भाषा नबुझ्दा मेक्सिकन आदिवासी महिलाले १२ वर्ष अमेरिकी मानसिक अस्पतालमा बिताउनुपर्यो

तस्बिर स्रोत, PIANO PRODUCTIONS
- Author, रोनाल्ड अभिला-क्लडिओ
- Role, बीबीसी मुन्डो
सन् १९८३ जुन ८ मा अमेरिकी प्रहरीले एउटा चर्चमा मैलो लुगा लगाएकी र एकदमै अन्योलमा रहेकी एकजना महिलालाई भेट्यो।
ती महिलाले प्रहरीहरूले नबुझ्ने केही शब्दहरू उच्चारण गरिन्। उनीहरूले ती महिलालाई अङ्ग्रेजी भाषामा सोधपुछ गरे तर उनीहरूबीच कुराकानी सम्भव हुन सकेन। उनले के भनिरहेकी छन् भन्ने कसैले पनि बुझ्न सकेनन् र अन्ततः उनले त्यसपछिका १२ वर्षका लागि आफ्नो स्वतन्त्रता गुमाउनु पर्यो।
उनको नाम रिटा पाटिनो किन्टेरो थियो र उनी मेक्सिकोको आदिवासी रारामुरी (ताराहुमारा) समुदायकी थिइन्।
प्रहरीले उनलाई नियन्त्रणमा लिएको दिन उनी संयुक्त राज्य अमेरिकाको पश्चिमी क्यान्ससस्थित म्यान्टर सहरको मेथोडिस्ट चर्चको बेसमेन्टमा शरण लिइरहेको अवस्थामा फेला परेकी थिइन्।
उनलाई प्रहरी चौकी लगियो। त्यहाँ उनलाई सफा गरिदिन खोज्ने एकजना प्रहरी अधिकारीलाई कुटपीट गरेको मेक्सिकन फिल्म निर्माता स्यान्टियागो एस्टिनुले बताए।
उनी रिटाबारे बनाइएको डक्युमेन्ट्री "द वुमन अफ स्टार्स एन्ड माउन्टेन्स"का निर्देशक हुन्। त्यो वृत्तचित्र गत एप्रिलमा देखाइएको थियो।
प्राकृतिक वातावरणमा बसोबास

तस्बिर स्रोत, PIANO PRODUCTIONS
ती निर्देशकले सन् २०१६ मा छायाङ्कन सुरु गरेका थिए तर सन् २०२२ सम्म उक्त काम सकिएको थिएन।
उक्त वृत्तचित्रमा रिटाले भनेकी छन्, "म बिरामी भइनँ। मलाई प्रकृतिको बीचमा बस्न पाउँदा धेरै राम्रो लाग्छ।"
उनी आफ्नो गृहराज्य चिवावाका पहाडहरू हेर्दै आफ्नो भाषा रारामुरीमा बोल्दै थिइन्। उक्त उत्तरी मेक्सिकोस्थित राज्यमा रारामुरी आदिवासीहरू बसोबास गर्छन्।
रारामुरीको अर्थ "हल्का धावक" भन्ने लाग्छ। यसमा "रारा" भनेको खुट्टा र "मुरी"को अर्थ हल्का हो।
रारामुरी समुदायका लागि लागि दौडको सामाजिक र सांस्कृतिक महत्त्व छ।
उनीहरू सिएरा ताराहुमाराको भिरालो स्थलमा बस्छन्। त्यहाँको जटिल खालको भौगोलिक बनोटले गर्दा उनीहरूलाई विभिन्न खाले अवरोधहरू पार गर्नुपर्ने हुन्छ। उनीहरूले खोलानाला तर्नुपर्ने र पहाडमा चढ्नुपर्ने हुन्छ।
तर क्यान्ससमा रिटाले आफ्नो जन्मस्थलको तुलनामा सुक्खा र चिसो अवस्थासँग संघर्ष गरेको विश्वास गरिन्छ।
उनले अमेरिकाको एक मनोचिकित्सालयमा १२ वर्षसम्म थुनिएर बस्नु परेको थियो।
भाषाको अवरोध
रिटा रारामुरी भाषामा मात्र पोख्त थिइन्। क्यान्ससको न्याय प्रणाली र अस्पतालमा अनुवादकहरू थिएनन्। रिटाले के भइरहेको छ र किन आफूलाई थुनिएको छ भन्ने बुझ्न सकिनन्। आधिकारिक अनुवादकले उनको भाषा बुझेनन्।
"उनीहरूले उनलाई अदालतमा लगे र एक जना न्यायाधीशले उनी मानसिक रूपमा ठिक अवस्थामा छैनन् भन्ने निष्कर्ष निकाले। त्यसले उनी आफ्नै लागि खतरा हुनसक्ने ठानी उनीहरूले उनलाई मानसिक अस्पतालमा लगे," इस्तेरिनोले बीबीसी मुन्डोलाई भने।
उनको बाँकी जीवन बहिष्कार, चिकित्सकीय हिंसा, झन्झटिलो कर्मचारीतन्त्रको सामना र एक्लोपनबीच बित्यो।
मुक्त भएपछि भने रिटा ताराहुमारा फर्किइन् र आफ्नी भतिजी तथा परिवारका साथमा बसिन्।
वास्तविक रूपमा उनी को थिइन्?

तस्बिर स्रोत, PIANO PRODUCTIONS
रिटा मिथक र रहस्यले घेरिएकी महिला थिइन्। उनी गोठालो, सुँडेनी, जडिबुटीबारे जान्ने र लुगा धुने मान्छे थिइन्।
एस्टिनुको वृत्तचित्रअनुसार रिटाले धेरै कुराहरू गरिन्। उक्त वृत्तचित्रमा उनकी भाउजु, भतिजी र उनका धेरै छिमेकीहरूसँग अन्तर्वार्ता लिइएको थियो।
रिटाको जन्म सन् १९३० मा भएको मानिएको छ। उनी मूल रूपमा चिवावाको पियद्रास भर्देस निवासी थिइन्। उनी पछि यूरिक नगरपालिकाको सेरोकाहुई क्षेत्र नजिकै बसोबास गर्थिन्। वृत्तचित्र निर्देशकका अनुसार उनका एक जीवनसाथी र एक छोरा थिए।
उनी ती महिलालाई उनको समुदायकी "धनी महिला" भनेर पनि वर्णन गर्छन्। त्यसको कारण के हो भने उनीसँग भेडाहरूको ठूलो बगाल थियो।
तर एक दिन त्यो सबै परिवर्तन भयो र रिटा चाँडै नै "डरलाग्दो र अरूका निम्ति नरुचाइएकी महिला" बन्न पुगिन्।
उनको भेडाको बगाल चोरिएको थियो र उनका छिमेकीहरूले उनले आफ्नै श्रीमान्को हत्या गरेको आरोप लगाए। त्यो दाबी कहिल्यै प्रमाणित हुन सकेन।
रिटाका छिमेकी र वृत्तचित्रमा बोलेका यूरिकका प्रोकोपिओ मनसिनासले भनेका छन्, "के भयो भने उनीहरूले उनीसँग धेरै नराम्रो व्यवहार गरे। उनले आफ्नो श्रीमान्सँग झगडा गरेकी थिइन् र उनले श्रीमान्लाई कुटपिट गरेर मारिदिइन् भनिएको थियो।"
"रिटाले आफ्नो श्रीमान् जेरोनिमो रेन्टेरियासलाई मारेकी थिइनन्। उनी लुटिएकी थिइन्। उनका ब्लाङ्केटहरू चोरिएका थिए र उनका भेडाहरू पनि चोरिएका थिए।"
एस्टिनुको अनुसन्धानबाट चिवावामा उनका जीवनसाथीको मृत्युबारे कुनै पनि सार्वजनिक विवरण पाउन सकिएन।
उनमा कुनै प्रकारको 'जादु गर्ने शक्ति' रहेको पनि विश्वास गरिन्थ्यो।
तर वास्तविकतामा रिटामा केही अशक्तता रहेको एस्टिनुको भनाइ छ।
उनको बोलीमा समस्या थियो र उनी आफ्नो छोरासँग यताउता घुम्थिन्। उनको समुदायले उनलाई त्रासपूर्णरूपमा हेर्न थाल्यो। छिमेकीहरूका अनुसार उनलाई कसैले पनि स्वागत गर्दैन थिए।
"केही व्यक्तिले उनलाई चाहँदैन थिए, उनी आउँदा ती व्यक्तिहरूले आफ्नो ढोका बन्द गर्थे। मानिसहरूले उनले आफूहरूलाई मार्न लागेको बताउँथे। तर उनी भोकाएकी हुन्थिन् र उनी खानेकुरा खोजिरहेकी हुन्थिन्," मनसिनास भन्छन्।
वृत्तचित्र निर्माताका अनुसार उनीबारे भनिएका कुराहरू सुनेपछि अधिकारीहरूले उनको छोरालाई उनीबाट छुटाए।
उनी रिटाले कसरी मेक्सिको छाडिन् र क्यान्ससमा पुगिन् भन्ने कुरा रहस्यमै रहेको बताउँछन्। रिटाका अनुसार उनी हिँडेरै मेक्सिकोबाट क्यान्ससमा पुगेकी हुन्।
एस्टिनुले रिटाको कथाले धेरै खाले विभेदलाई उजागर गरिदिएको बताए। उनका अनुसार उनीमाथि जातीय तथा लैङ्गिकलगायत विभिन्न खालको विभेद भएको देखिन्छ।
स्वतन्त्रता

तस्बिर स्रोत, PIANO PRODUCTIONS
अदालतले सुरुमा ती महिलालाई तीन महिनासम्म मानसिक अस्पतालमा भर्ना गर्न आदेश दियो।
उक्त समयावधीको अन्त्यमा उनको अवस्थाको मूल्याङ्कन गर्ने भनिएको थियो।
तर उनका लागि अदालतले नियुक्त गरिदिएका वकिल कहिल्यै पनि न्यायाधीशसमक्ष उपस्थित भएनन्।
अनुवादक नभएका कारण उनले ती महिलासँग कुराकानीसमेत गर्न सकेनन्।
त्यस बेला स्वस्थ्यकर्मीले पनि उनीहरूकी बिरामी कहाँकी हुन् भन्ने कुनै सङ्केत पाउन नसकेको बताएपछि उनको परिवारका सदस्यहरूलाई सम्पर्क गर्न पनि कठिन भयो।
रिटाले सोही चिकित्सालयमा महिनौँ र त्यसपछि वर्षौँ बिताइन्।
रिटा एक्लै र घरभन्दा टाढा रहेकाले उनी न बोल्न सकिन् न बोल्ने साथी नै पाइन्।
भाषाको अवरोधका कारण उनलाई कुन रोग लागेको हो भन्ने निदान नगरिकन उपचार गरियो।
निर्देशक एस्टिनुले भने, "मैले धेरै खालका विभेद र हिंसालाई देखेँ। रिटाका हकमा धेरै कुराहरू एकसाथ भएका छन्। उनी अङ्ग्रेजी नबोल्ने एक आदिवासी महिला थिइन्। उनी आप्रवासी, गरिब र सम्भवत: अपाङ्ग अवस्थामा थिइन्।"
अवस्था बदलिन दश वर्ष लाग्यो।
अहिले डिजाबिलिटी राइट्स सेन्टर अफ क्यान्सस भनिने पहिलेको द क्यान्सस एड्भोकेसी एन्ड प्रोटेक्टिभ सर्भिस अर्गनाइजेसनले सन् १९९४ मा अस्पतालमा पाँच वर्षभन्दा बढी समयदेखि राखिएका बिरामीहरूको बारेमा समीक्षा गर्ने निर्णय गर्यो।
रिटाको मामिला टोरिआ मरोज नामकी वकिललाई जिम्मा लगाइयो।
"हाम्रो पहिलो काम भनेको बिरामीहरूको मेडिकल रेकर्ड हेर्नु थियो। प्रारम्भिक अवस्थाका कागजातमा उनी चिवावाबाट आएको र उनी आदिवासी ताराहुमरा समूहकी भएको उल्लेख थियो," रोजले भनिन्।
"उनी त्यहाँ रहेको सम्पूर्ण समयमा त्यो विवरण उनको मेडिकल फाइलमा थियो। तर १० वर्ष बितिसक्दा पनि उनी त्यहाँको त्यहीँ थिइन्। उनीहरूले लगातार 'उनी कहाँकी हुन् र उनले कुन भाषा बोल्छिन्' हामीलाई थाहा छैन भनिरहे।"
अपाङ्गतासम्बन्धी काम गर्ने उक्त संस्थाले अस्पताल र त्यसका ३० जनाभन्दा बढी कर्मचारीविरुद्ध मुद्दा दायर गर्यो। उनीहरूले एक करोड अमेरिकी डलर क्षतिपूर्तिको माग गरेका थिए।
एस्टिनुको भनाइमा अदालती प्रक्रियाका आफ्नै चुनौतीहरू थिए किनकी रिटाले अदालतमा राम्ररी बयान दिन सकिनन्।
त्यस बेला एक जना मात्र रारामुरी ताराहुमरा भाषा जान्ने मनोचिकित्सक थिए।
रिटा अस्पतालबाट फर्काइन् र सन् १९९५ मा उनी मेक्सिको आइपुगिन् तर उनको मुद्दा सन् २००१ सम्म नै चल्यो। अन्तत: त्यो मुद्दा मध्यस्थकर्ताको माध्यमबाट टुङ्गियो।
रिटालाई क्षतिपूर्तिबापत ९० हजार डलर दिइएको तर उनलाई सहायता गर्ने एनजीओलाई त्यसमध्ये ३२ हजार ६४१ डलर दिइयो।
बाँकी रहेको रकम उनको देशमा उनलाई सहयोग गर्नका लागि प्रयोग हुने ठानिएको थियो।
तराहुमरा पहाडमा फर्केपछि रिटा गरिबीमा बाँचिरहेकी थिइन्। उनले क्षतिपूर्तिबापतको सबै रकम नपाएकाले गरिबीमा बाँच्नु परेको हो।
गरिब तर 'खुसी'

रिटा त्यसपछि पनि गरिबीमै बाँचिन्।
"अदालतले एउटा ट्रस्ट बनाएर रिटाको सम्पत्तिको रेखदेख गर्नका लागि उक्त एनजीओले छनोट गरेका आधारमा बेआट्रिज जापाटा नाम गरेकी एक जना ननलाई नियुक्त गर्यो। करिब दुई वर्षसम्म उनले रिटालाई प्रतिमहिना करिब ३०० डलर दिइन्। त्यसपछि उनलाई एकमुष्ट ६,००० डलर दिएर नन बाँकी पैसा लिएर बेपत्ता भइन्," उक्त वृत्तचित्र निर्माताले भने।
धेरै वर्षसम्म ननले उक्त पैसा आफ्नो लागि खर्च गरिन् र अदालतले ननबाट १०,००० डलर मात्र फिर्ता लिन सक्यो।
त्यसपछि दुई जना नयाँ प्रशासकहरू नियुक्त भए। हरेक वर्ष उनीहरूले ट्रस्ट व्यवस्थापनबापत एक हजार डलर रकम पाउँथे। तर दुवैले रिटालाई कतै नभेटेको दाबी गरे। दश वर्षमा त्यो रकम त्यसै सकियो।
सार्वजनिक जानकारीमा आएको र भाषा नबुझिएको कारण ल्याटिन अमेरिकाबाट चिकित्सकीय लापरबाहीको सिकार भएकी उनी मात्र एक व्यक्ति हुन्। तर भाषा नबुझिएका कारण अन्य कैयौँ उत्तर अमेरिकी आदिवासी महिलाहरूले यस्तै अनुभव गरेका छन्।
रिटाको सन् २०१८ मा निधन भयो। उनको निधनपछि उनको समुदायले उनको मृत्युको "उत्सव" मनायो।
रारामुरी समुदायका मानिसहरू मृत्युलाई सम्मानपूर्वक हेर्छन् र त्यस अवसरमा भोजभतेर गर्दा आफ्नो नयाँ अस्तित्वतर्फको यात्रा सफल हुने ठान्छन्।
रिटा मेक्सिकोमा नाचगान गर्थिन् र आफ्नै सुरमा रमाएर जीवन बिताउँथिन्।
"म मेरो जन्मस्थानमा धेरै खुसी छु," रिटाले वृत्तचित्र निर्माता एस्टिनुलाई उनीहरूको एउटा भेटघाटमा भनेकी थिइन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








