'भारतको महाराष्ट्रमा बुधवारको रेल दुर्घटनामा मारिनेमध्ये ४ जना नेपाली'

भारतमा रेल सुधारका लागि कैयौँ कार्यक्रमहरू घोषणा गरिएका छन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, भारतमा रेल सुधारका लागि कैयौँ कार्यक्रमहरू घोषणा गरिएका छन्

भारतको महाराष्ट्रमा बुधवार भएको एक दुर्घटनामा रेलभित्र आगो लागेको हल्ला फैलिएपछि हामफाल्ने क्रममा अर्को रेलमा ठोक्किएर ज्यान गुमाएका १३ जना मध्ये चार जना नेपाली पनि रहेको अधिकारीहरूले बताएका छन्।

भारतस्थित नेपाली राजदूतावासका अधिकारीहरूले उक्त दुर्घटनामा भएको नेपालीहरूको मानवीय क्षतिबारे आफूहरू जानकार रहेको र भारतीय पक्षसँग सम्पर्कमा रहेको जनाएका छन्।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका काउन्सिलर सञ्जीव शर्मा दासले बीबीसीसँग भने, "मृतकहरूको सनाखत भएको जानकारी हामीले पाएका छौँ।"

दूतावासका अनुसार ज्यान गुमाउनेमध्ये चारै जनाको सनाखत भएको छ।

ज्यान गुमाउने नेपालीमा दुई जना पुरुष र दुई जना महिला रहेको भनिएको छ। त्यसमध्ये एक पुरुष कोशी प्रदेशका र अर्की महिला सुदुरपश्चिमकी रहेको भारतीय निकायलाई उद्धृत गर्दै अधिकारीहरूले जनाएका छन्।

अहिलेसम्म हामीलाई के थाहा छ?

भारतीय अधिकारीहरूले उक्त दुर्घटना बुधवार स्थानीय समयानुसार दिउँसो ४ बजेर १९ मिनेटमा भएको बताएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

ती यात्रुहरू लखनउबाट मुम्बइतर्फ गइरहेको बताइएको छ। रेलवे अधिकारीहरूका अनुसार पश्चिम महाराष्ट्रमा कसैले आपत्कालीन चेन तानेपछि रेल रोकिएको र उक्त दुर्घटना भएको बताइएको छ।

पुष्पक एक्सप्रेस रेलमा सवार यात्रुहरू आगोबाट जोगिन त्यसबाट ओर्लिँदा नजिकैको ट्र्याकमा विपरित दिशाबाट आइरहेको कर्नाटक एक्सप्रेस रेलमा ठोक्किएका विवरण आएका छन्। अहिलेसम्म उक्त पुष्पक रेलमा वास्तविक रुपमा नै आगो लागेको थियो या थिएन भन्ने प्रस्ट भइसकेको छैन।

उक्त दुर्घटनामा १० जना घाइते भएका पनि विवरण आएका छन्। तीमध्ये दुई जना नेपाली रहेको आफूले जानकारी पाएको दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूले बताएका छन्।

हालैका वर्षहरूमा भारतले आफ्नो रेल सेवालाई अत्याधुनिक बनाउन ३० अर्ब डलरका कार्यक्रमहरू घोषणा गरेको छ। तर शृङ्खलाबद्ध दुर्घटनाहरूले त्यसलाई छायामा पारिदिएको छ। सन् २०२३ मा ओडिशा राज्यमा तीनवटा रेल ठोक्किने गरी भएको एउटा दुर्घटनामा झन्डै ३०० जनाको ज्यान गएको थियो।

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्नविसले सामाजिक सञ्जाल एक्समा राखेका सन्देशमा मुम्बईबाट ४०० किलोमिटर पर जलगाउँ जिल्लामा अवस्थित पचोरा नजिकै भएको उक्त दुर्घटनामा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

उनले ८ वटा एम्बुलेन्स खटाइएको र अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको उल्लेख गरेका छन्।

हाल स्विटजरल्यान्डको डाभोसमा रहेका महाराष्ट्रका मुख्यमन्त्रीले मृतकका परिवारलाई ५ लाख रुपियाँ राहत दिने वाचा गरेका छन्। उनले घाइतेको उपचारका लागि सरकारले खर्च बेहोर्ने उल्लेख गरेका छन्।

नेपाली मृतकका हकमा राज्यले दिनसक्ने सहयोगबारे अधिकारीहरूले केही भनिसकेका छैनन्।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकहरूप्रति श्रद्धान्जलि व्यक्त गर्दै घाइतेलाई पर्याप्त स्वास्थ्य उपचार उपलब्ध गराउन आदेश दिएका छन्।

यो दुर्घटनाले रेलवेलाई आधुनिकीकरण गरेर अर्थतन्त्र र सम्पर्क सञ्जाललाई विस्तार गर्ने वाचा गरेका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि धक्का पुर्‍याउनसक्ने ठानिएको छ।

रोएटर्स समाचार संस्थाले आगामी महिनाको बजेटमा रेलवेको कार्यक्रममा खर्चहरू वृद्धि गर्न सकिने उल्लेख गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।