'वचनका पक्का' ट्रम्पबाट क्षमादान पाउने आशमा अमेरिकी 'क्यापिटल' हमलाका दङ्गाकारी

सन् २०२१ को ज्यानुअरी ६ मा अमेरिकी संसद् भवन 'क्यापिटल'मा दङ्गाकारीहरू प्रवेश गरेका थिए

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सन् २०२१ को ज्यानुअरी ६ मा अमेरिकी संसद् भवन 'क्यापिटल'मा दङ्गाकारीहरू प्रवेश गरेका थिए
    • Author, माइक वेन्ड्लिङ
    • Role, बीबीसी न्यूज

डोनल्ड ट्रम्पका सबै समर्थकहरूमध्ये डेरिक इभान्ससँग नोभेम्बरको चुनावी नतिजाबाट खुसी हुने खास कारण छ।

राष्ट्रपति निर्वाचित ट्रम्पबाट अमेरिकी संसद् भवन अर्थात 'क्यापिटल'मा ६ ज्यानुअरीमा भएको दङ्गामा सहभागी भएकामा क्षमा पाउने उनको आशा छ।

“एउटा क्षमाले नै जीवन बदल्ने छ,” इभान्सले भने। सन् २०२१ मा कम्तीमा २,००० मानिसहरूसहित क्यापिटल भवनमा हमला गर्न जाँदा उनी वेस्ट भर्जिनिया राज्यको विधायिकाका एक सदस्य थिए।

घटना के थियो

क्यापिटल दङ्गाको घटना

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चुनावी प्रचारप्रसारका दौरान ट्रम्पले बारम्बार दङ्गाकारीलाई क्षमा दिने बताएका छन्

उक्त हमला अमेरिकी निर्वाचनको नतिजा उल्टाउने एक प्रयासस्वरुप गरिएको थियो।

त्यस क्रममा उनीहरू जो बाइडन नभईकन ट्रम्पले राष्ट्रपतिमा जितेको गलत विश्वासबाट निर्देशित थिए।

घटनापछि इभान्स अभियोजनकर्ताहरूसँग एउटा सहमतिमा पुगे। उनले नागरिक सुव्यवस्था बिगारेकामा आफू दोषी रहेको स्वीकार गरे र यसबापत सन् २०२२ को तीन महिना सङ्घीय जेलमा तीन महिना बिताउनुपर्‍यो।

चुनावी प्रचारप्रसारका दौरान ट्रम्पले बारम्बार दङ्गाकारीलाई क्षमा दिने बताए। त्यसमा सहभागी भएकाहरूलाई उनले “देशभक्त” भन्दै उनीहरूलाई “राजनीतिक बन्दी” बताउने गरेका छन्।

तर खासमा कसले र कहिले क्षमा पाउ नेछ भन्ने अझै ठूलो प्रश्नका रूपमा छ।

“उनी वचनका पक्का छन् भन्नेमा मलाई विश्वास छ,” ईभान्सले बीबीसीसँग भने।

मार्च महिनामा ट्रम्पले आफ्नो 'ट्रूथ' सोशल मिडिया खातामा लेख्दै राष्ट्रपतिका रूपमा आफ्नो एउटा पहिलो काम “गलत तरिकाले जेल हालिएका ज्यानुअरी ६ का बन्धकहरू छुटाउनु” हुने बताएका थिए।

जुलाईमा शिकागोमा आयोजित न्याश्नल असोसिएशन अफ ब्ल्याक जर्नलिस्ट फोरममा उनले उक्त वाचा दोहोर्‍याएका थिए।

"अँ, म अवश्य गर्ने छु," उनले भने। "यदि उनीहरू निर्दोष भए म उनीहरूलाई क्षमा दिने छु।"

तर उनले सबैलाई क्षमा दिने कुरा गर्न लगभग बन्द गरेका छन्।

एकपटक सीएनएनसँग कुरा गर्ने क्रममा उनले भने, "म उनीहरू धेरैजसोलाई क्षमा दिनेबारे सकारात्मक छु। म हरेकलाई भन्न सक्दिनँ किनकि केही सम्भवतः अनियन्त्रित भए।"

ट्रम्पको चुनावी अभियानले यसअघि "उनी ह्वाइट हाउस फर्किएपछि हरेकको घटना हेरेर” निर्णय लिइने जनाएको थियो।

अझै पक्राउ पर्दै

क्यापिटल हिंसापछि परिचालित सशस्त्र फौज

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, क्यापिटल हिंसापछि संसद् भवनमा थप सशस्त्र फौज परिचालन गरिएको थियो

छ ज्यानुअरीको घटनापछि अमेरिकी इतिहासकै ठूलोमध्येको सङ्घीय तहको अनुसन्धान भएको छ।

झन्डै ६०० मानिसहरूलाई प्रहरीविरुद्ध धावा बोल्ने, उनीहरूसँग जुध्ने वा अवरोध पुर्‍याउने अभियोग दायर गरिएका छन्।

सबैभन्दा लामो अवधिको सजाय पाउनेमध्येमा ओथ किपर्सका संस्थापक स्टेवार्ट रोडेज र प्राउड बोएजका नेता इन्रिक तारिओसहितका छन्। उनीहरू उक्त भवनभित्रको हिंसामा सहभागी थिएनन्।

तर उनीहरूलाई राज्यद्रोहको षड्यन्त्र गरेको र वितण्डा आयोजना गरेका अन्य अपराधमा दोषी ठहर्‍याइएको थियो।

केहीलाई अझै पक्राउ गरिँदै छ। गत साता जारी गरिएको एक विवरणमा एफबीआईले अझै प्रहरी अधिकृतहरूलाई हिंसक हमला गरेको आरोपमा नौ जनाको खोजी भइरहेको जनाइएको छ।

तर अझै प्रमाणबिनै सन् २०२० को निर्वाचनको आफू विजेता रहेको बताउने ट्रम्प ह्वाइट हाउस फर्कन लागेसँगै उक्त अनुसन्धानको भविष्य अनिश्चित बनेको छ।

न्याय मन्त्रालयका स्रोतहरूलाई उद्धृत गर्दै एनबीसी न्यूजले जनाएअनुसार २० ज्यानुअरीमा ट्रम्पले पद सम्हाल्नुअघि अधिकारीहरू "सबैभन्दा गम्भीर" मुद्दाहरूको सुनुवाइमा ध्यान केन्द्रित गरिरहेका छन्।

सुनुवाइमा ढिलाइ

यसैबीच क्यापिटल दङ्गाको आरोपितहरूले क्षमा पाउने आशामा सुनुवाइ ढिलो गर्न माग गरेका छन्।

तीमध्येमा नोर्थ क्यारोलाइनाका क्रिस्टोफर कार्नेल समेत छन्। यस वर्षको सुरुमा उनी दङ्गासँग जोडिएका कैयौँ अभियोगमा दोषी ठहरिएका थिए।

उनका वकिलहरूले गत साता एउटा सुनुवाइ ढिलो गर्न आग्रह गरेका थिए। उनको उक्त आग्रह स्वीकृत नभए तापनि त्यो "त्यस विषयमा सम्भावित क्षमादान"को आशामा गरिएको थियो।

जोनाथनपिटर केलिनलाई आफ्ना दाजु म्याथ्यूकै साथ जुलाईमा कैयौँ अभियोगमा दोषी ठहर्‍याइएको थियो। उनले १५ नोभेम्बरमा तय गरिएको आफ्नो सुनुवाइ ढिलो गर्न माग गरेका भए पनि त्यो अस्वीकृत भएको थियो।

'एक्शन अगेन्स्ट हेट एन्ड एक्स्ट्रिमिजम' (जीपीएएचई) नामक विश्वव्यापी परियोजनाका सहसंस्थापक वेन्डी भाया दङ्गाकर्ता र उनीहरूका समर्थकमा उत्साह देखा परिसकेको बताउँछिन्।

दैनिक दिनचर्याबाट पर रहन सुझाव

अमेरिकी संसद् भवन क्यापिटल

तस्बिर स्रोत, Reuters

जीपीएएचईका अनुसार केही समूहहरू ट्रम्पले पद सम्हालेर औपचारिक रूपमा क्षमादान नगर्दासम्म नियमित दिनचर्या छल्दै लुकेर बस्ने योजना बनाएको बताउँछन्।

टेलिग्राममा राखिएको 'प्राउड बोइज'को एक पोस्टमा सुझाइएको छ, “घरमै बस वा स्थानीय भट्टीमा जाऊ। हाम्रा राष्ट्रपतिको पदबहाली र त्यसलगत्तै हुने हाम्रा केटाहरूको रिहाइको उत्सव मनाऊ।”

एउटा ब्लग पोस्टमा भायाले भनेकी छन्, “क्षमादानले हाम्रो न्यायप्रणालीको मजाक उडाउने र त्यसले हामीलाई पछ्याउनेहरूलाई आफूलाई मन नपर्ने राजनीतिक नतिजाका लागि हिंसा वैध जबाफ हो भन्ने सन्देश दिन सक्छ।”

केही क्षणका लागि दङ्गासँग जोडिएका अभियोग लागेका सबैको रिहाइ असम्भव देखिन्छ। तर डेरिक इभान्सजस्ता गैरहिंसक आरोपितले ठूलो सङ्ख्या छुट्नुपर्ने बताइरहेका छन्।

अनि उनले क्षमादानले उनी र कैयौँ अरूले जेलभित्र बिताएको क्षणको क्षतिपूर्ति नदिने बताए।

उनले भने, “मलाई त्यसमा केही क्षतिपूर्ति र शोधभर्ना हुनुपर्छ भन्ने लाग्छ।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।