन थालिएको बता[एको छ। त्यसमा ३०० अमेरिकी कम्पनी परेको ठानिन्छ।

अदालतमा दर्ता गरिएको अभियोगपत्रका अनुसार त्यसरी अमेरिकी कम्पनीमा जागिर खानेहरू “उच्च सीप भएका सूचनाप्राविधिकहरू” थिए।

आफ्नो कम्पनीमा उत्तर कोरियाली नागरिकहरूले त्यसरी काम गरेको भेउ सञ्चालकहरूलाई थिएन।

ती कम्पनीहरूको विवरण खुलाइएको छैन। तर अधिकारीहरूले अमेरिकाका सबैभन्दा ठूला ५०० मध्येका कम्पनीहरू पनि रहेको बताएका छन्।

उत्तर कोरियालीहरूले गोप्य रूपमा काम गरेका कम्पनीहरूमा केही प्रमुख टेलिभिजन नेटवर्क, इन्डिक्टा डिफेन्स कम्पनी, सिलिकन भ्यालीको एउटा प्रमुख प्रविधि कम्पनी र अमेरिकाको एक प्रतिष्ठित कारनिर्माता पनि रहेको बताइएको छ।

अमेरिकी कम्पनीमा काम पाउन कसरी सम्भव भयो

अभियुक्त च्याप्मन अहिले ४९ वर्षकी भइन्। उनले आफ्नो घरबाटै "ल्यापटप फार्म" सञ्चालन गरेको बताइन्छ। उनी आफ्नो घरमा अमेरिकी कम्पनीहरूले आफ्ना कर्मचारीलाई दिने ल्यापटप खोल्थिन् र विदेशमा भएका उत्तर कोरियाली नागरिकहरू अमेरिकामै भएको देखिने बनाउँथिन्।

त्यहाँबाट उनी सूचनाप्रविधिमा काम गर्ने कर्मचारीहरूलाई अमेरिकाबाहिरै बसेर ल्यापटपमा जोड्न सहयोग गर्थिन्। साथै उनले ती कम्पनीहरूबाट उत्तर कोरियालीहरूको तलब बुझ्न पनि सहयोग गर्ने गरेको ५६ पृष्ठ लामो अभियोगपत्रमा उल्लेख छ।

अभियोगपत्रअनुसार त्यसो गरिदिएबापत उनी ती मानिसहरूसँग प्रत्येक महिना निश्चित रकम लिने गर्थिन्।

उनीविरुद्ध जालसाजी गरेर अमेरिकी सरकारी कार्यालयहरूमा जागिर पाउने प्रयास गरेको आरोप पनि लागेको छ।

"कार्यालयमा उपस्थित नगराई सूचनाप्रविधिको काम दिने अमेरिकी कम्पनी र सरकारका लागि यो प्रकरण जनाउघण्टी हुनुपर्छ,” अमेरिकाको न्याय मन्त्रालयको अपराध महाशाखाकी प्रमुख निकोल आर्जेन्टिरी भन्छिन्।

"यस्ता अपराधहरूले उत्तर कोरिया सरकारलाई फाइदा पुर्‍यायो, उसले पैसा पायो र कतिपय कम्पनीहरूको व्यापारिक गोप्यता पनि चोरी भएको हुन सक्छ।"

अधिकारीहरूका अनुसार च्याप्मनलाई सन् २०२० मा एक अपरिचित व्यक्तिले सम्पर्क गरेर अमेरिकामा आफ्नो कम्पनीको "प्रतिनिधि" बनिदिन आग्रह गरेका थिए।

मुद्दा परेका उत्तर कोरियाली नागरिक हो हुन्

अमेरिकी महिलासँगै मुद्दा चलाइएकाहरूमा उत्तर कोरियाली नागरिकहरू जिओ हान, चुन्जी जिन, हाओरान शु पनि छन्। तर उनीहरू फरार छन्।

अमेरिकामा मुद्दा चलाइएका तीनै जनाको सम्बन्ध उत्तर कोरियाको अस्त्र उद्योग विभागसँग भएको अमेरिकाको विदेश मन्त्रालयले जनाएको छ।

उक्त विभागले उत्तर कोरियाका लागि बलिस्टिक क्षेप्यास्त्र र अन्य हातहतियार उत्पादन गर्ने जनाइएको छ।

अमेरिकाको विदेश मन्त्रालयले उत्तर कोरियाको सम्पत्ति शुद्धीकरण र आर्थिक ठगीसँग जोडिएका अपराध रोक्न सक्ने सूचना दिने व्यक्तिलाई ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ।

अमेरिका सरकारले च्याप्मनलाई बिहीवार एरिजोनाबाट पक्राउ गरेको थियो।

उनले आफ्नो कुरा राख्न कुनै कानुन व्यवसायी नियुक्त गरे वा नगरेको अझै खुलेको छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।