ट्रम्पका शक्तिशाली सीमा व्यवस्थापन प्रमुखले कसरी आप्रवासन नियन्त्रण गर्लान्

टम होमन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, डोनल्ड ट्रम्पले आप्रवासन नियन्त्रणको जिम्मा भूतपूर्व सीमा अधिकारी टम होमनलाई दिने भएका छन्
    • Author, रेचल लुकर
    • Role, बीबीसी न्यूज, वाशिङ्टन

आगामी ज्यानुअरीमा डोनल्ड ट्रम्पले राष्ट्रपतिको औपचारिक पदभार सम्हालेपछि अमेरिकी सीमा व्यवस्थापनको जिम्मा भूतपूर्व आप्रवासन अधिकारी टम होमनले पाउने छन्।

कानुन कार्यान्वयन र सीमा क्षेत्रमा दशकौँको अनुभव रहेका उनले गैरकानुनी आप्रवासनलाई कसरी नियन्त्रण गर्छन् भन्नेमा सबैको ध्यान जाने छ।

चुनावी अभियानमा ट्रम्पको गैरकानुनी आप्रवासनविरुद्ध कठोर ढङ्गले उभिने वाचा गरेका थिए।

होमनको भूमिका कस्तो

उनी भूतपूर्व प्रहरी अधिकारी हुन्। उनले अमेरिकी आप्रवासन र भन्सार नियमन गर्ने इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समन्ट (आईसीई)का निर्देशकका रूपमा काम गरेका छन्।

उनले अमेरिकाको सीमाबाट हुने आप्रवासनलाई देशले "सेप्टेम्बर ११ घटनायता देखेको सबैभन्दा ठूलो राष्ट्रिय सुरक्षा जोखिम" भन्दै त्यसलाई सच्च्याउनुपर्ने धारणा राख्दै आएका छन्।

यसै वर्षको गर्मी याममा रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनका बेला गैरकानुनी आप्रवासीहरूलाई सङ्केत गर्दै उनले भनेका थिए, “अब तिमीहरूले फर्किने तयारी गरेकै राम्रो।”

तर अहिले नै ‘बोर्डर जार’ अर्थात् सीमासम्बन्धी मामिला हेर्ने प्रमुख अधिकारीका रूपमा उनको भूमिका कस्तो हुन्छ भन्ने स्पष्ट हुन बाँकी नै छ।

आप्रवासन व्यवस्थापन गर्न कैयौँ सरकारी निकायहरूबीच समन्वय आवश्यक हुन्छ। तर उनले आफू कसरी प्रस्तुत हुन्छन् भनेर केही अवधारणाहरू भने प्रस्तुत गरेका छन्।

बाइडनका नीतिहरू उल्ट्याउने

टेक्ससनजिकै मेक्सिकसँगको सीमामा निर्मित पर्खाल अगाडि डोनल्ड ट्रम्प

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, मेक्सिकोसँगको सीमामा पर्खाल बनाउने ट्रम्पको योजना छ

गत अक्टोबर महिनामा सीबीएस न्यूजको 'सिक्टी मिनट्स' कार्यक्रमलाई दिएको अन्तर्वार्तामा होमनले सुरुमा "सार्वजनिक सुरक्षा जोखिम" र "राष्ट्रिय सुरक्षा जोखिम" लाई प्रथमिकता दिएर गैरकानुनी ढङ्गले अमेरिकामा बसिरहेका तर अपराधमा संलग्न नरहेका आप्रवासीलाई निसाना बनाउने सङ्केत गरेका थिए।

त्यो सङ्केत बाइडन प्रशासनको नीतिभन्दा विपरीत छ। बाइडन प्रशासनले आईसीईलाई गम्भीर अपराधी, राष्ट्रिय सुरक्षाका जोखिम र हालै सीमा पार गरेका व्यक्तिहरूलाई उनीहरूकै देश फर्काउन केन्द्रित हुन लगाएको छ।

विद्यमान नीतिले अमेरिकामा बसिरहेका आधिकारिक कागजपत्र नभएका तर कुनै कसुर नगरेका आप्रवासीलाई संरक्षण गर्छ।

पक्राउ गरेर देशनिकाला

होमनले आफूले त्यस्ता गैरकानुनी आप्रवासीप्रति लक्षित बनाउने र त्यसकै आधारमा पक्राउ र देशनिकाला गर्ने उल्लेख गरेका छन्।

अक्टोबरको अन्तर्वार्तामा उनलाई गैरकानुनी आप्रवासीलाई कसरी देशनिकाला गरिन्छ भनेर सोधिएको थियो।

त्यसको उत्तरमा उनले भनेका थिए, “त्यसमा पूरै स्थानको सफाइ हुने हैन। बन्दी शिविरहरू पनि बनाइने छैन। मैले सबै पढेको छु। त्यो हास्यास्पद छ।”

“छानिएका व्यक्तिहरूलाई पक्राउ गरिने छ। कसलाई पक्राउ गरिन्छ, विभिन्न ...अनुसन्धानका आधारमा उनीहरूलाई कहाँ फेला पार्न सकिन्छ भन्ने हामीलाई थाहा छ।”

सपरिवार देशनिकाला

ट्रम्पको पहिलो शासनकालमा विवादास्पद "शून्य सहनशीलता" को नीति बनाउन होमनको संलग्नता थियो। उक्त नीतिका कारण हजारौँ आप्रवासी बालबालिका आफ्ना आमाबुवाबाट अलग हुनुपरेको थियो।

बालबालिकालाई आश्रयस्थल पठाएर उनीहरूका आमाबुबालाई कारबाही गर्ने र उनीहरूको पुनर्मिलन हुन नदिने उक्त नीतिको व्यापक आलोचना भएको थियो।

होमनले उक्त नीतिको मस्यौदा आफूले नलेखेको बताएका छन्। तर उनी त्यसमा हस्ताक्षर गर्ने तीनमध्ये एक अधिकारी थिए। उनले आफूले "जीवनरक्षा हुने अपेक्षासहित" हस्ताक्षर गरेको बताएका थिए।

उनले सो नीतिलाई फेरि लागु नगरिने सङ्केत गरेका छन्। उनका अनुसार बरु परिवारलाई नै सामूहिक देशनिकाला गर्न सकिने छ।

कार्यस्थलमा नै सामूहिक गिरफ्तारी

होमनले कार्यस्थलमा सामूहिक गिरफ्तारी गर्ने नीति पुनः ल्याउने जनाएका छन्। सन् २०२१ मा बाइडन प्रशासनले त्यसलाई निरन्तरता दिएको थिएन।

“मानिसहरूले देशनिकाला हुन नदिने प्रयास गर्दा त्यसको विकल्प के हो त?” उनले सोमवार फोक्स न्यूजको 'फक्स एन्ड फ्रेन्ड्स' कार्यक्रममा भने।

“तपाईँसँग शरण माग्ने अधिकार छ। तपाईँ न्यायाधीशलाई भेट्न सक्नुहुन्छ। हामी त्यो दिन्छौँ। तर नियमित प्रक्रिया पूरा गर्दा यदि न्यायाधीशले तपाईँले घर जानुपर्छ भनिदिए भने हामीले उनीहरूलाई घर फिर्ता गर्नैपर्छ।”

प्रहरी सेवा र सीमा गस्तीको अनुभव

टम होमन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, न्यूयोर्क राज्यमा प्रहरी अधिकारीका रूपमा सरकारी सेवा थालेका होमनले त्यसपछि सीमामा गस्ती गर्ने सुरक्षाबलमा काम गरेका थिए

होमनले न्यूयोर्क राज्यमा प्रहरी अधिकारीका रूपमा सरकारी सेवा थालेका थिए। त्यसपछि उनले सीमा गस्ती गर्ने बोर्डर पट्रोल एजेन्टको जिम्मेवारी सम्हाले। आफ्नो दोस्रो कामाबरे उनी बारम्बार चर्चा गर्ने गर्छन्।

“म बोर्डर पट्रोल एजेन्ट थिएँ। मैले पोसाक लगाएँ,” उनले फक्स एन्ड फ्रेन्डसमा भने। “मलाई पोसाक लगाएकोमा गर्व छ। भित्रैबाट आईसीईको निर्देशकसम्म बन्ने म पहिलो व्यक्ति हुँ।”

तात्कालिक राष्ट्रपति बराक ओबामाले उनलाई सन् २०१३ मा आईसीईको देशनिकाला हेर्ने शाखाको प्रमुखमा नियुक्त गरेका थिए। त्यस बेला सो निकायले सर्वाधिक सङ्ख्यामा गैरकानुनी आप्रवासीहरूलाई अमेरिकाबाट उनीहरूकै देशमा फिर्ता गरेको थियो।

होमनलाई उनको कामको सम्मान गर्दै निजामती कर्मचारीले पाउने सर्वोच्च पदक दिइयो।

अमेरिकाबाट आप्रवासीहरूलाई फिर्ता पठाउनुपर्ने मागसहित प्रदर्शन गर्दै केही व्यक्तिहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, निर्वाचनअघि गरिएको एउटा मतसर्वेक्षणले आधाभन्दा धेरै अमेरिकीले आप्रवासीको सङ्ख्या घटेको देख्न चाहेको देखाएको छ

ट्रम्पले सन् २०१७ मा उनलाई आफूले पदभार सम्हालेको दोस्रो सातामै आईसीईको कार्यवाहक निर्देशक नियुक्त गरेका थिए। उनी सन् २०१८ सम्म उक्त पदमा बसे।

ट्रम्पले पछि उनलाई उक्त निकायको स्थायी निर्देशक नियुक्त गरेका थिए। तर सिनेटले त्यो मनोनयनलाई अघि बढाएन।

अहिले उनी फक्स न्यूजका टिप्पणीकर्ता छन्। उनले कन्जर्भेटिभ हेरिटेज फाउन्डेशनमा 'भिजिटिङ फेलो'का रूपमा पनि काम गरेका थिए।

उनी 'प्रोजेक्ट २०२५' नामक अतिरूढिवादी नीति प्रस्ताव बनाउन सहभागी भएका छन्। त्यसमा अमेरिका-मेक्सिको सीमामा पर्खाल निर्माण गर्नका लागि बजेट बढाउनुपर्ने, सीमामा शक्तिशाली प्रहरी कारबाही सञ्चालन गरिनुपर्ने र आप्रवासीबाट लिइँदै आएको शुल्क बढाइनुपर्ने जनाइएको छ।

चुनावी अभियानका क्रममा ट्रम्पले ती विषयवस्तुबारे केही बोलेका थिएनन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।